
झापा – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रदेशलाई प्रहरी तथा निजामती कानुन बनाएर आफ्नै प्रहरी र निजामती सेवा सञ्चालन गर्न दिनका लागि संघीय सरकार बाधक भएको बताएका छन्।
मंगलबार झापाको विर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस उपसभापति निधिले अहिलेको संघीय सरकारले संघीयताको मूल मर्म विपरित काम गरिरहेको बताए।
उनले भने, ‘संघीयताको मूल प्रकृति भनेको प्रत्येक प्रदेशको आफ्नै प्रहरी संरचना हुनुपर्दछ। संविधानले पनि उल्लेख गरेको छ। अहिलेसम्म प्रहरी संगठन बनाउनका लागि न आफूले कानुन बनाएको छ न प्रदेशलाई कानुन बनाउन दिएको छ।’
उनले सबै प्रदेशकाे आफ्नो निजामती सेवा हुनुपर्ने बताए। निधिले भने, ‘त्यति पनि गर्न नदिने हो भने के को प्रदेश?’
उक्त काम ‘पोलिटिकल एक्जेक्युटिभ’को काम भएको निधिले बताए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई संघीयताप्रति विश्वास नभएको उनले आरोप लगाए।
पार्टीको आउँदो १४ औं महाधिवेशनका लागि अब वातावरण बनेको उनको भनाइ थियो। उनले पार्टीमा गुट सञ्चालन भन्दा पनि समूहगत काम गरेर देश र जनताको हितमा काम गर्नुपर्ने बताए।
आफू कुनै गुटको नभए पनि सभापति देउवाको सहयोगी भएको उनको भनाइ थियो।