कथा

श्रीमान् लल्लनप्रसाद श्रीवास्तव

श्रीमान् लल्लनप्रसाद श्रीवास्तव
+
-

देश गजार भएको छ । देश अचार भएको छ । जतिपनी सेवामा रहेका कर्मचारी छन् ती सब मर्म बिर्सेर भ्रष्टाचारमा डुबेका छन् । देशको भूभाग बेचेर नेताहरु आफ्नो निजी जग्गाको आकारप्रकार बढाइरहेका छन् । माटो रक्षाको मन्त्र पढ्ने सेना सहनाई बजाएर आर्यघाटमा सुसाइरहेको छ । प्रहरीहरु अविचलन भइ फुल्ली बिसाएर फुल्का खाँदै हि…हि…हा…हा… गरिरहेका छन् ।

व्यापारीहरु ऐनकेन प्रकारेण लोभी डाडुको गहिराइ बढाउने ध्यान्नमा छन् । हरेक व्यापारमा मिसावट छ । खुशीको अण्डकोष देखाउँदै बाख्रीको मासु बेच्ने, बँदेल भन्दै सुँगुर बेच्ने, सेतो चिनी खराब भन्दै रंग पोतेर ब्राउन सुगर बनाउँने, रंग भर्न नपाएका तरकारीलाई होलीको सम्झनामा इन्सुलिनको इन्जेक्सन दिएर रंगिन हराभरा बनाउँनेदेखि तराजुको ढक तोडमोड गरी सिसा पग्लाउँने, अहिलेको कथित डिजिटल यन्त्रलाई तन्त्रबिद्याद्धारा वशमा पार्ने अचुक कला महान् व्यापारिक आत्माहरुसँग छ जसलाई आम उपभोक्ता वा लोकवासीले देख्न सक्दैनन् । उपभोक्ताहरु साहुको जय होस् … जय … भन्दै भक्तिगान गाउँदै खरिद गरिरहेका छन् । चाल नपाएर ठगिइरहेका छन् ।

न्यायालय इलिट–काउच जस्तो भएको छ । सभ्रान्तले खेल्ने म्यारिजपत्ती जस्तो । दिनदुःखी गरीबहरु काटपत्ती वा जुटपत्ती खेलेर थाल घोप्टाइरहेका छन्, थाल ठटाइरहेका छन् । न्यायालयका श्रीमान श्रीमतीहरुलाई पिचकारी समातेका नेताहरुले रंगाका घोला बनाइ बाँसनालीमा भरिरहेका छन्, शत्रु आउला वा सम्भावित शत्रुलाई पत्रु बनाउँन यसको प्रयोग गरौँला भनी गौडा ढुकेर बसिरहेका छन् । श्रीमानश्रीमतीहरु चेस खेलेर हिनहिनाइरहेका छन्। विचरा लोकवासी पिर्कालाई उत्तानो पारेर बाघचाल खेलिरहेकाछन्, बलौटे माटोमा बाख्राचाल खेलिइरहेका छन् ।

कहिँ कतै आसाको डोरी नदेखिएपछि अन्तिम न्यायका लागि सबै लोकवासीले बिर्सिएका आफ्ना पुराना प्रधान न्यायाधीश श्रीमान् ललनप्रशाद श्रीवास्तवलाई सम्झिए । आफ्नो समयमा सनसनी मच्चाएका उनी सेवा निवृतसँगै भिडभाडको दिनचर्याबाट अलग भएका थिए । उनी आजभोलि सहरमा कतै पनि देखिदैनन् । स्थानीय ग्वालाहरु भन्थे, उनले पहाडी जंगलमा सानो गुफा बनाएका छन्, त्यही धुवाँकुटीमा बास गर्छन् । सूर्यध्यानका लागि यदाकदा बाहिर निस्किए पनि त्यसबाहेक उनलाई संसारको कुनै मतलब छैन । उनी के गर्छन्? कसो गर्छन्? सबै कृत्य रहस्यमा बेरिएका छन् । यतिबेला देश संकटमा छ र अन्तिम आशाको रुपमा श्रीमान् श्रीवास्तव देखिएका छन् । उनी निवृत भएपनि उनको निर्णय र न्याय नै अन्तिम हुने र त्यसैले देशलाई उँभो लाउने सबैको ठम्माइ छ । त्राहित्राहि बनेका लोकबासीहरु श्रीवास्तवको कुटीसम्म पुगे र घेरा हालीबसे । जहिल्यै उनी बाहिर निस्केलान् र हामी परेको दुःख बिसाउँला भने ।

