काठमाडौँ– संसद प्रमुख बिहीन भएको करिव चार महिनापछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै बफादारलाई सभामुख बनाउनु पर्ने अडानबाट पछि हटेपछि पूर्व माओवादी पृष्टभूमिका अग्नि सापकोटाले सभामुख बन्ने अवसर प्राप्त गरेका छन्।
आइतबार बिहान बालुवाटारमा भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार माओवादी पृष्टभूमिबाटै सभामुख बनाउनु पर्ने आफ्नो अडानबाट पछि नहटेपछि ओली आफ्नो अडानबाट पछि हट्न बाध्य भएका हुन्।
यो सँगै प्रचण्डले आफ्नो जित भएको भन्दै खुसी व्यक्ति गरेको उनी निकट एक नेताले बताए। सापकोटालाई सभामुख बनाउने ओली र दाहालको निर्णय आइतबार नै ४ बजेको सचिवालय बैठकबाट अनुमोदन गराइने छ।
पार्टी एकताका बेला भएको सहमति अनुसार पूर्व माओवादीबाटै सभामुख बनेका कृष्णबहादुर महरालाई बलात्कारको अभियोग लागेपछि गत असोज १४ गते उनले सभामुख पदबाट राजीनामा दिएका थिए।
ओलीले पार्टी एक भइसकेको अवस्थामा पूर्व सहमतिको अर्थ नहुने भन्दै पूर्व एमाले पृष्टभूमि रहेका आफ्ना बफादार सुवास नेम्वाङलाई र दाहालले पूर्व सहमति अनुसार नै अघि बढ्नु पर्ने भन्दै सापकोटालाई सभामुख बनाउने अडान लिँदा करिव चार महिना संसद प्रमुख बिहिन बन्न पुगेको हो।
सर्वोच्च अदालतमा सापकोटासहितका नेताविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा परेकाे छ ।
गत असार २५ गते सर्वोच्चले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा उजुरी परेको भए त्यसको प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको थियो। ।
काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनीकी श्रीमती पूर्णिमाया लामाले मुद्दा दायर गरेकी थिइन् । घटनामा सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाइएको छ ।
यो सँगै संवैधानिक प्रावधानलाई पछ्याउँदा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले तीन वर्ष पदावधि रहे पनि राजीनामा दिनु पर्ने अवस्था आएको छ। सभामुखले गरेको गल्तीको सजाय आफूलाई दिन नमिल्ने तुम्बाहाङफेको भनाइ थियो।
उनलाई यो बीचमा उपसभामुखबाट राजीनामा दिएर संभामुखको बाटो खोलिदिन ओली र प्रचण्डले आग्रह गरेपनि उनले संसदीय मान्यता र पदीय मर्यादाका कारण दलले सभामुखा उम्मेदवार चयन नगरेसम्म राजीनामा नदिने अडान लिएकी थिइन्।
सभामुख र उपसभामुख फरकफरक दल र लिङ्गको हुनु पर्ने संवैधानिक प्रावधान छ। त्यसलाई मान्दा तुम्बाहाङफेले राजीनामा दिएर अन्य दललाई उपसभामुख चयनका लागि बाटो खोलिदिनु पर्ने छ।
को हुन् सापकोटा
सिन्धुपाल्चोकबाट प्रतिनिधिसभाका नेकपा सांसद रहेका सापकोटा २०३० सालदेखि राजनीतिमा प्रवेश गरेका थिए ।
पूर्वमन्त्री समेत रहेका उनी २०५१ सालदेखि माओवादी पार्टीको केन्द्रीय सदस्य बनेका थिए।
हाल नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका सापकोटाले पूर्व पार्टीमा पनि स्थायी कमिटी सदस्य एवं प्रवक्ताको भूमिका निर्वाह गरेका थिए।
माओवादीमा रहँदा २०६४ र २०७० सालमा संविधानसभा सदस्य बनेका सापकोटा त्यसअघि २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट सांसद बनेका थिए।
पूर्व माओवादीको प्रचार तथा स्कूल विभागका प्रमुख समेत रहेका सापकोटले समाजशास्त्रमा स्नात्तकोत्तर गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































