
कोरोना महामारीको आर्थिक असर १९३० को आर्थिक मन्दी भन्दा पनि भयानक रुपमा देखिने आकलन गरिदैँछ तर बास्तवमा भन्ने हो भने यो महामारीको बास्तविक अन्त्य के हो र यसले कति प्रभाव पार्दछ भन्ने कुरा यसको भ्याक्सिन कहिले पत्ता लाग्दछ भन्नेमा निर्भर हुन्छ जुन अहिलेसम्मको स्थितिलाई हेर्दा अन्यौल नै देखिन्छ । यसको कारणले विश्व समुदायमा धेरैले रोजगारी गुमाउने कुरा लगभग निश्चित नै छ । यसले विश्व बजारमा उत्पादन, पर्यटन, शिक्षा, विप्रेषण सम्पूर्ण क्षेत्रमा निश्चित रुपमा प्रभाव पार्दछ । साधारण भाषामा के हो आर्थिक संकट यसलाई निम्नानुसार प्रष्ट पार्न खोजिएको छ ।
साधारण भाषामा आर्थिक संकट भनेको के हो ?
तपाईँ चेक लिएर बैंकमा जानुभयो र बैंकले अहिले हामी पैसा दिन सक्दैनौँ, पछि आउनुहोस् भन्यो भने के होला? साँच्चै यस्तो अवस्था आउन सक्छ? हाम्रो अर्थव्यवस्था कसरी चल्छ, के कोभिड १९ ले हाम्रो अर्थव्यवस्थालाई तितरबितर बनाउँछ ? एउटा साधारण उदाहरण हेरौँ- क भन्ने व्यक्तिले आफ्नो आम्दानी सबै बैँकमा जम्मा गरेको छ, बैंकसँग त्यस्ता हजारौँ क भन्ने व्यक्तिको आम्दानी सुरक्षित हुन्छ र उसले सोही पैसा ख भन्ने व्यक्तिलाई व्यवसाय गर्न प्रदान गर्दछ, त्यस्ता ख पनि हजारौँ हुन्छन् । अब हामी कल्पना गरौं, ती ख हरुको व्यवसाय डुब्यो भने अन्तमा मार त बैंकलाई पर्छ जहाँ क हरुको पैसा हुन्छ यसको मतलब अप्रत्यक्ष रुपमा यसको मार त्यही क हरुलाई पर्न सक्छ जो सर्वसाधारण जनता हो । अर्को उदाहरण हेरौँ- क भन्ने व्यक्तिले आफ्नो आम्दानी(तलब)बाट आफ्नो छोराछोरीलाई स्कुल पढाउँछ, स्कुलले सो आम्दानी शिक्षकलाई बाँड्छ र अन्य कुरामा खर्च गर्छ, फेरि स्कुलका शिक्षकले सो आम्दानीलाई आफ्नो दैनिक क्रियाकलापमा खर्च गर्छन् । यदि आर्थिक अवस्था धरासायी भयो भने क ले आफ्नो रोजगार गुमाउन पुग्छ अनि उसले स्कुलको पैसा तिर्न सक्दैन यसको मतलब शिक्षकले पैसा पाउँदैनन् यो एउटा चेन जस्तै हो कहिँ कतै टुट्यो भने सबैतिर धरासायी हुन पुग्छ जसलाई हामी आर्थिक संकटको रुपमा लिन सक्छौँ ।
विजनेस डिस्नेरीको अनुसार आर्थिक संकट भन्नाले वित्तीय संकट हो जसमा अर्थव्यवस्थाको क्रियाकलापहरु घट्न जान्छ । अर्थव्यवस्थाले आर्थिक संकटबाट गुज्रिनु भनेको खुद ग्राहस्थ उत्पादन घट्नु, आर्थिक मन्दी हुनु हो ।
अमेरिकाको मार्केट विजनेस न्यूजका अनुसार आर्थिक संकट भन्नाले यस्तो अवस्था हो जसमा अर्थव्यवस्थाको सूचकहरु निरन्तर रुपमा घट्दै जान्छन् जसलाई वास्तविक आर्थिक संकट भनिन्छ । धेरै जसो अवस्थामा वित्तीय संकट नै आर्थिक संकटको कारकको रुपमा देखिन्छ । आर्थिक संकट भएको अवस्थामा खुद ग्राहस्थ उत्पादन निरन्तर ओरालो लाग्दछ, तरलताको संकट पैदा हुन्छ । शेयर, घरजग्गाको भाउ घट्दै जान्छ र कारोबार पनि रोकिन्छ, यो एउटा यस्तो आर्थिक अवस्था हो जुन नराम्रो भन्दा नराम्रो हुँदै जान्छ ।
