‘नेपालबाहिर रहेका ८० लाख नेपालीको अभिभावक बनेर हामी काम गर्छौँ’

‘नेपालबाहिर रहेका ८० लाख नेपालीको अभिभावक बनेर हामी काम गर्छौँ’
+
-

काठमाडाैँ- कोरोना भाइरसको महामारीबीच विश्वभर छरिएर रहेका नेपालीहरु समस्या छन्। कोरोना भाइरस संक्रमणको त्रास, अकाल मृत्युको भय, आर्थिक संकट, रोजगारी गुमाउने र भविष्यमा नपाउने चिन्ताले मानसिक समस्या निम्तन सक्नेतर्फ ध्यान दिन सरोकारवालाहरुले आवाज उठाइरहेका छन्।

लकडाउनको लामो समयपछि नेपालले पनि विदेशमा अलपत्र रहेका आफ्ना नागरिक उद्धार गर्ने तयारी गरिरहेको छ। यीनै विषयको सेरोफेरोमा रहेर गैह्र आवासीय नेपाली संघ- एनआरएनएको स्वास्थ्य समिति संयोजक डा सन्जिब सापकोटासँग देशसञ्चारले जुममा कुराकानी गरेको छ। सापकोटा अमेरिकाको स्वास्थ्य मन्त्रालयमा मेडिकल एपिडियोमोलिष्टका रुपमा कार्यरत पनि छन्।

१. कोरोना महामारीको जोखिमबीच विश्वभर छरिएर रहेका नेपालीका लागि एनआरएनएले कसरी काम गरिरहेको छ?

–  यसमा  तीनवटा महत्वपूर्ण कुरा छन्। जो व्यक्तिलाई संक्रमण भएको छैन उसलाई संक्रमण नहोस् भन्नेमा हाम्रो जोडदार फोकस रहेको छ। जो व्यक्तिलाई संक्रमण भएको छ उसलाई चाँडोभन्दा चाँडो निको होस् र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नआओस् र अस्पताल भर्ना भएपनि चाँडोभन्दा चाँडो निको होस् भन्नेमा जोड दिएका छौँ। यसका अलावा संक्रमितलाई सेवा गर्ने स्वास्थ्यकर्मीलाई बचाउने काममा पनि हामी फोकस छौँ। अर्को कुरा यो रोग लागिसकेपछि मान्छे मरिहाल्दैन, निको हुन्छ भनेर मनोबल बढाउने सन्देश दिनु पनि जरुरी छ भनेर काम गरिरहेका छौँ।  ८० भन्दा बढी देशमा रहनु भएका गैह्र आवासीय नेपाली समुदायबीच  १५ हजारको हाराहारीमा संक्रमित हुनुहुन्छ। संक्रमण भएका र नभएका दुवैको मानसिक सन्तुलन कायम राख्न जरुरी छ। लागिहाल्यो भने आँत्तिहाल्नु पर्दैन भनेर हामी परामर्श दिइरहेका छौँ। अहिलेको अवस्थामा मनोबल र मानसिक सन्तुलन ठिक राख्नुपर्छ।  धेरैलाई थाहा छ यो रोगले ८० प्रतिशतलाई हानी गरेको छैन  २० प्रतिशतलाई मात्र समस्यामा पारेको छ। तर केही देशमा नेपालीहरुले आत्महत्यासमेत गरेको दुखद् स्थिति छ।

२. कुनै देशमा रहेका नेपालीलाई कोरोना संक्रमणको समस्या देखियो भने त्यसमा एनआरएनएले कसरी आफ्नो उपस्थिति देखाइरहेको छ ?