करिव हप्तादिनको समयसम्म श्रीमान् श्रीवास्तव बाहिर आएनन् । भित्र गुफामा बसेर उनी के गर्छन् कुरेका लोकबासीको जिज्ञासा बढेर गएको थियो । जसै बिहान झुल्कियो, प्रभाती आभामा उनी लामो दारी जुँगासहित बाहिर आए । चारैतिर लोकबासीको भिड देखेर अचम्ममा परें । सोधे के भयो? किन भयो? कसो भयो? अब के गर्ने?

सबैको एउटै जोड थियो न्यायको कुर्चीमा बसेर न्याय दिनुपर्‍यो र देशलाई बचाउनुपर्‍यो । देश मरणासन्न संकटमा छ तसर्थ देशलाई देशभित्रैका भाइमारा भाइरस र छिमेकी देशको गिद्धे आँखाबाट बचाउनुपर्‍यो।

सबै सुनेपछि, श्रीमान् श्रीवास्तव तयार भए; ‘देशलाइ म चाहिन्छ भने मलाई पनि देश चाहिन्छ, ल हिँड मेरा सहयात्रीहरु !’

अनियमितता र अन्यायका अजंगका फाइलहरु कठघरामा चांग लागेका थिए । ती सबको अध्ययन मनन र न्याय गर्ने काम हुँदै थियो ।

श्रीमान ललनप्रशाद श्रीवास्तव प्रधान न्यायाधीशको कुर्चिमा विराजमान छन् । वकिलका रुपमा पीडित सरोकारवाला लोकवासीका प्रतिनिधि छन् । बोल्नुपर्दा यसै गर्नुपर्छ भन्ने विधान छैन अदालतभित्र । न्यायाधीश श्रीमान श्रीवास्तका छेउमा कुनै पनि किसिमका फाइल वा संविधानका हस्टपुष्ट किताब छैनन् । लोकमान्यता छ, श्रीमान् ललनले देशको संविधान मगजी घानभित्र हुँलेका छन् र घटनाको प्रकृति सुनिसकेपछि उनी धाराउपधारा खोलेरै चाहिनेजति ज्ञानको लोटा भर्छन् र छर्कन्छन् लोकवासीहरु भएको दिशातर्फ । त्यो छर्काइ बलिका लागि पर्सेको तयारी बोका जस्तो हो । अब न्याय पाइनेमा कुनै शंका भएन ।

पहिलो कुरा उठ्यो, तयारी चाउचाउ बेच्ने भारतीय व्यापारीको फाइल । लोक उपभोक्ता मन्चका चम्चा बोल्नलाई उभिए,

‘श्रीमान् यो चौधरी केटो पहिले हाम्रो घरआँगनमा लुगालत्ताको टोकरी बोकेर आउँथ्यो तर आज अचानक मालिक भइ टोपलेको छ । यसको साँठगाठ पत्ता लाउनुपर्‍यो र हामी लोकबासीलाई कमसल खाना खुवाउदै बदलामा मोटो मूल्य असुलेको छ, कमाएको अकुत धन मोजामा लुकाएको छ वा सुरुवालका अदृष्य दुलाहरुमा । यसको पोशाक जफत गरिओस् र हाम्रो स्वास्थ्यको रक्षा होस् । यो भारतीय दलाल हो श्रीमान्, जो लामोसमयदेखि हाम्रो देशमा जरो काटेर बसिरहेको छ । कुहेको कुखुरा, मैदा र पिठो मिस्रित धुलो पाउडर जम्मा गरेर लोकबासीको स्वास्थ्यलाई भच्चाभच भक्षक गरिरहेको छ । चाउचाउ जन्माएर चलाउने थाइ, कोरियन र चिनीयाँहरु शताब्दीयौदेखि मेसिन पेलिइरहेका छन् तर पनि कहिल्यै अकुत सम्पती थुपारेनन् र मिसावट गरेनन् । यो नरभक्षीले अखाद्य तत्व हुलेर कसरी हाम्रो ज्यानमाथि खेल्न सक्यो? र प्रतिकूल स्वास्थ्य दिएर देशको ढुकुटी कुम्ल्यायो ।

श्रीमानले चौधरी केटोलाई कठघरामा ल्याउन आदेश दिए । सोधे;

श्रीमानः ‘के यो साँचो हो तिमीले तयारी चाउचाउमा अखाद्य तत्व हालेका छौं?’

