
काठमाडौँ– सन् २०१४ को टीट्वेन्टी विश्वकप। नेपालले खेलेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता। समूहगत चरणमा तीनमध्ये दुई खेल जिते पनि नेपाल अगाडि बढ्न सकेन। तर नेपालले विश्वको मन जित्यो। विश्वले नेपाल र नेपाली क्रिकेटलाई चिने।
‘संसारले हेरिरहेको प्रतियोगिता थियो। कुनै पनि हालतमा जसरी पनि राम्रो खेल्नुपर्छ भन्ने हाम्रो प्रयास थियो’, प्रतियोगिताको समूहगत चरणमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका सुबास खकुरेल भन्छन्।
सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालको त्यो पहिलो जित थियो। सन् २००९ को एसिसी यू–१९ एलिट कपको सेमिफाइनलमा नेपाललाई हराएपछि अफगानिस्तान, नेपालमाथि लगातार हाबी भइरहेको थियो।
‘हामीलाई लगातार हराइरहेकाले एक किसिमको डर थियो। तर मनोबल उच्च बनाउनुको विकल्प हामीसँग थिएन’, नेपालका पूर्व प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर सुवास भन्छन्।
पहिलो खेलमा हङकङलाई हराए पनि दोस्रो खेलमा बंगलादेशसँग निराश भएको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई नौ रनले हराएको थियो। सुबासले ५३ बलमा एक छक्का र छ चौकाको मदतमा ५६ रन बनाएका थिए।
‘टीट्वेन्टी विश्वकप छनोटदेखि नै म राम्रो लयमा थिएँ। फास्ट बलरलाई राम्रो खेलिरहेको थिएँ। अफगानिस्तानको पनि फास्ट बलिङ राम्रो थियो। तर मैले सजिलै खेलिदिएँ’ सुबास भन्छन्, ‘मैले समय लिएर खेलेँ। सुरुको २० रन बनाउन करिब ३० बल लगाएँको थिएँ तर त्यसपछि खुलेर आफ्नो प्रदर्शन दिएँ।’
नेपाली ब्याट्सम्यान फास्ट बलरसँग राम्रो खेल्न नसकिरहेको अवस्थामा सुबासले राम्रो बलियो टोलीविरुद्ध राम्रो मात्र खेलेका थिएनन् नेपालले जित पनि हात पारेको थियो। काठमाडौंका यी क्रिकेटर सन् २०११ मा नेपालमै भएको एसिसी टीट्वेन्टी क्रिकेट प्रतियोगिताबाट सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन्।
त्यसपछिका केही वर्ष उनका लागि स्मरणीय रहे। सन् २०११ मा आईसिसी यू–१९ विश्वकप छनोट उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। एकाएक टोलीमा समेटिएका सुबासले प्रतियोगिताको पहिलो खेलमै अफगानिस्तानविरुद्ध अर्धसतक प्रहार गरेका थिए।
सन् २०१२ मा आयोजित आईसिसी यू–१९ विश्वकपमा उनले इंल्यान्डविरुद्ध अर्धसतक प्रहार गरेका थिए। त्यो देखेर पाकिस्तानका पुर्व खेलाडी वासिम अक्रमले सुबासको तारिफ गरेका थिए।
सन् २०१२ मा आयोजित डिभिजन चारमा उनले अमेरिकाविरुद्ध राउन्ड रोबिन खेलममा एक सय १५ रन बनाएका थिए। प्रतियोगिताको फाइनलमा अमेरिकाविरुद्ध अविजित ४० रन पनि बनाए। सोही वर्ष आयोजना भएको एसिसी ट्रफीको फाइनलमा युएईविरुद्ध अर्धसतक बनाएका थिए।
सन् २०१३ मा आयोजित एसिसी इमर्जिङ टिम्स कपमा उनले पाकिस्तान यू–२३ टोलीविरुद्ध ७८ र सन् २०१३ मा आयोजित आईसिसी टीट्वेन्टी विश्वकप छनोटमा केन्याविरुद्ध ५४ रन बनाएका थिए। त्यस खेलमा नेपालले केन्याले दिएको एक सय ८३ रनको लक्ष्य पुरा गरेको थिए।
सुबासले त्यस प्रतियोगितामा दुई सय ३४ रन बनाएका थिए। सन् २०१४ मा आयोजना भएको एसिसी प्रिमियर लिगमा उनले यूएईविरुद्ध ७१ रन बनाएका थिए। सोही वर्ष आयोजना भएको एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा सुबास न्युजिल्यान्ड पुगेर पनि खेल्न सकेनन्।
