
झापा – भारतको सीमावर्ती बजार पानीट्यांकी आसपासमा रहेका नेपाल आउने करिब एक हजार जना नेपालीहरूको नाम संकलन भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
भारतका विभिन्न शहरहरूमा रोजगारीका लागि गएकाहरू अहिले भारतीय सीमावर्ती बजार पानीट्यांकीमा आएर बसेका छन्।
भारतमा ट्रेन चल्न थालेपछि भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजार काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय बजार पानीट्यांकीमा जम्मा भएका हुन्।
करिब एक हजार जना नेपालीहरूका लागि व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेकोमा हालसम्म करिब चार सयजनाका लागि क्वारेन्टिनको व्यवस्था मिलाइसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनका अनुसार भद्रपुरको मेची बहुमुखी क्याम्पसमा दुईसय जना, कलबलगुडी प्रशिक्षण केन्द्रमा एकसय जना, मेचीनगर नगरपालिकाको आदर्श माविमा एकसय जनाका लागि क्वारेन्टिनको व्यवस्था भइसकेको छ।
कोइरालाले भने, ‘केन्द्रबाट आदेश आएको छैन उनीहरुलाई कसरी ल्याउने भन्ने। तर हामीले हाम्रो तयारी तीब्र बनाएका छौं।’
लकडाउन ‘कडा‘
केही दिनदेखि केही खुल्ला गरिएको बन्दाबन्दी बिहीबार बिहानदेखि पुनः कडा पारिएको छ।
देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै जाँदा केही दिन खुल्ला पारिएको लकडाउन पुनः कडा बनाइएको हो।
झापाको अर्जुनधारा नगरपालिकाले ठाउँ-ठाउँमा स्वयं सेवक खटाएर सवारी साधनलाई आवत जावतमा रोक लगाएका छन्। नगरपालिका कार्यालयले अहिलेसम्म जारी भएका सवारी साधनका पास सबै रद्ध गरेर सवारी साधनको आवागमनलाई नियन्त्रण गरेको छ।
झापाको विर्तामोडमा पनि बिहान ८ बजेदेखि १२ बजेसम्म बजार खुल्ला राखिँदै आएकोमा बिहीबार बिहानदेखि एकाएक बन्द गरिएको छ। ठाउँ-ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सडकमा अनधिकृत रुपमा गुडेका सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेका छन्।
खासगरि भारतीय सीमावर्ती बजारहरुमा रहेका नेपालीहरु आउनसक्ने संभावनालाई मध्यनजर गरेर देशभित्रै रहेकाहरुलाई संक्रमण सर्ने संभावना रहेकाले लकडाउनलाई कडा पारिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।