
झापा – प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्।
गृहनगर दमकमा बनेका विभिन्न संरचनाका उद्घाटन र बनाइने संरचनाको शिलान्यास कार्यक्रमका लागि उनी झापा आएका हुन्। यती एयरलाइन्सको नियमित उडानबाट उनी गृह जिल्ला आएका हुन्।
दमक नगरपालिका कार्यालयका अनुसार फागुन ४ गते ओलीले दमक ४ मा रहेको कृष्णमन्दिर चोकमा सडक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यस्तै दमक र मोरङको मिक्लाजुङ गाउँपालिकाको सीमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन र बेलडाँगीस्थित जिरो प्वाईन्टमा रवि चिसापानी सडक शिलान्यास गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीको अन्तिम कार्यक्रममा दमक नगरपालिका वडा नम्बर १ मा निर्मित विपन्न नमूना बस्तिको उद्घाटनको कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली आइतबार नै काठमाडौँ फर्कने कार्यक्रम छ।