कोरोना भाइरसको त्रासले त्रिभुवन विमानस्थलमा यात्रु पातलिए, यसरी अपनाइँदै छ सावधानी (१४ तस्बिरहरु)

+
-

काठमाडौँ: आइतबार अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण सकेर स्वदेश फर्कँदै थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ आगमन कक्षमा छिर्दै गर्दा शाहको शरीरमा काँधमा ट्याङ्की र हातमा स्प्रे बोकेका दुई जनाले केही छर्किए।

त्यसको सामुन्ने हेल्थ डेस्क थियो। हेल्थ डेस्क पार गरेर अध्यागमन कक्षमा छिर्न लाग्दा केही मान्छे शाहलाई परीक्षण गर्न खोज्दै थिए। एक महिला कम्प्युटरमा केही हेर्दै थिइन् भने अर्का एक पुरुष ‘बन्दुकजस्तो’ कुनै सामग्रीको टुप्पो शाहको निधार नजिकै जोडाउन खोज्दै थिए। कम्प्युटरमा थर्मल स्क्यानरमार्फत शाहको शरीरको तापक्रम हेरिँदै थियो।  ‘इन्फ्रारेड गन’मार्फत पनि शाहको तापक्रम कम्प्युटरमा हेरिँदै थियो।

‘शाहको शरिरको तापक्रम सामान्य देखियो अर्थात स्वास्थ्य परीक्षणमा उहाँ पास हुनु भयो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले भने। चीनको वुहान प्रान्तबाट फैलिएर विश्वभर आतङ्क मच्चाइरहेको कोरोना भाइरसका संक्रमित विरामीलाई विमानस्थलमै रोक्न सरकारले केही सातायता हेल्थ डेस्क राखेर यसरी स्वास्थ्य जाँच गरिरहेको छ।

विमानस्थलमा यात्रु पातलिएका छन्।

‘हवाई मार्गबाट आउने कसैको स्वास्थ्यको तापक्रम बढी देखिए उनिहरुलाई तत्काल त्यहाँबाट छुट्याएर एम्बुलेन्समा राखी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइन्छ। त्यहाँ स्वास्थ्य जाँच गरिएपछि संक्रमित देखिए वा सम्म्भावना रहेको पाइए क्वारेन्टाइनमा राखिन्छ। यसरी भाइरस भित्रन र फैलन नदिन प्रयास भइरहेको छ’, कर्ण भन्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ आगमन कक्ष प्रवेश गरेदेखि  अध्यागमन कक्षमा प्रवेश नहुँदासम्म भाइरस भित्रन र  फैलन नदिन वरिपरि र यात्रुको शरिरमा लिक्विड सेनिटाइजर छर्किने गरिएको छ।

कोरोना भाइरसका कारण आइतबारसम्म विश्वभर २ हजार ९ सय ९४ जनाको ज्यान गएको छ। मृतकको संख्या चीनमा मात्र २ हजार ८ सय ७० रहेको छ। हालसम्म कोरोना भाइरसको संक्रमण ६५ भन्दा बढी देशमा देखिएको छ। कोरोनाका कारण १३ देशमा मानिसहरुको मृत्यु भइसकेको छ। इरानमा ५४, इटालीमा २९, दक्षिण कोरियामा २० र जापानमा ६ जनाको ज्यान गएको छ। दक्षिण एसियाका पाकिस्तान, भारत, श्रीलंकामा कोरोना  संक्रमित भेटिएपनि कसैको ज्यान भने गएको छैन।  हालसम्म विश्वभर करिब ८८ हजारमा कोरोनाको संक्रमण देखिएकामा लगभग ४३ हजार ‘निको’ भएको जनाइएको छ।

हवाई मार्गबाट आउने यात्रुबाट कोरोना भाइरस विभिन्न देशमा फैलिरहेको सन्दर्भमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको स्वास्थ्य जाँचलाई गम्भीरतापूर्वक हेरिएको छ। विश्वका धेरै देशले चीनसहित कोरोना भाइरस संक्रमित भएका देशबाट आउने उडानहरुलाई अस्थायी प्रतिबन्ध लगाएका छन्।

त्रिभुवन विमानस्थलका प्रवक्ता कर्ण आफूहरु सरकारको निर्णय कार्यन्वयन गर्ने निकाय भएकाले कुनै खास देशका उडानलाई प्रतिबन्ध लगाउने विषयमा कुनै सोच नरहेको बताए। ‘चीनबाट वा चीन भएर आउने विमानका उडान र यात्रु स्वात्तै घटेका छन्।  हप्तामा १४ पटक उडान भर्ने गरेको चाइना साउदर्नले अहिले हप्तामा दुईपटक मात्र उडान गरिरहेको छ। एयर चाइना र इस्टर्न चाइनाले यात्रु पाउँदा मात्र उडान भरिरहेका छन्।  हिमालयन एयरलाइन्स र तिब्बत एयरका उडान ठप्पजस्तै छन्।  चिनियाँ यात्रु लगभग आएकै छैनन् भनेपनि हुन्छ। चाइना भएर आउने ट्रान्जिट यात्रुहरु निकै थोरै संख्यामा आइरहेका छन्’, कर्ण भन्छन्। उनले अन्य देशबाट आउने हवाई यात्रुसमेत घटेको बताए।

अन्य देशहरुबाट आउने यात्रुहरु सम्बन्धित देशबाट कडा स्वास्थ्य परीक्षणपछि मात्र उनीहरुलाई बाहिरिन अनुमती दिइरहेकाले हरेक देश कोरोना भाइरसलाई लिएर संवेदनशील रहेको उनले बताए।

‘संक्रमित वा संभावितलाई कुनै पनि देशले बाहिरिन दिएका छैनन्। कोही संक्रमित वा सम्भावित भेटिए विमानस्थलबाट तत्कालै आइसोलेसन वार्डमा राख्ने गरिएको छ। यसको मतलब हामीले केही गर्नै पर्दैन भन्ने चाहिँ होइन’, कर्णले भने। कर्णका अनुसार नेपालबाट बाहिरिने हवाई यात्रुको स्वास्थ्य परीक्षण गर्न पनि प्रस्थान कक्षतर्फ हेल्थ डेस्क राख्न लागिएको बताए। ‘ जसरी हामी विदेशबाट आउने यात्रु सुरक्षित र रोगमुक्त हुन् भन्ने चाहन्छौँ, नेपालबाट जाने यात्रुलाई लिएर अरु देशले अपेक्षा गर्ने पनि यही हो’, उनले भने।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि सरकारले भ्रमण वर्ष २०२० अभियानलाई पनि खारेज गर्ने तयारी गरिरहेको छ। नेपाल भ्रमण वर्ष २०२० का विदेशमा गरिने प्रचारात्मक कार्यक्रम बन्द गरिएको पर्यटन मन्त्रालयले स्पष्ट पारिसकेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भ्रमण वर्ष २०२०, नेपाल भित्रने पर्यटकको प्रमुख देश मानिएको चीनसहित धेरै देशमा कोरोना भाइरसको संक्रमणपछि नराम्रोसँग प्रभावित बनेको छ। अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार फेब्रुअरी महिनामा ७७ हजार ६४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्

भिडियाे:

तस्बिर/भिडियाे: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?