चौधरीः हो श्रीमान् मैले मिसाएको पनि सत्य हो । बढी मुल्य लिएको पनि सत्य हो । मैले तयारी पैसाको बिटो प्रधानमन्त्रीलाई बुझाउनुपर्छ र बचेको पैसा पैतृक सम्पती जम्मा गर्ने साझा थैलीमा भारत पठाउनुपर्छ । मसँग अरु बिकल्प थिएनन् श्रीमान् । मबाट गल्ती भएको हो तर दोषी म मात्र होइन्, अरु पनि छन् ।

श्रीमान्ः त्यसको चिन्ता तिमीले नलेऊ । तिम्रो व्यापारमा तिमी नै मालिक तिमी नै नोकर तर यहाँ तिमीलो अरुलाई मिसायौ । तिम्रो सर्परुपी छद्मभेषलाई मैले खोल्नु नै पर्ने भयो?

श्रीमानले सहयोगी लगाएर चौधरी केटाको पहिरन खोल्न लगाए । उसको सुरुवालबाट कोड अंकित कार्डहरु फेला परे, साँचो फेला परे र केही बिदेशी रकम पनि फेला परे ।

श्रीमानः चौधरी भाइसाब अरुको चिन्ता तिमी नलेऊ, उनीहरुले पनि न्याय पाउनेछन् तिमी जसरी तर अहिले पालो तिम्रो ।

श्रीमान्‌ले केरमेर अक्षरमा केही लेखे र सहयोगीलाई दिए । सायद त्यो चौधरीउपरको न्यायको नोट थियो । अरुले नबुझिने अक्षरमा लेखिएको त्यो नोटलाई सहयोगी अनुवाद गरे र चौधरीको कठाल्नो समाउँदै अदालत बाहिरको ठूलो खरीको बोटमा लिएर गए । चौधरी नांगो थियो, अन्तिम इच्छा के छ भनेर सोधियो । उसले, ‘प्यास लाग्यो भन्यो !’‘अजिनोमोटोले प्यास बढाउँछ !’ जवाफ पायो र उसका निम्ती एक कचौरा तयारी चाउचाउ ल्याइयो । त्यही उसको अन्तिम आहार भयो ।

अदालतको कचहरी अघि बढ्यो । त्यहाँ भिडमा लोकवासीका तर्फबाट अर्का एक जजमान उपस्थित भए र भने,

‘श्रीमान मंगलमान तेल साहुले खोकनाको असली तोरीको तेल हो भन्दै अखाद्य वनस्पति तेल मिलाएर हामीलाई ख्वाएको रहेछ । तेल मिलमा काम गर्ने कामदारका परिवार मरेपछि बल्ल पो रहस्य खुल्यो र लोकमा मरेका ११ हजार घरपरिवारले राहत पाउनुपर्‍यो, न्याय पाउनुपर्‍यो।’

मंगलमान बोल्योः श्रीमान् तोरी फूल कम देखिन थाल्यो मान्छेहरुको वस्ती बढ्न थाल्यो म सँग अरु उपाय पनि केही थिएन र मिसाउन बाध्य भएको हो । अरु केही उपाय भए बिन्ती हजुर, एकचोटीलाई माफ पाऊँ ।

श्रीमानः हजारौँ मृत्युको बदलामा एक माफी घोर अन्याय । मंगलेको सारा सम्पती जफत होस् । उसको परिवारलाई पिडीतहरुको लाइनमा राखेर दामासाहीले आउँने रकम सबै मृतकका परिवारले बाँडिलिनु । यसलाई खरीको रुखको छायाँमा बिश्राम देऊ । मिसाउँदा मिसाउँदा यो तेल साहु निकै थकित भएको जस्तो देख्दछु म ।

