
झापा– मानवअधिकार सञ्जाल झापाले पूर्वी सीमा काँकरभिट्टामा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्रहरीलाई सुरक्षित तरिकाले खटाउन सरकारलाई आग्रह गरेको छ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण नेपालमा भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नाकामा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्रहरीले असुरक्षाकाबीच काम गरिरहेको सञ्जालले ठहर गरेको छ।
नाकाको अनुगमन गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सञ्जालले भारतबाट आउने व्यक्तिहरुको तापक्रम मापन गरेको पाइए पनि स्वास्थ्यकर्मी स्वयं सुरक्षित पोशाकमा नभएको जनाएको छ।
तापक्रम परीक्षण गर्नुपूर्व साबुनपानीले हात धुने व्यवस्था मिलाए पनि सबै व्यक्तिले साबुन प्रयोग नगरेको सञ्जालको भनाइ छ।
भारततर्फबाट प्रवेश गरेका गाडीहरुमा केमिकल स्प्रे प्रयोग गरेको पाइए पनि स्प्रे गर्ने व्यक्ति नै पूर्णरुपमा सुरक्षित पोशाकमा नरहेको सञ्जालको भनाइ छ।
भारतबाट प्रवेश गर्ने नागरिकहरुको नेपाल प्रवेश गर्दा भीड देखिएको र भीडको व्यवस्थापन नभएको र नागरिकहरु पनि सचेत नरहेको सञ्जालको विज्ञप्तिमा उल्लेख छ।
नाकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकहरु सुरक्षित पोशाकमा खटिनुपर्नेमा त्यो नभएको र उनीहरुका लागि सुरक्षित पोसाक चाँडोभन्दा चाँडो उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।