
बुटवल – गुल्मीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–१ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन र सोही ठाउँ निवासी रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
अविरल वर्षासँगै आएको पहिरोमा अरु १ जना बेपत्ता छन् भने पहिरोमा च्यापिएर चार जना गम्भीर घाइते भएका छन् ।
बिहीबार राति आएको पहिरोले घरगोठ बगाउँदा १८ महिने बालक पहिरोमा पुरिएको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंगबहादुर खत्रीले जानकारी दिए ।
मृतक बालककी आमा सिर्जना सारु पहिरोले च्यापेर अचेत छन् भने बुबा वसन्त सामान्य घाइते भएका छन् ।
पहिरोले स्थानीय रिखबहादुर खत्रीको घर बगाएको छ ।
पहिरोमा परेर बेपत्ता भएकी उनकी सात वर्षीया अपेक्षाको शव फेला परेको हस्तिचौर स्वास्थ्यचौकी इन्चार्ज समसुल हक मियाँले जानकारी दिए। जिवितै उद्धार गरिएकी उनकी श्रीमती इश्वरा खत्रीको अवस्था गम्भीर छ ।
खत्रीकी हजुरआमा पुतला खत्री, बुबा टीका खत्री र आमा घाइते छन् । घटनास्थलमा हस्तिचौर स्वास्थ्यचौकीका इन्चार्ज समसुलहक मियाँको टोली पुगेर उद्धारको प्रयास जारी राखेको छ। उद्धारका लागि हेलिकोप्टर ल्याउने भनिएपनि मौसमको खराबीका कारण हेलिकोप्टर आउन सकेको छैन ।
त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । वडाध्यक्ष लक्ष्मण खत्रीका अनुसार पहिरोले गाउँ(गाउँबीचकै सम्पर्क बिच्छेद भएको छ । वर्षाका कारण मूलसडकसमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।
क्वारेन्टिन जोखिममा परेपछि ज्यान जोगाउन घर फर्किए ५ जना
इस्मा गाउँपालिका ४ दोहली ढाँडमा रहेको कालिका निमावि पहिरोले भत्काएको छ । क्वाारेन्टिनको रुपमा प्रयोग गरिएको विद्यालय भवन भत्काएको हो । क्वाकरेन्टिनमा बसेका पाँच जना ज्यान जोगाउन आफ्नो घर गएका छन् ।
उनीहरु सबै आरडिटी पोजेटिभ भएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । नौ कोठे भवनमा पहिरोले क्षति पुराएको छ । पिसिआर परिक्षण नगरिएकाले होम क्वाारेन्टिनमा बस्न निर्देशन दिएको वडाध्यक्ष अधिकारीले बताए ।
पहिरो प्रभावितले आश्रय लिएको विद्यालय जोखिममा
असार ६ गते पहिरोका कारण बिस्थापित भएका इस्मा गाउँपालिका रातापानीका बिस्थापित तीन घर परिवार बसेको जनशक्ति प्रावि पहिरोको उच्च जोखिममा परेको छ ।
अहिले ती घर परिवार कहाँ राख्ने भन्नेमा समस्या भएको वडा नं ४ की सदस्य मिना घर्तिले बताइन् । दोहलीकै छोटडाँडामा पहिरोले बसन्ती घर्तिको घर गोठ बगाएको छ ।
मानवीय क्षति नभएपनि घरगोठ भत्किएपछि पशुचौपाया पुरिएका छन् । मिना घर्तिसहित छोटडाँडा र न्वालाका गरेर पाँच घर परिवार बिस्थापित भएका छन् । रातापानीका धन बहादुर घर्तिको गोठसहित बाख्रा बगाएको छ ।