हजारौँ मृत्युको बदलामा एक माफी घोर अन्याय । मंगलेको सारा सम्पती जफत होस् । उसको परिवारलाई पिडीतहरुको लाइनमा राखेर दामासाहीले आउँने रकम सबै मृतकका परिवारले बाँडिलिनु । यसलाई खरीको रुखको छायाँमा बिश्राम देऊ । मिसाउँदा मिसाउँदा यो तेल साहु निकै थकित भएको जस्तो देख्दछु म ।

सहयोगीले मंगलमानलाई बाहीर खरीको बोटमा लिएर गए । र, अन्तिम इच्छा सोधे । उसले एकचोटी तेलमिल हेर्ने इच्छा जतायो । मिल घुमाइसकेपछि त्यो क्षेत्र सिल गरियो र तेल साहुले खरीको बोटमा चीरआनन्द लियो ।

इजलास जारी छ ।

लोकप्रतिनिधि: श्रीमान यो शेरसिंह धेरैपल्ट देशको प्रधानमन्त्री भइसकेको । यसले हामी लोकबासीलाई धेरै झुक्याएको रहेछ । जस्तो कि यसले आफ्नो योग्यता ढाँटेको रहlछ । पहाडघरमा जेठी श्रीमती रहेछ र शहर आएपछि अर्काकी श्रीमतीलाई आफ्नो मानेर अरुको सन्तानलाई आफ्नो भनेर देशको कर जम्मै स्वाप्पै पारेको रहेछ । त्यतीमात्र होइन् यसले तालु देखाउँदै, बाउँडेको मुख देखाउँदै, धस्सिएको घुँडा देखाउँदै देशको लागी लड्दैगर्दा शत्रु लागेर डामेको हो भन्थ्यो त्यो पनि झुठो रहेछ । यो त जन्मजात कुँजो रहेछ, लठेब्रो रहेछ, ग्वाँच रहेछ । यसले भारतीयहरुसँग मिलेर असमान सन्धl पनि गरेको रहेछ । गोराहरुसँग मिलेर देशको साँचोको नक्कल बनाइ बुझाएको रहेछ । यो कुरा यसकी जेठी श्रीमतीले र चालकले बताएपछि हामी छर्लगं भयौं । यो देशमारालाई ठिक पार्नुपर्‍यो श्रीमान् ।

श्रीमानः अच्छा यो भइ टोपलेको नेताको यत्रो हिम्मत । नाम शेरसिंह काम स्यालको? के यो साँचो हो ब्वाँसो?

शेरसिंहः हो श्रीमान् पहीली स्वास्नी अर्कैसँग लागेपछि म यता शहर पसेको र यतै बसेको साँचो हो । अपांग मान्छे, केही गर्न नसकेपछि राजनीतिमा लागेको । त्यही बाट मेरो गुजारा चलाएको सत्य हो । देश बेचेको कत्तिपनि होइन तर सम्झौतापत्रमा हस्ताक्षर गर्दा मैले अलि पिएको थिए त्यसैले पढ्न नपाएकोले के लेखिएको छ थाहा नै भएन । गोराले नेपाली ताल्चाबाट प्रभावित भएर कलाको संरक्षरण गर्ने भन्दै यस्तै अर्को सृजना निर्माण गर्ने भनेर साँचो मागेका थिए त्यही भएर दिएको हो । अरु म निर्दोष छु ।

श्रीमानः जमाना अपांगलाई माया गर्ने रहेन अब जब शेरसिंह जस्तो ब्वासाको बास लोकमा रहिरहन्छ । यसको अंगभंग जहाँ जे मिलेको छैन त्यसलाई तन्तु तन्तु मिलाऊ र यसको अस्तुलाई शहरभन्दा टाढा श्रीअन्तुको डाँडोमा लगेर विर्सजन गरिदेओ । त्यसको धुवाँको गन्ध पनि यहाँ फर्कन नसकोस् नत्र बँचेकालाई सत्यानास गर्छ ।

शेरसिंह सहयोगीको पछि लागेर कहाँ गयो, के भयो कसैलाई थाहा भएन । साँचो कुरा ऊ कहिल्यै देशमा देखिएन ।

अर्को प्रतिनिधि उभियो र बोल्योः

‘श्रीमान यो खड्कुले बाहुन । पाँचकक्षाको जिल्लास्तरीय परीक्षामा बसेका बेला नजिकको साथीले कपि सार्न दिएन भनेर झगडा गरेको र शिक्षकमाथि हातपात गरेको कसुरमा बिद्यालयबाट निस्काशित भएको रहेछ । सानो मान्छे खानुपर्ने धेरै, उपाय भर्न अरुका बारीमा काँक्रा केरा चोर्दै जाँदा पछि घर फोर्न थालेछ र गाउँलेले पाता फर्काएका रहेछन् । केही समय जेलमा लगेर पनि कोचेछन् तर केटो जवान छ, सुध्रेला भनेर छाडिदिएको त्यसपछि यो भागेर भारततिर लागेको रहेछ । त्यहाँ पनि पाण्डाहरुले थला पर्ने गरी हिर्काएपछि फेरि नेपाल फर्केर राजनीतिमा लाग्न भ्याएकोरहेछ । यसको इतिहास हामीलाई थाहा थिएन तर अहिले देशमा धेरैपल्ट प्रधानमन्त्री भइएपछि यसको भुँडी ठुलो देखिदै आयो र यसका कर्तुतहरु देखिन थाले । श्रीमान् यसले हामीलाई देशको सेवाको लागि जेल परेको हो भन्थ्यो तर मुर्दार भोकले थला पर्ने अवस्था आएपछि जेल पसेको रहेछ । राजनीति यसको ढाल बनेछ र त्यसलाई ढोल बनाउँदै परदेशिसिएका, परलोकमा बसेका पतिहरु पत्नी पहिल्याउँदै तर्साउने गरेको रहेछ र भुत भगाउँछु भन्दै, निःसन्तान चैट हुन्छ भन्दै छिल्लिने गर्दोरहेछ । एकदिन परदेशी पति घर आएको मौका पर्‍यो र यो खड्कुले बाहुन समातिएपछि सबै पोल खुल्न पुग्यो । समस्या एउटा घरको होइन यसले त सारा टोल नै सखाप पारेको रहेछ । यसलाई कडाभन्दा कडा सजायँ दिइओस् र सम्माननीय भुपु प्रधानमन्त्रीको पद र सुविधाबाट च्युत गरिओस् ।’

श्रीमानः ए खड्के के गरेको यो? मलाई प्रधान न्यायाधीशको सपथ ख्वाउने मान्छेले अहिले तँलाई नै न्याय दिनुपर्ने बेला आयो । घोर कलियुग । यसको भुँडीको चिरफार गरीओस् र यसलाई सद्गत् नगरीकन यसको शरिरलाई बरफघरमा राखीओस् ताकी आउँने कालसम्म यस्तो कुकृत्य गर्ने आँट कोही माइकालालमा नआवोस् । यसको सम्पती जफत गरेर बिधवाहरुलाई बाँडिदेउ जो–जो सँग यसको सहवास भएको थियो ।

खड्कुलो बाहुनः श्रीमान् यो त घोर अन्याय भयो । बरफघरको म्युजियममा जानु पहिले एकचोटी म सर्वाधीक रुचाइएकी मत्स्यकन्यासँग दर्शनभेटका लागि जान चाहन्छु । हैन भने किन कुर्ने म यहीँ आत्महत्या गर्दिन्छु ।

श्रीमानः ल ल लिएर जाऊ यो मनुवालाई । यसको अन्तिम कुइच्छा पनि पुरा गरिदेऊ । गान्धीको नेपाली रुप हो यो । मान्छे कालो, मनपनि कालो रहेछ, सबैलाई हेक्का होस् म रंगभेदी मान्छे होइन तर समयले बोल्न लगायो ।

न्यायमूर्तिका सामु सुनुवाई चलिरहेको थियो । यस्तैमा तिब्बती लामाको नाइके आएर भन्यो,

‘श्रीमान हामी त मरिगयो । चीनले खर्लप्पै निल्न थाल्यो । अरु त ल्याउन सकेनौँ सुन चाही बोकेर ल्याएका छौ । हामीलाई बसोबास दिनुपर्‍यो। ओम माने पेमे होम्, बुद्धको जन्मदेशमा शरण नपाए हामी कहाँ जाम्?’

बिचमा अरु कोही बोल्यो, स्थानीय रहेछ,

‘श्रीमान् ! यिनीहरु बुद्धको नाममा मासु खान्छन् । मैथुनमा उत्रन्छन् । तेस्रो लिंगीको हितमा घोप्टन्छन् । चौथो लिंगीको अधिकारका लागी लम्पसार पर्छन् । बुद्धधर्मको नाममा राजनीति गर्छन् । यिनीहरुलाई शरण दिँदा होस पुर्‍याउनुपर्छ ।

श्रीमानः कुरा बुझे मैले । यिनीहरुको सुन जफत गरीओस् र देशको ढुकुटीमा दाखीला गरीओस् । ज–जसले मासु खान्छन् तिनको लामा पद खारेज हुन्छ । यिनीहरुको नाइके लामा जो राजनीति गर्छ निजलाई नौ डाँडा कटाउँनु । अन्य लामा परिवारको हकमा जो शिल नियममा बस्छन् तीनिहरु स्वतन्त्र बुद्धमन्त्र पढ्न सक्नेछन् । कुनैपनि किसीमको अप्राकृतीक मैथुन यो देशमा वर्जित छ, अन्यथा तिन्को लिंग छेदन गरीनेछ र घाट–सेवामा पशुपतीमा पठाइनेछ । अप्प दिप्पो भवः ।

अर्को एकजना चिनियाँ दुत रहेछ, लोकबासीलाई पन्छाएर त्यो पो उभियो आफ्नो कुरा राख्नलाई,

‘श्रीमान् चोमोलोग्मा हाम्रो भूभागमा पर्छ तर नेपालले बर्षौदेखि कब्जा जमाएको छ । हाम्रो आधा हिस्सा हामीलाई मान्य छैन । तसर्थ चीन सरकार चाहन्छ, यसको पुरा हिस्सा हाम्रो होस् ।’

श्रीमानः ओ हो कुरा गम्भिर आएकोछ । यो प्रकृतीको उपहार हो । के तेरो के मेरो । इतिहासमा हामीले थाहा पाएदेखि त्यही खडा छ तेरो चोमोलोग्मा र मेरो सगरमाथा अनि गोरेहरुको माउण्ट एभरेष्ट । यदि त्यसो हो भने, तेरो सरकारले बम बारुदको प्रयोगभन्दा पहिले नै यसलाई पूर्णरुपमा ध्वस्त बनाइओस् र ग्राउण्ड जिरोमा ल्याइओस् । युद्धमा परेर असमयमै जीवनाहुति दिनुपहिले अहिले नै त्यसलाई सम्म मैदान बनाएर दुबै देशवासीको कदर होस् । प्रवृधीको ध्वाँसमा प्रकृतीमाथि दोहोन गर्ने धम्की हामीलाई सह्य छैन, भन्दे तेरो चिनिया टर्रो शासकलाई । युद्ध समाप्त भयो उर्दी ठोक्दे ।

बाँडफाडबिनाको संसार कस्तो होला? कल्पना गरौँ त? नक्सा बिनाको भूगोलमा को सानो को ठूलो ? हामी सबै बराबर । हामीहरु सेतो रंगको सडकमा सेतो पाग्रा भएको मोटरमा गुडेर रंगभेदी आन्दोलनलाई थाम्न सक्दैनौ न त पासपोर्टको रंगको आधारमा को एलियन? को सम्पन्न देशको सम्पन्न नागरिक? भनेर जाच्न छोड्छौ त्यसमा पनि हेरफेर गर्नुपर्छ । सबैको पासपोर्टको रंग मोक्षको रंग सुन्तला हुनुपर्छ, वा हरियो हुनुपर्छ वा आकाशको रंग झै निलो हुनुपर्छ तर परिचयपत्रको नाममा मात्र।

फेरि अर्को लोकवासी आफ्नो कुरा राख्न अगाडि सर्‍यो,

‘श्रीमान्, म मधेषी, यानेकी सक्कली मधेषी । पहाडेले लाउने गरेको आरोपीत म दुइ देशको नागरिकतावाल होइन । म नेपाली मधेषी । सीमाको रक्षक मधेषी । धर्तिपुत्र हामीलाई भारतीयले मिच्यो, पेल्यो र बस्नै नसक्ने बनायो । न्याय पाऊँ श्रीमान् ।’

श्रीमानः यो समस्या एकहल हू कि अरु कोही छ यस्तै प्रकृतिको? सीमा समस्या वा भारतको पेलानबाट पिना बन्नुभएका देशवासीहरु हो कोही छ भने हाजिर हुनुहोस् र आफ्नो तेल निकाल्नुस् ।

एकजना बोल्योः म मेचीनगरको, हामीलाई पनि त्यही समस्या छ । सीमानको पिलर उखेल्दै बारुद भरिरहेछ भारत । एकदम गाह्रो भयो बाँच्न हामीलाई । दया होस्, कृपा होस् हामीलाई ।

श्रीमानः कुरा बुझे मैले । यो नाथे भारत जन्मेको स्वर्णगाढ भएको छैन, नेपालको भूमि मिच्ने अनि नेपालीलाई पेल्ने । ए भाते भारतीयहरु हो, भन्देऊ तिमीहरुको नेतालाई तिमीहरुले आर्ज्याको स्वतन्त्रताका लागि नेपालीले पनि मद्दत गरेका थिए, सोध तिमीहरुका अनपढ गवाँर नेताहरुलाई जो विपद्मा ज्यान जोगाउँन नेपाल छिरेका थिए । तिमीहरुको मालिक बेलायत डराएको थियो हामीसित युद्ध गर्न, तिमीहरुको ताजा दुश्मन चीन डराएको थियो नेपालसँग भिड्न अहिले आकार हात्ती भयो भन्दैमा अर्काको खेतबारीमा लम्कनखोज्ने तिमीहरु नबिर्स एउटा कमिलाले भुडी फर्काउछ तिमीहरुको । यस देशको सरकारलाई मेरो ठाडो आदेश–मुलुकभन्दा ठूलो अरु केही कुरा हुनसक्दैन । मुलुकवासीको हितभन्दा अर्को कुनै कर्म छैन तसर्थ जबसम्म भारतमा भिखारीहरु निर्मुल हुँदैनन् तबसम्म सदाको लागि सीमामा पहिलो चरणमा काँडे तार लगाऊ, त्यसपछि पर्खाल लगाउ, त्यसपछि आठ लेनको मेचीमहाकाली राजमार्ग बनाऊ, यसैमा हाम्रो सीमारक्षा र विकास सम्भव छ । मार्गको पारिपट्टी प्रहरी खटाऊ, भित्रपट्टी सेना सजाऊ, हरेक नाकामा छिर्ने नेपाल भारतीयको रेकर्ड राख्, भारत जाने नेपालीको हिसाब राख्, चारैतिर सुरक्षाजडित क्यामेरा लगाऊ । भारतबाट आउने सबै किसीमको आयात बन्द गर । नेपाली सीमामा वा भूमिमा भारतीय मुद्रालाई खारेज गर । दुईदेशको सीमामा हाट बजार वा मेला राख र आआफ्ना उत्पादन बेच तर मुनाफा उद्देश्यले असली किसान ठग्ने, ठूलो मात्रामा यताउति गर्नेलाई १९ कोर्रा लगाऊ र निगरानीमा राख यसैमा सबको कल्याण छ । आउजाउ गर्ने झोली बोकेका जोगीलाई निर्वाध मार्गप्रशस्त गरिदेउ तर झोला लिएर वारपार गर्नेलाई नछोड । सबको नाडी छामेर घात अघात पत्ता लगाइमात्र स्वतन्त्र छोड र शन्ति कायम राखीराख । नेपालको जय होस् यसमा भारतको पनि जय नै देख्छु ।

