सामान्यतया: दक्षिण एसियामा एउटा मुलुकमा नयाँ प्रधानमन्त्रीले कार्यभार सम्हालेकोमा अर्को मुलुकको प्रधानमन्त्री बधाई दिनकै लागि अन्यत्र जाने चलन छैन। सन् २०१४ मेमा नरेन्द्र मोदीले भारतका प्रधानमन्त्रीका रुपमा शपथ लिँदा दक्षिण एसियाका सबै सरकार प्रमुख उपस्थित थिए, दिल्लीमा मोदीको निम्तामा।
केही आलोचकले त्यसलाई ‘चक्रवर्ती’ महत्वाकांक्षा भने पनि नेपालका प्रधानमन्त्री सुशील कोइरालादेखि पाकिस्तानका नवाज सरिफसम्म त्यहाँ उपस्थित भए। दक्षिण एसियाका अन्य सरकार प्रमुखहरु सहित।
नेपालमा त्यसपछि चारपल्ट प्रधानमन्त्री फेरिए, तर चौथो या यसपल्टको परिवर्तनले केही विदेशी विशिष्ट पाहुनालाई नेपाल भित्र्याएको छ, बिनानिम्तो नै।
केपी ओलीले विधिवत् रुपमा प्रधानमन्त्री पदको कार्यभार सम्हाल्नुपूर्व नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज राजनीतिक भ्रमणमा नेपाल आइन् बधाई दिनकै लागि भन्दै। त्यसको एक महिनापछि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी पाकिस्तानकै कूटनीतिक पहलमा नेपाल आए बधाई दिनकै लागि पाकिस्तानी वायुसेनाको विशेष विमानमा।
ठूलो मुलुक भारतको प्रधानमन्त्रीको शपथमा मात्र हैन, सानो मुलुकको प्रधानमन्त्रीलाई पनि पाकिस्तानी प्रधानमन्त्री स्वयम् उपस्थित भई बधाई दिएर एक किसिमले दिल्ली भ्रमणको स्पष्टीकरण पाकिस्तानले नेपाल मार्फत दिने कोशिश गरेको छ। तर, यो यात्रा सुष्मा स्वराजको जस्तै अस्वभाविक छ।
अब्बासीको नेपाल यात्रालाई भारतको नेपालमा विद्यमान भारत विरोधी भावना र दक्षिण एसियामा पाकिस्तानको चीनसँगको बढ्दो रणनीतिक साझेदारीको पृष्ठभूमिमा पनि हेरिनुपर्छ।
ओली र अब्बासीको नेतृत्वमा याक एण्ड यति होटेलमा भएको करीब एक घण्टाको दुई पक्षीय बैठकमा खास गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अनिश्चित शिखर सम्मेलन गर्नुपर्नेमा दुवै प्रधानमन्त्री सहमत भएका छन्। वर्तमान अध्यक्षका रुपमा नेपालका तर्फबाट यो विषयमा भारतसँग वार्ता गर्न ओली तयार भएका छन्।
उच्चतम तहको यो भेटमा पाकिस्तानी प्रधानमन्त्रीले भारतविरुद्ध केही अभिव्यक्ति नदिए पनि भारतले अक्सर लगाउँदै आएको आरोप अर्थात पाकिस्तानले नेपाल वा अन्यत्र भारत विरोधी गतिविधिका लागि उग्रशक्ति या आतंकवादसँग हात नमिलाएको र संरक्षण नगरेको स्पष्ट पारे।
तर, योसँगै पाकिस्तानले यो भ्रमणको उद्देश्य दुईपक्षीय र क्षेत्रीय मामिलामा अन्तर्राष्ट्रिय मञ्चमा समान धारणा बनाउने चाहना पनि नेपाल समक्ष राखेको छ। पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार व्यापार, वाणिज्यसँगै प्रतिरक्षा सम्बन्धसमेत बढाउने उद्देश्यका साथ प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा आएका हुन्।
भारतले नेपाललाई सधैँ आफ्नो सुरक्षा हातामा राख्न खोजिरहेको पृष्ठभूमिमा पाकिस्तानको यो चाहनाले खास अर्थ राख्नेछ। नेपाल र पाकिस्तान चीनको रणनीतिक महत्वको ‘वन बेल्ट वन रोड’ योजनामा हस्ताक्षरकर्ता हुन् र भारतको ‘सुरक्षा छाता’ तथा हिमालय उसको उत्तरको रक्षा सीमा हो भन्ने मान्यतालाई बदलिँदो परिस्थितिले अस्वीकार गरेको छ।
अर्कोतिर मोदीलाई नेपालमा छिट्टै स्वागत गर्ने चाहना ओलीले व्यक्त गरे पनि मोदी होइन, अब्बासी पहिलो विदेशी सरकार प्रमुख बनेका छन्, ओलीको त्यो आतिथ्य प्राप्त गर्ने।
नेपालको छिमेकीसँगको सम्बन्धमा निश्चय पनि पाकिस्तान निर्णायक या प्रभावकारी कारक हैन, तर सम्भवत: सार्कलाई जीवन्तता दिन र अनिश्चित शिखर सम्मेलन गराउनमा भारतले सक्रियता देखाएन भने दक्षिण एसिया क्षेत्रमा भारतबिरुद्धको मोर्चाबन्दीले एउटा अवसर पाउनेछ। माल्दिभ्स, श्रीलंका, बंगलादेश, पाकिस्तान र नेपालसमेत सम्भवत: क्षेत्रीय सहयोगको पक्षमा उभिनेछन् र बीबीआईएन तथा बिमस्टेकलाई सार्कको विकल्पका रुपमा उनीहरुले स्वीकार्ने छैनन्।
अब्बासीको नेपालयात्रालाई भारतीय सञ्चारमाध्यमले भारतीय हितविपरीत हेरेका छन् तर सार्कले तत्काल जीवन्तता नपाएमा सार्क मित्र भारतको विरोध चर्कने सम्भावनालाई बढाउनेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































