
काठमाडौं- कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेयता विभिन्न देशले नेपालबाट आफ्ना नागरिकको उद्धार फ्लाइट गरिरहेका छन्।
जर्मनी, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, भारत, नेदरल्यान्ड्स, मलेसिया, चेक गणतन्त्र, दक्षिण कोरिया, श्रीलंका, मालदिभ्सलगायत थुप्रै देशले नेपालबाट उद्धार फ्लाइट गरेका छन्।
त्रिभुवन विमानस्थल अध्यागमनको तथ्यांकअनुसार चैत ११ देखि जेठ १८ सम्म नेपालबाट ८० भन्दा बढी देशका ९ हजार पाँच सय ९९ नागरिक बाहिरिएका छन्। यसमा नेपालकै ३ हजार २ सय ७९ नागरिक छन्।
अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरियालगायत देशले आफ्ना नागरिकसँगै त्यहाँको बसोबासको कागजपत्र भएका नेपालीहरुलाई पनि लगेको थियो।
तथ्यांकअनुसार यसबीचमा अमेरिकाका ८ सय पाँच, बेलायतका ६ सय २८, जापानका ३ सय, जर्मनीका सात सय ५६, फ्रान्सका ६ सय ३, चीनका तीन सय ४७, क्यानडाका २ सय १३, अस्ट्रेलियाका ३ सय ९५, भारतका दुई सय ३, दक्षिण कोरियाका ३ सय ८१ नागरिक स्वदेश फर्किएका छन्।
नेदरल्यान्ड्सका एक सय ९५, रुसका एक सय, स्पेनका ८८, श्रीलंकाका ७८, स्वीडेनका ५६, नर्दन आयरल्यान्डका ९२, पोल्यान्डका ६५, न्युजिल्यान्डका ५४, इटालीका ७४, बेल्जियमका ९६, भुटानका ५१, चिलीका ६० जना नागरिक नेपालबाट गएका छन्।
नेपालले भने हालसम्म विदेशबाट आफ्ना नागरिक उद्धार गरेको छैन। तर एक सातापछि उद्धार गर्ने तयारी गरिरहेको छ।