
झापा– झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालमा ल्याप्रोस्कोपिक पद्धतिबाट शल्यक्रिया सुरु भएको छ।
शुक्रबार एकजना विरामीको पित्तथैलीको शल्यक्रिया गरेर उक्त पद्धतिबाट गरिने शल्यक्रियाको सुरुवात गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए।
उनले भने, ‘हामीले आजदेखि यो सेवा सुरु गर्यौँ। धेरै अञ्चल अस्पतालहरुमा यो सेवा उपलब्ध छैन।’
मेची अञ्चल अस्पतालमा ल्याप्रोस्कोपिक पद्धतिबाट शल्यक्रिया पहिलो पटक गरिएको हो।
अहिले दुईजना जनरल सर्जनले उक्त सेवाबाट शल्यक्रिया गरिने डा. ठाकुरले बताए। खासगरि विपन्न सर्वसाधारणका लागि यो सेवा वरदान सावित हुने उनको भनाइ छ।
उक्त अस्पतालमा यसअघि चिरेर मात्र शल्यक्रिया गर्ने गरिन्थ्यो।