
झापा-भारतले खुल्ला राखेका चार नाकाहरुमध्ये पूर्वी नेपालको काँकरभिट्टा नाकालाई व्यवस्थित गर्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सोमबार नाकामा खटिएका छन्।
सोमबार तीन समूहमा गरि ५८ जना स्वयं सेवक खटिएको प्रहरीले जनाएको छ। आइतबार बिहान बसेको जिल्ला सुरक्षा समिति, मेचीनगर नगरपालिकाका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाका व्यवस्थित गर्न स्वयं सेवक खटाइदिन आग्रह गरेका थिए।
सोमबार मेचीनगर उद्योग वाणिज्य संघ, साना हातहरु, माइती नेपाल, जेसीजका शाखाहरु लगायत संस्थाहरुले नाकामा स्वयं सेवक खटाएका थिए। नाकामा भीडभाड नियन्त्रण गर्न र ज्वरो नाप्ने कामलाई व्यवस्थित गर्न स्वयं खटाइएको ती संस्थाका पदाधिकारीहरुले बताएका छन्।
उनीहरुलाई एप्रोन, पञ्जा तथा सडकमै ज्वरो नाप्नका लागि थर्मल गन उपलब्ध गराइएको छ। कोरोना भाइरस संक्रमणको डर रहिन्जेल यो कामलाई निरन्तरता दिइने मेचीनगर नगरपालिका कार्यालयले जनाएको छ।