
झापा–कोरोना भाइरस संक्रमण देखिएका मुलुकहरुका नागरिकलाई भुटान प्रवेशमा रोक लगाइएको छ। भुटान सरकारले त्यस्ता मुलुकका नागरिकका लागि कुनै पनि किसिमका भिजा उपलब्ध नगराउने निर्णय गरेको भुटानको सरकारी सञ्चार माध्यम क्युन्सेलले जनाएको छ।
उक्त प्रतिवन्ध हालका लागि दुई साता लागु हुनेछ। प्रधानमन्त्री डा. लोते छिरिङले उक्त प्रतिवन्धको घोषणा गरेका हुन्। भुटान प्रवेश गर्ने स्थल मार्गहरुमा पनि यो प्रतिवन्ध लागु भएको छ। कोरोना भाइरस देखिएका मुलुकका नागरिक मात्र होइन, ती मुलुकको यात्रा गर्ने जो कोहीलाई यो नियम लागु हुने भुटान सरकारले जनाएको छ।
अन्य देशका नागरिक जो हाल भुटानमै छन्, उनीहरुका लागि यो नियम लागु नहुने र भुटान बाहिर गएर फर्किँदा भने भुटान प्रवेश गर्न पाउने छैनन्। छिमेकी मुलुकले यो नियम लागु गरिरहँदा विदेशबाट नेपाल आउने मानिसहरु निर्वाध आइरहेका छन्।
भुटानले पनि सबै किसिमका सार्वजनिक कार्यक्रमहरुमाथि प्रतिवन्ध लगाएको छ। जहाँ पर्यटकहरुको आवागमन भएको छ ती स्थानहरुमा क्लोरिनले सफा गरिने जनाइएको छ।