– हाम्रा त्यहाँ भएका च्याप्टर र अफिलिएसनहरुलाई सक्रिय बनाएका छौँ। नेपालीहरुलाई निगरानी राख्नुस् भनेका छौँ। माथि भनिएका तीनवटा उपायमा जोड दिएका छौँ। रोग लागेपछि मरिहालिदैन, समयमा ध्यान दियो भने सजिलै निको हुन्छ भनेर फोकस गर्नुस् भनेका छौँ। त्यसबाहेक राहत सामग्रीहरु घर घरमा पुर्‍याएका छौँ। पढ्न आउनु भएका विधार्थीहरुलाई राहत सामग्रीहरु उपलब्ध गराएका छौँ।

जति गरेपनि नपुग्ने अवस्था हो यो। यो यस्तो आगलागी हो एउटा बारुण यन्त्रले पुग्दैन धेरैवटा बारुण यन्त्र चाहिन्छ। जति गरेपनि कमै जस्तो देखिन्छ। तर गर्न चाहीँ छाड्नु हुँदैन। हाम्रो हरेक देशमा नेपाली मुलुकका चिकित्सक छन्। अमेरिकामा मात्र २ हजारभन्दा बढी डाक्टरहरु छन्। बेलायतमा पाँच सयभन्दा बढी छन्। उहाँहरुलाई मोबिलाइज गरेका छौँ। हाम्रा नेपाली दाजुभाईलाई  कुनै पनि किसिमको सम्पर्क चाहिएमा हटलाइनको व्यवस्था गरेका छौँ।

नेपाली काेहीँ त्यहीँका नागरिक छन् कोही गैह्र नागरिक।  तर यो महामारीका बेला कुनैपनि देशले कुन देशको नागरिक भनेर भेदभाव गरेको छैन त्यहाँ भएकाको सरकारले गर्दागर्दै कमीकमजोरी भएको ठाउँमा हामीले सहजिकरण गर्ने हो।

३. जस्तो अवैध रुपमा बसिरहेका र सम्बन्धित देशमा नागरिक सरह हैसियत नभएका नेपालीलाई यो महामारीले कस्तो असर पारिरहेको छ ?

– कोरोना संक्रमण वा विरामी भएको अवस्थामा हरेक सरकारले नागरिक भएपनि गैह्र नागरिक भएपनि भेदभाव गरेको अवस्था छैन। अधिकांश देशले निशुल्क गरेका छन्।  केहीले अत्यन्तै कम मुल्यमा जाँच गरिरहेका छन्।  इमर्जेन्सीमा गयो भने तिमीसँग पैसा छैन, तिम्रो उपचार हुँदैन भन्ने स्थिति देखिएको छैन। बढी समस्या देखिएको बैदेशिक रोजगारीमा पुगेका नेपालीहरु रहेको  मध्यपूर्वमा पनि यो समस्या छैन। विरामीहरुको उपचार भइरहेको छ।

४. विदेशमा रहेका नेपालीहरुमा कोरोना संक्रमण र यसको असरको पछिल्लो स्थिति कस्तो छ ?

– अमेरिका, क्यानडा, बेलायत र युरोपका देशहरुमा संक्रमणदर घट्दो छ। विरामी निको हुने क्रम बढ्दो छ। मध्यपूर्वमा संक्रमण र मृत्युदर विस्तारै बढ्दो छ। जापान, चीन र दक्षिण कोरियामा न्युन छ संक्रमण। दक्षिण कोरियाले निकै राम्रो गरेको छ। अस्ट्रेलियामा निकै कम छ। हालसम्म पाँच हजार पाँच सय ९० जना विदेशमा रहेका नेपाली कोरोना संक्रमणबाट निको भएका छन्। निको हुनेक्रम बढ्दो छ। जुन जुन महादेशमा घटेको छ यो खुसीको कुरा हो तर त्यहाँ ढुक्क हुने अवस्था छैन। सेकेन्ड वेभ आउन सक्ने सम्भावना हुन्छ। सेकेन्ड वेभ भनेको जहाँ घटेको छ त्यहाँ बढ्ने हो। अहिले नलागेको विरामीलााई पछि लाग्यो भने त्यो सेकेन्ड वेभको संकेत हो। त्यसमा उपायहरु अपनाउनुपर्छ।

५. रोजगारी गुमाउने, स्वदेश फर्कनु पर्न सक्ने, मानसिक समस्या बढ्न सक्ने अवस्थालाई एनआरएनएले कसरी हेरिरहेको छ ?