कोरोनाले विश्व अर्थतन्त्रलाई नै नराम्रोसँग प्रभाव पारेको छ । विश्वको ठूला अर्थतन्त्र धानेका देशहरु अमेरिका, चीन, बेलायत, जापानलगायत युरोप पूरैलाई धराशायी बनाएको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने अमेरिकाले लगभग १ करोड भन्दा बढीले रोजगारी गुम्ने कुरा बताइसकेको छ ।
खुद ग्राहस्थ उत्पादन पनि कोभिड १९ ले गर्दा घट्न थालिसकेको छ जुन कुरा हामी तलको चित्रबाट पनि देख्न सक्छौँ । यसमा १९९५ देखि २०२० सम्मको तथ्यलाई विश्लेषण गरिएको छ ।
स्रोत: अन्तर्राष्टिय मुद्रा कोष
कोभिड १९ एक भयानक महामारी हो, संयुक्त राष्ट्र संघ उद्योग विकास सँस्थाको अनुसार यसले विश्व अर्थव्यवस्थामा माग, आपूर्ति र वित्त व्यवस्थापनलाई प्रत्यक्ष रुपमा असर गर्दछ । मागको कुरा गर्दा घट्दो आम्दानी र भाइरसको बढ्दो प्रकोपको डरले व्यक्तिगत खर्च घटाउने छ । यस्तो बेलामा सरकारी खर्च बढेता पनि छोटो समयको लागि भने कुल खर्च भने नकारात्मक नै हुनेछ । जसले गर्दा आपूर्ति पनि नकारात्मक नै हुनेछ, उत्पादनमा नकारात्मक प्रभाव पार्नेछ जसले गर्दा विश्व बजारमा नै यसले प्रभाव पार्ने देखिन्छ । कच्चा पदार्थको अभावले गर्दा केही उद्दोगहरु बन्द हुने अवस्थामा पुग्नेछन् जसले गर्दा भाइरसले थोरै असर गरेको ठाउँमा पनि यसले प्रत्यक्ष रुपमा असर गर्ने देखिन्छ । यदि यसलाई विश्वले राम्रोसँग ध्यान दिन सकेन भने विश्व वित्तीय बजारमा प्रत्यक्ष रुपमा असर पर्ने कुरालाई नकार्न सकिन्न ।
यो महामारीले अहिले नै अन्तर्राष्टिय लगानीलाई प्रभाव पारिसकेको अवस्था छ । यो महामारीले केही उद्योगहरुलाई टाट नै पल्टाउन पनि सक्ने कुरा भने युनिडोको अध्ययनले देखाएको छ । युनिडोको अनुसार बैदेशिक प्रत्यक्ष लगानी ३० देखि ४० प्रतिशतसम्म घट्ने देखाएको छ जसले अर्थव्यवस्था धरासायी बनाउन सक्छ ।
विश्व बेरोजगारी बढ्ने निश्चित प्राय छ, किनभने माग र आपूर्तिमा प्रभाव पार्ने वित्तिकै यसले रोजगारीमा प्रभाव पार्छ । अन्तराष्ट्यि श्रम संगठन २०२० को रिपोर्ट अनुसार यो कोरोना भाइरसको कारणले स्वास्थ्य अवस्था विग्रेकालाई मात्र होइन युवा श्रमलाई पनि प्रत्यक्ष रुपमा असर गर्नेछ । प्रमुख रुपमा अस्थायी रुपमा काम गर्ने, आफैले कार्य गर्ने र बाहिरी देशबाट आएर कार्य गर्नेहरु प्रत्यक्ष रुपमा मारमा पर्ने देखिन्छ ।