उनी विरामी भए। त्यस प्रतियोगितामा नेपालको प्रदर्शन खराब रह्यो। उनी खेलमा फर्कदै डिभिजन तीनमा सहभागी भए। त्यस प्रतियोगितामा अमेरिकाविरुद्ध ४९ रन बनाए। यस खेलमा दुई वटा क्याच र दुई वटा रन आउट समेत गराएका सुबास प्लेयर अफ दी म्याच घोषित भएका थिए।
सन् २०१५ को नोभेम्बरयता भने उनले राष्ट्रिय टोलीबाट खेलेका छैनन्। आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुआन्युगिनीविरुद्ध खेलेपछि उनी पुन सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन सकेका सकेका छैनन्। पपुआन्युगिनीविरुद्ध दुई खेल खेलेकामा पहिलोमा ६३ रन बनाएका थिए भने दोस्रोमा शुन्यमा आउट भए। ‘राम्रो नै खेलेको जस्तो लाग्छ तर टोलीमा परेको छैन’, उनको गुनासो छ।
यसबीचमा नेपाली टोलीमा भरपर्दो प्रारम्भिक ब्याट्सम्यानको भने प्राय सधैं खडेरी परेको छ। ओपनरमा धेरै प्रयोग भएपनि सफल हुन सकेको छैन। दुर्घटनामा परेका कारण गत एभरेस्ट प्रिमियर लिग उनले खेल्न सकेनन्।
तर केही साता अघि भएको खुकुरी कपमा भने उनले दुई खेलमा अर्ध सतक बनाए भने केही खेलमा नटआउट रहे। चोटमुक्त नभएका कारण उनलाई मध्यक्रममा ब्याटिङमा उतारिएको थियो। उनलाई लाग्छ-अझैपनि राम्रो ब्याटिङ र किपिङ गर्न सक्छन् । तर उनि निश्चित छैनन्- कहिले राष्ट्रिय टोलीमा फर्कने छन्। नेपाली ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा आफु भएको भए राम्रो खेल्न सक्थें की भन्ने चाँही उनलाई लाग्छ रे।
युवा खेलाडीलाइ चाँडै सिनियर टोलीमा मौका दिएकोमा उनी सन्तुष्ट छैनन्। भन्छन्,’ सिनियर टोलीमा आउने खेलाडी भनेको माझिएर र खारिएर आउनुपर्छ। यूवा खेलाडीलाई ल्याउने नाममा एउटा प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई टिपेर जोखिम मोलिरहेका छौं । न हामीले उनीहरुलाई राम्रो मौका दिइरहेका छौं न उनीहरुमाथी भरपर्न सक्ने अवस्थामा छौं। यसले गर्दा सिनियर राष्ट्रिय टोलीमा पर्नुको महत्व घटिरहेको छ। ‘
विश्वकप छनोट र अफगानिस्तानसँगको खेल
सुबासले जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटमा नेपालले खेलेका खेलको लगातार अपटेड लिइरहेका छन्। नेपाली ब्याटिङ कमजोर देखिएको छ। नेपालको ब्याटिङ सुरुआत चिन्ता गर्नुपर्ने अवस्थामा छ।
‘हामीले २ सय २० देखी दुई सय ३० रनसम्म बनाउन सक्यौं भने हाम्रा बलरले खेल जिताउन सक्छन्। यसमा विकेटको स्थिती पनि निर्भर रहन्छ। स्कटल्यान्डसँगकै खेलमा हामीले १ सय ९० जति रन बनाउन सकेका थियौं भने खेलको नतिजा जे पनि आउन सक्थ्यो। तर नेपाली ब्याटिङ युनाइटेड देखिएन। यूवा खेलाडीले अझैपनि टाइम लिइरहेका छन्। ब्याटिङक्रमको तालमेल पनि नमिलेको देखिन्छ’ सुबास भन्छन्।
नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पुन एक पटक अफगानिस्तानसँग खेल्दै छ, शनिबार। नेपाली क्रिकेटको भविस्यका लागि यो खेल अति महत्वपूर्ण छ। विश्वकप छनोटको सम्भावना र एकदिवशिय अन्तर्राष्ट्रिय मान्यताको आशा कायम राख्न नेपालले अफगानिस्तानलाई हराउनुपर्ने छ। ‘ अनिल शाह ओपनरको विकल्प हुन सक्दैनन् भने उनलाई किन लगिएको ? लयमा नरहेका खेलाडीलाई रिप्लेस गर्न सक्ने र विश्वास गर्न सक्ने बेन्च बनाउन सक्नुपर्छ ताकी उनीहरु राम्रो विकल्पका रुपमा सँधै तयार हुन्’सुबास भन्छन्। प्रारम्भिक ब्याट्सम्यानले कम्तीमा ३०/४० रन बनाउनु पर्ने उनको तर्क छ।