
झापा– बेजोड स्मरण शक्ति भएका झापाका युवक अर्पण शर्माले फेरि आफ्नै रेकर्ड र एकजना भारतीय नागरिकले उनलाई दिएको चुनौतीको सामना गर्दै अर्को रेकर्ड कायम गरेका छन्।
सन् २०१४ मा एक मिनेटमा ४२ शब्द वा बस्तु चिनेर नहेरि उल्टो, सुल्टो तथा बीचबाट नम्बरसहित भन्न सकेर विश्व रेकर्ड कायम गरेका शर्माले एक मिनेटमा ८३ वटा शब्दसहित नयाँ रेकर्ड कायम गरेका छन्।
उनले पहिला पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम राखिसकेका थिए। तर एकजना भारतीय नानासागर सुब्रमन्यम वुचीले शर्माको रेकर्ड तोडेपछि उनलाई अर्को रेकर्ड राख्न दबाब परेको थियो। शर्माले फेरि वुचीको रेकर्ड तोडेका छन्।
आफूले तोडेको रेकर्डको प्रमाण गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको मुख्यालयमा पठाइसकिएको उनले बताए। शर्माले भने, ‘प्रमाणपत्र आइपुग्न करिब तीन महिना जति लाग्ला।’
उनले यस पटक एक मिनटमा ८३ वटा शब्दको क्रम याद गरी उल्टो, सुल्टो र नम्बरसहित भनेर विश्व रेकर्ड कायम गरेका हुन्।