यो महामारीले अहिले नै अन्तर्राष्टिय लगानीलाई प्रभाव पारिसकेको अवस्था छ । यो महामारीले केही उद्योगहरुलाई टाट नै पल्टाउन पनि सक्ने कुरा भने युनिडोको अध्ययनले देखाएको छ । युनिडोको अनुसार बैदेशिक प्रत्यक्ष लगानी ३० देखि ४० प्रतिशतसम्म घट्ने देखाएको छ जसले अर्थव्यवस्था धरासायी बनाउन सक्छ ।
अन्तर्राष्टिय मुद्राकोषका अनुसार कोभिड १९ ले विश्व अर्थतन्त्रलाई मन्दीतिर धकेल्नेछ । २०२० को लागि यसले विश्व अर्थसंकटभन्दा पनि बढी नै असर गर्ने देखिन्छ । विश्वको नै अर्थव्यवस्था उलटपुलट हुनेतिर अन्तर्राष्टिय मुद्राकोषले औँल्याएको छ । विश्वका प्राय सबैजसो देशले लकडाउन गरेको हुनाले कारोवार लगभग ठप्प जस्तै छ ।
अन्तर्राष्टिय मुद्राकोषको अनुसार कोभिड १९ को असर २००८/२००९ के आर्थिक मन्दी भन्दा पनि बढी पर्ने प्रक्षेपण गरेको छ। साथै खुद ग्राहस्थ उत्पादनमा पनि प्राय जसो विकसित मुलुकमा नकारात्मक हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकको अनुसार कोभिड १९ ले १९९८ यताको नै विश्व गरिवी बढाउने प्रक्षेपण गरेको छ । विश्व बैंकले अहिलेसम्मको तथ्यांकलाई मात्र आंकलन गर्दा पनि ४ करोड देखि ६ करोड जनसंख्या अति गरिवीमा धेकेलिने प्रक्षेपण गरेको छ । विश्व बैंकले अहिले तत्कालको तथ्यांक अनुसार भारतमा सबैभन्दा बढी गरिवको संख्या बढ्ने प्रक्षेपण गरेको छ जहाँ १ करोड २० लाख जनसंख्या अति गरिवीको सूचीमा पर्नेछन् भने यस्तै गरेर नाइजेरियामा ५० लाखर कंगोमा २० लाख जनसंख्या अति गरिव हुनेछन् । इण्डोनेसिया, चीन र साउथ अफ्रिकामा भने १० लाख भन्दा बढी जनसंख्या अति गरिव हुनेछन् ।
नेपालमा कोरोनाको प्रभाव
विप्रेषण नेपालको मुख्य आम्दानीको स्रोत हो । विश्व बैंकको अनुसार नेपालको गरिवी घट्दै आउनुमा विप्रेषण नै प्रमुख कारण हो । नेपालले २०१८/२०१९ मा ७८४ बिलियन विप्रेषण प्राप्त गरेको देखिन्छ । भारतबाट मात्रै ९३ बिलियन विप्रेषण देखिन्छ भने जुन साउदी अरेबियाको ८९ बिलियन भन्दा धेरै हो । नेपाल राष्ट्र बैंकका अनुसार लगभग पचास प्रतिशत विप्रेषण गल्फ मुलुकबाट भित्रिने गरेको छ ।
गल्फ मुलुकहरुमा प्रमुख रुपमा विप्रेषणका प्रमुख स्रोतहरुमा कतार, युएइ र साउदी अरेविया पर्छन् । कुवेत र बहराइन पनि नेपाललाई विप्रेषण दिने देशहरुमा पर्दछन् । नेपाल राष्ट बैंकका अनुसार गल्फ मुलुकहरुमा समस्या भएमा नेपालको रेमिट्यान्समा कुनै पनि बेला समस्या पर्न सक्छ । गल्फ मुलुक पछि नेपालमा रेमिट्यान्स प्रदान गर्ने देशहरुमा अमेरिका, जापान र साउथ कोरिया पर्दछन् । यसपछि बेलायत र अष्टेलियाको पनि राम्रो योगदान देखिन्छ । भारतको हिस्सा विप्रेषण योगदानमा दोस्रो स्थानमा आउँछ । नेपाल राष्ट बैंकका अनुसार भारतको अनौपचारिक रुपमा विप्रेषण लगभग ३० प्रतिशतको हाराहारीमा भएको अनुमान गरिएको छ ।
