
झापा– भारतका प्रमुख शहरहरूबाट लुकीछिपी आएका ३६ जना नेपालीलाई दसगजामै प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको छ।
प्रायः दिनहुँ जस्तो साना समूह बनाएर भारतबाट आउने गरेका नेपालीहरुलाई सीमामै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाउने गरेको छ।
भारतबाट फर्किएका ३६ जना नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनले भने, ‘भारतमा रेल सेवा खुलेपछि दिनहुँ मान्छे लुकीछिपी नेपाल प्रवेश गर्न खोज्छन्। हामीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने गरेका छौं।’
कोइरालाका अनुसार उनीहरुको पिसिआर परीक्षणका स्वाब संकलन गरिसकिएको छ। कोरोना भाइरसको संक्रमण नभएको रिपोर्ट आए मात्र घर जान दिइने र केही हप्ता होम क्वारेन्टाइनमा राखिने जानकारी उनले दिए।
ती नेपालीहरू झापाको केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गर्न खोजेका थिए। उनीहरुलाई केचनकवल–२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ।