
झापा– झापाका दक्षिण सीमावर्ती क्षेत्रका बासिन्दाले गाउँमा नयाँ मान्छे देख्ने बित्तिकै प्रहरीलाई फोन गरी जानकारी दिन थालेका छन्।
भारतसँग जोडिएका क्षेत्रमा स्थानीयबासी सम्मिलित समिति बनाइदिएपछि स्थानीयबासीमा पर्याप्त सजगता आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
खासगरि सीमावर्ती क्षेत्रहरु झापा गाउँपालिका तथा कचनकवल गाउँपालिकाका सर्वसाधारण विगतभन्दा धेरै सजग भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
उनले भने, ‘अहिले त नयाँ अनुहार देख्यो खोजतलास तथा सोधपुछ गरिदिनु पर्याे भनेर खबर आउन थालेको छ।’
सर्वसाधारण पनि बिना बर्दीका प्रहरी भएका कारण यस्तो सजगताले समाज सुरक्षित हुने वातावरण बन्ने उनको भनाइ छ।
कोरोना भाइरस कोभिड-१९ बाट संक्रमण भएका धेरै भारतीय नागरिक उपचारको क्रममा रहेकाले उक्त भाइरसको संक्रमण हुन नदिनका लागि स्थानीयबासी सम्मिलित समितिको काम प्रभावकारी बन्दै गएको प्रहरी अधिकारीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार सीमा क्षेत्रमा उक्त सजगताका कारण धेरै किसिमका अपराधसमेत नियन्त्रणमा आउन बल पुग्नेछ।
भारतीयको खेती नेपालमा
धेरै भारतीय नागरिकले सीमावर्ती नेपाली क्षेत्रका सर्वसाधारणको जमिन लिजमा लिएर खेती गर्ने गरेकाले भारतीयलाई सीमा क्षेत्रमा रोक्न गाह्रो परिरहेको प्रहरी अधिकारीहरु बताउँछन्।
तर पनि हाल त्यस्ता भारतीयहरुलाई नेपाल प्रवेश गर्न नदिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठ बताउँछन्।
उनले भने, ‘भारतीयहरुको नेपालमा खेती रहेकाले हामीलाई सकस चाहिँ छ। तर उनीहरुलाई नेपाल आउन दिइएको छैन।’
झापाका झापा गाउँपालिका तथा कचनकवल गाउँपालिकाका करिब पाँचसय विघा जमिनमा भारतीयहरुले खेती गर्ने गरेको उनले बताए।
मस्जिदमा सुक्ष्म निगरानी
विगत केही दिनदेखि गरिएको कोरोना भाइरस परीक्षणमा भारतबाट आएर नेपालका मस्जिदहरुमा बसिरहेका मुस्लिम धर्मगुरुहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल प्रहरीले अन्य मस्जिदहरुमा सुक्ष्म निगरानी बढाएको छ।
नेपाल प्रहरीका चौकी तथा इलाका प्रहरी कार्यालयहरुका प्रहरीले अहिले गाउँ तथा शहरी इलाकामा गएर कोही नयाँ अनुहार मस्जिदमा छन् कि भनेर खोजतलासलाई तीब्र बनाएका छन्।
यसैबीच झापाका दुईवटा मस्जिदमा बसिरहेका १८ जना भारतीयहरुलाई सुक्ष्म निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तर उनीहरु नेपालमा जारी लकडाउन शुरु हुनुभन्दा अगाडिदेखि नै नेपालका मस्जिदहरुमा बसिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।