विप्रेषण भित्रिने देशहरु अहिले कोरोनाले गर्दा आक्रान्त भएका छन् जसले गर्दा नेपालीहरुको रोजगारी धेरै हदसम्म गुम्ने निश्चित छ। यसले गर्दा नेपालको रेमिट्यान्समा धक्का लाग्ने निश्चित छ। पर्यटन उद्योग नेपालको प्रमुख उद्योग हो यसले नेपालको अर्थव्यवस्थामा मेरुदण्ड को रुपमा काम गरेको छ । विश्वको १० ठूला हिमाल मध्ये ८ नेपालमा नै रहेको छ । पर्यटन मन्त्रालयका अनुसार २०१९ मा नेपालमा लगभग ११ लाख को हाराहारीमा पर्यटक आएका थिए र नेपालमा आउने पर्यटकहरुमा प्रमुख रुपमा भारत, चीन, अमेरिका बेलायतलगायत देशहरु रहेका छन् । अहिले कोरोना भाइरसको कारणले विश्व नै परिवन्दमा परेको छ र पर्यटन व्यवसाय पनि अस्तव्यस्त भएको छ जसमा २०२० मा मनाउने भनिएको भ्रमण बर्ष समेत रद्द भएको छ, योसँग जोडिएर आएको होटल व्यवसाय पनि अहिले आक्रान्त भएको छ । व्यापार व्यवसाय ठप्प भएको स्थिति छ भने यसले नेपाललाई धेरै नै लामो समयसम्म अप्ठेरोमा पार्ने निश्चित प्राय भइसकेको छ । नेपालभित्र नै २० हजार भन्दा माथिले रोजगारी गुमाउने प्रक्षेपण गरिएको छ भने विदेशमा नेपालीहरुले धेरै मात्रामा रोजगारी गुमाउँदा विप्रेषण घट्नुका साथै रोगजारी गुमाएर लाखौँ जनता नेपाल फर्कदा उनीहरुलाई व्यवस्थापन गर्नु पनि अर्को चुनौती रहेको छ ।
विश्व अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउनको लागि चाल्नुपर्ने कदमहरु
१. सर्वप्रथम सकेसम्म चाँडोभन्दा चाँडो भ्याक्सिन पत्ता लगाउनुपर्ने हुन्छ ।
२. जनतालाई पुग्ने गरी चाहिने स्रोत साधन प्रदान गर्नु ।
३. सरकारबाट पूर्णतया सहयोग र आर्थिक व्यवस्था ठीक गर्नको लागि चाहिएको हदसम्म हस्ताक्षेप गर्नुपर्ने देखिन्छ ।
४. घरायसी, व्यापार तथा वित्तिय व्यवस्था सुधार गर्नुको लागि योजना बनाउनु पर्छ ।
५. नेपाल जस्ता अति कम विकसित देशलाई विश्व वैंक, एसियन डेभलपमेन्ट बैंक, अन्तर्राष्टिय मुद्रा कोष लगायतले विशेष आर्थिक प्याकेज प्रदान गर्नु पर्दछ ।
६. अन्तर्राष्टिय मुद्राकोषका अनुसार निम्नानुसारको आर्थिक योजना बनाउनुपर्ने देखिन्छ ।
(क) ऋणको किस्ता मिनाहा गर्ने, विद्यार्थी ऋण मिनाहा गर्ने ।
(ख) कर मिनाहा गर्ने तथा सामाजिक सुरक्षाको कार्यक्रमबाट सहयोग गर्ने ।
(ग) व्यवसायको ऋणको अवधि बढाउने ।
(घ) केन्द्रीय बैंकबाट सिधारुपमा ऋणको व्यवस्था गर्ने ।
(ड) केन्द्रीय बैंकबाट बैंक तथा वित्तिय सँस्थालाई ऋणको व्यवस्था मिलाउने ।
(च) व्यवसायले सरकारलाई तिर्ने करको आधारमा आर्थिक सुरक्षण गर्ने ।
(राउत वित्तीय विश्लेषक हुन्।)