
सिल्क एयरको जहाजलाई अवतरणपूर्व नै अन्य मुलुकमा जान उड्डयन विभागले आदेश दिएको भोलिपल्ट आइतबार ओमान एयरले दुई नेपालीलाई काठमाडौं ल्याएको भन्दै उक्त जहाजलाई केही घण्टा ‘डिटेन’ गरी छाडिएको छ।
ओमान एयरको पाकिस्तान उडानमा रहेका दुईजना नेपाली नागरिक पाकिस्तानले डिपोट गरेपछि अन्य यात्रुसहित काठमाडौँ अवतरण गरेको उक्त विमानलाई नेपाल सरकारको निर्देशन नमानेको भन्दै केही घण्टा ‘डिटेन’ गरी उड्न दिइएको सरकारी स्रोतले जनाएको छ।
सरकारको निर्देशनले विदेशबाट नेपालीहरुलाई आउन निषेध गरे पनि नेपालबाट उड्न पाउने या नपाउनेबारे स्पष्ट गरेको छैन।
पाकिस्तानले नेपाली नागरिकको प्रवेशलाई रोक लगाएको भन्दा ओमान एयरबाट गएका दुई नेपालीलाई ‘डिपोट’ आदेश दिएपछि उक्त विमानले उनीहरुलाई फिर्ता काठमाडौं उतारेको छ।
शनिबार राति मात्र सिल्क एयरले नेपाली यात्रुहरुसहित सिंगापुरबाट काठमाडौं आउँदै गरेको जानकारी पाएपछि नागरिक उड्डयनले विभागले तत्काल जहाज फिर्ता लैजान या अन्यत्र ‘डाइभर्ट’ गर्न आदेश दिएको थियो।
तर, नजिकको अन्तर्राष्ट्रिय विमानस्थल कोलकाताले अवतरण स्वीकृति नदिएपछि रिफ्युलिङका लागि उक्त जहाज काठमाडौँमा आपत्कालीन अवतरण गरेको थियो।
नियमअनुसार गन्तव्य मुलुकले उडान अनुमति नदिएपछि जहाज पहिलो विमानस्थल (पोइन्ट अफ ओरिजिन) मा जानुपर्छ। त्यही नियमअनुसार विमान फेरि सिंगापुर नै फर्कन लागेको घोषणा पाइलटले गर्नासाथ ६० भन्दा बढी यात्रुले उत्तेजित हुँदै नारा लगाएका थिए।
तनावपूर्ण यस्तो वातावरणमा आफूले जहाज उडान नसक्ने बताएपछि विमानस्थलले यात्रुहरुलाई ओर्लने अनुमति दिएका थिए, करिब साढे तीन घन्टा जहाजमै कुराएपछि।
तीमध्ये तीन यात्रुलाई नगरकोटमा क्वारेन्टाइनका लागि पठाइएको र बाँकीलाई ‘सेल्फ क्वारेन्टाइन’मा जाने निर्देशनसहित बाहिर जान दिइएको थियो।