
झापा– बुधबार झापाको बुद्धशान्ति गाउँपालिका ४ का किसान रामकुमार लिम्बु परिवारसहित खेतमा मकै गोड्न व्यस्त थिए।
उनलाई लक डाउनका बेला बिना काम बाहिर जानु भन्दा खेतमा बितिसकेको काम गर्दा उचित हुने लागेको छ।
किसान लिम्बुले भने, ‘यी हेर्नु न, मकैलाई झारले जितिसक्यो। त्यही भएर आजै गोडेर सकौं भनेर सबै खेतमा पो छौं।’
खाद्यान्न बालीमध्ये मकै धानपछि दोस्रो बालीमा पर्छ। त्यस्मा पनि अहिले किसानले विकासे मकै खेतमा ज्यादा लगाएका छन्। विकासे मकैका लागि सिँचाई लगायत गोडमेल समयमा गर्नुपर्ने हुन्छ।
किसान लिम्बु भन्छन्, ‘किसानले रमिता हेर्न हिँड्नु भन्दा काम गर्नु नै ठिक हुन्छ।’
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले दोस्रो म्याद थप गरेको लक डाउनको समयावधिमा कृषिको काम गर्न पाइन्छ भनेपछि अहिले किसान मकै गोड्न व्यस्त देखिन्छन्।
खेतमा पछुवा मकै लगाएका किसान अहिले काँटा तथा कोदालो बोकेर मकै गोड्न व्यस्त हुने गरेका छन्।
बुद्धशान्ति २ झापाका अर्का किसान उमेश पाण्डेले पनि यही मौका छोपेर करिब १० कट्ठा जमिनमा लगाएको मकै गोड्न भ्याएका छन्।
अहिले अन्यत्र काम नभएका बेला कामदार पाउन सहज भएकाले लक डाउनको मौका छोपेको उनले बताए।
अर्का किसान भीम न्यौपानेले पनि यही अवधिमा नै करिब एक बिघा जमिनमा लगाएको मकै गोडिसक्ने योजना बनाएका छन्।
झापामा करिब ३७ हजार हेक्टर जमिनमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। यस बर्ष मकैको उत्पादन बढ्ने अनुमान केन्द्रको छ।
गत बर्ष झापामा करिब ४५ हजार टन मकै उत्पादन भएको थियो।