
थिम्पु- बौद्ध धर्ममा आस्था राख्ने ३३ देशका प्रतिनिधिहरु भुटानको राजधानी थिम्पुमा भेला भएका छन्। ‘बज्रायन’ सम्मेलनमा उनीहरु तीन चार दिनसम्म भुटानमा रहने छन्।
बौद्ध धर्म अन्तर्गत ‘बज्रायन’ अत्यन्त कठिन साधनाको रुपमा लिइन्छ। उक्त साधनामा केही कमी भएको खण्डमा त्यस्ले नकारात्मक असर गर्ने बौद्ध धर्मावलम्बीहरु बताउँछन्। भुटानले सोही साधनामा बौद्धमार्गीहरुलाई आकर्षित गर्न बज्रायन सम्मेलनको आयोजना गरेको हो।
उक्त सम्मेलनको उद्घाटन मंगलबार भुटानका प्रधानमन्त्री छिरिङ तोप्गेले गरेका थिए।उक्त सम्मेलनमा बुधबारबाट विभिन्न वक्ताहरुले बज्रायन साधनाका पक्षबारे प्रकाश पारिरहेका छन्।
सम्मेलनमा बोल्दै भुटानका बौद्ध धर्म गुरु साम्तेन दोर्जीले अहिलेको बढ्दो मानसिक त्रास तथा अशान्तिमा बज्रायनले मानिसलाई शान्ति दिलाउने बताए।
अन्तर्राष्ट्रिय बौद्ध कन्फिडरेसन भारतका महासचिव डा. धम्मपियाले बज्रायन साधना बौद्ध धर्मको अविच्छिन्न अंग भएको बताए।
उक्त सम्मेलनमा भारत, नेपाल, चीन, मलेसिया, कोरिया, अमेरिका, क्यानाडा, जापान लगायत मुलुकहरुबाट प्रतिनिधिहरु आएका छन्।
तस्बिरहरु- उमाकान्त खनाल/देश सञ्चार