गज्जबको न्याय बोलिरहेको लोकमाझ । सबैजना खुशीले गद्गद् भएका छन् । देशदेखि विदेशसम्म फैलेको छ हाम्रो न्यायमुर्तिको यश र निस्पक्ष न्यायका पखेटाले पर्दा खोलेर संसार सयर गरेका छन्। श्रीमान् लल्लनको सुवास दुरदराजसम्म फैलिएको छ । मुल जरो मधेष भनेपनि आफैले भने आफ्नो थातथलो जरोको बारेमा बोल्दा श्रीमान् भन्छन्, मेरो मुलथलो पृथ्बी हो । मेरो ठेगानामा पत्रहरु पठाउँदा ऐजन ऐजन ठेगाना लेखिरह आवश्यकता छैन ।

कोही बोल्यो । सायद भरिकोठामा न्याय माग्न आएको कोही पीडित हुनुपर्छ । उसको आवाज पहिले उठ्यो पछि शरिर उठ्यो । बोल्योः श्रीमान् नागरीकताको सवाल साह्रै गाह्रो भएको छ, करको लागि सरकार कचकच गरिरहेको छ । यसमा श्रीमान‌‌‌को के विचार छ? म न्याय माग्न आएको होइन श्रीमान्‌को तीक्ष्णता जान्न बुझ्न आएको हो !

श्रीमानः मनुवा तिमी मेरो तराजु ? वा रे वा ? ठिक छ सुन मेरो राय;

नागरिकता अब झुर कुरा भइसक्यो । न यहाँ बंशको कुरा स्पष्ट छ न यहाँ कथित अमेरीकी जेनेटिक रिपोर्ट सही भन्छ । सबका सब मूर्खहरु काल्पनिक नासो देखाएर नासामार्फत संसारलाई तर्साइरहेकाछन् तर आफै धामीबोक्सीमाथि विश्वास गरेर कुमारी मेरीका सन्तानलाई पूजा गर्छन । विश्व नागरीकको मतमा जानुपर्छ । सबै देशको सिमाकंन सिसाकलमले लेखेको जस्तो हुनुपर्छ र इरेजरले मेटाउनुपर्छ । बाँडफाडबिनाको संसार कस्तो होला? कल्पना गरौँ त? नक्सा बिनाको भूगोलमा को सानो को ठूलो ? हामी सबै बराबर । हामीहरु सेतो रंगको सडकमा सेतो पाग्रा भएको मोटरमा गुडेर रंगभेदी आन्दोलनलाई थाम्न सक्दैनौ न त पासपोर्टको रंगको आधारमा को एलियन? को सम्पन्न देशको सम्पन्न नागरिक? भनेर जाच्न छोड्छौ त्यसमा पनि हेरफेर गर्नुपर्छ । सबैको पासपोर्टको रंग मोक्षको रंग सुन्तला हुनुपर्छ, वा हरियो हुनुपर्छ वा आकाशको रंग झै निलो हुनुपर्छ तर परिचयपत्रको नाममा मात्र । पास फेलको मान्यता कोकोउने पिडालुको जरामै अमिलो खन्याएर नास गर्नुपर्छ र शान्तिसँग बस्नुपर्दछ । करको कुरा आयो, समाजले देशले कर लाउछ, तर समाज वा देश जनताप्रति उत्तरदायी छैन भने तिर्नैपर्छ भन्ने बाध्यता पनि छैन । स्वाभाविकरुपमा बाँच्ने र बाँच्न दिने विवेक हामी सबैले बचाइराख्नुपर्दछ ।

अविरल सुनुवाइपछि श्रीमान् लल्लनप्रशाद श्रीवास्तव मौनमा गए । अदालतमा उनको लागी गतिलो गुफा निर्माण गरियो र फेरि जंगलबास नहोस भनि जंगललाई नगरमै निमन्त्रण दिइयो । केही फूलका बोट, केही बटबृक्षहरु रोपिए र अत्तरझार पनि फलाइयो । राज्यमा न्याय नमरोस् भनी अदालतको परिसरमा अजम्मरी झार रोपियो, सिमसारकिनारमा फुलेक निला फूलको दृष्यलाई तलाउमा फुलेका कमलले हेरिरहे । सकल सौन्द्रर्य देखी सारा लोकबासी तिरोहित भइरहे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?