–  महामारीका कारण धेरै देशले समस्यामा परेका मानिसलाई  हेरिरहेको छ। बेरोजगार भत्ता, सहुलियत दिने काम गरिरहेको छ। महामारीबीच पनि धेरै देशमा कामहरु रोकिएको छैन। सावधानी पुर्‍याएर काम गरिरहेका छन्। हामीले समस्यामा परेका समूह छुट्याउनुपर्छ। सबै गैह्र आवासीय नेपालीको अवस्था एउटै छैन। विधार्थीको समूह हो भने उत्तरी गोलार्धमा अहिले गर्मीको विदा छ, अब पढाई सुरु हुने अवस्था छ। अमेरिका, बेलायत, अस्ट्रेलियामा खासै समस्या छैन।

जापान र कोरियामा मानिसहरुले काम गरिरहेकै छन्।  एक महिना अघिसम्म स्वदेश फर्कन चाहनेहरु अहिले नेपालमा बढी रहेका कारण त्यही ठाउँमा बस्न चाहिरहेका छन्। सम्भावित मानसिक समस्याहरुलाई ध्यान दिएर हामीले हटलाइनको व्यवस्था गरेका छौँ। त्यसमार्फत  परामर्श दिन्छौँ। मानसिक समस्या आएको बेला कसरी काम गर्नेबारे निर्देशिका तयार गरेका छौँ। यसलाई हामी हरेक देशमा रहेका शाखाहरुमा पठाउँछौँ।

बेरोजगारी समस्याको समाधानमा एनआरएनए, नेपाल सरकार र सम्बन्धित सरकारले मिलेर काम गर्नुपर्छ। बेरोजगारी र आर्थिक समस्यालाई लिएर वेभिनारहरु गरिरहेका छौँ हरेक सातामा। विभिन्न देशमा भइरहेका छन्। यसले नेपालीहरुका समस्याहरु समाधान गर्न सहयोग गर्छ। हामी नेपालबाहिर भएका नेपालीहरुका लागि अभिभावकको रुपमा काम गर्छौँ भनेर प्रतिबद्धता गरेका छौँ।

६. आजको दिनमा स्वदेश नै फर्कनुपर्ने समूह कति छ ?

– स्वदेश फर्कने चाहने नेपालीको  तथ्यांक अहिले विभिन्न देशमा संकलन भइरहेको छ। अमेरिकामा मात्र अहिलेसम्म एक हजार जना जतिले फारम भरेका छन्। जुन देशमा नेपाली समुदाय ठूलो छ, त्यहाँबाट फर्कने सक्ने संख्या पनि ठूलो हुन्छ। हाम्रो आग्रह के छ भने जो फर्किनैपर्ने अवस्था छ, उहाँहरुलाई फर्काउनुपर्छ। हामले भनेका छौँ- पहिलो कुरा जुन देशमा हुनुहुन्छ त्यहीँ बस्नुस्। यदी नेपाल फर्कनु पर्ने अवस्था हो भने पहिला स्वस्थ हुनुस् अनि मात्र फर्कनुस्।  सरकारले प्राथमिकता र आवश्यकताअनुसार  उद्धार गर्नुपर्छ।

७.  आजको विषम परिस्थितिमा एनआरएनए र नेपाल सरकारले कसरी सहकार्य गर्न सक्छन् ?

– कोरोना भाइरसको महामारी सुरु भएलगत्तै एनआरएनएले नेपाल सरकारलाई  कोरियाबाट मेडिकल सहयोग गरेको थियो। तर यो महामारीमा एनआरएनएसँग कसरी काम गर्न सकिन्छ भनेर न कुनै छलफल गर्न चाहेको छ नत कुनै सुझावहरु मागिएको छ। सरकारले हामीले भनेको सुन्नै पर्छ भन्ने छैन तर एनआरएनएसँग सल्लाह लिएर यस महामारीमा काम गर्नुपर्ने देख्छु।

हाम्रा कुरा र सरकारका कुराबीच सहकार्य हुनुपर्छ। सरकारले हामीसँग समन्वय गर्ने  व्यक्ति तोकेर काम गर्नुपर्छ। नेपाल सरकारले तीन करोड नेपालीको नेतृत्व गरेजस्तै हामी पनि  विदेशमा रहेका ८० लाख नेपालीको नेतृत्व गरिरहेका छौँ। सरकारले हामीलाई नजरअन्दाज नगरोस्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?