
बुटवल– परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले भारतसँग सार्वभौम मुलुकका हिसाबले समानतासहितको सम्बन्ध चाहेको बताएका छन्। उनले सिमानाको विषयमा आफूहरुले असल छिमेकीका नाताले दुई/दुई पटक कूटनीतिक पहल र आग्रह गर्दापनि भारतको तर्फबाट चासो नदेखाएको बताए।
‘भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन बरु सडक विस्तार भयो’, उनले भने, ‘राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभूतपूर्व एकता गरी नक्सा पारित गर्यौँ।’
सबै दल र जनताको सहयोगमा कूटनीतिक पहलमार्फत नक्सामा कायम भएको भू–भाग फर्काउन प्रयत्न गर्ने ज्ञवालीले बताए।
गृहजिल्ला गुल्मी आएका परराष्ट्र मन्त्री ज्ञवालीले नेकपा पार्टी कार्यालय गुल्मीमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए।
शनिबार बिहान फेसबुकमा लामो स्टाटस लेखेर पार्टीका शीर्ष नेताहरुलाई एकजुट हुन अपील गरेका उनले नेकपा घरको धुरीखाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने बताए। ज्ञवालीले कोरोना भाइरसका कारण भएको क्षति र छिमेकको समस्या समाधानको पहलको सट्टा अहिलेले आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए।
‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो’, उनले भने, ‘आग्रह र उत्तेजनामा आएर एकता जगमा प्रहार भत्काउन पाइँदैन।’
पीसीआर मेसिन हस्तान्तरण
परराष्ट्र मन्त्री ज्ञवालीले शनिबार कोरोना परीक्षण गर्ने पिसिआर मेसिन रेसुंगा नगरपालिकालाई हस्तान्तरण गरेका छन्।
ज्ञवाली आफै हेलिकप्टरमार्फत मेसिन लिएर जिल्ला आएका थिए। उनले जिल्ला विपद व्यवस्थापन समितिमार्फत रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरेका हुन्।
मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले पिसिआर मेसिन सहयोग गरेको हो। संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।
मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिति नभएको बताए। उनले स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड विरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताए। साथै सबैभन्दा खराब स्थिति अझै बाँकी भएकाले त्यसको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए।
उनले विज्ञबाट अझै पनि संक्रमणको धेरै खाले संकेतहरु आएकाले सरकारले देशमा विभिन्न स्थानमा ल्याव सञ्चालन गरिरहेको बताउँदै अहिले आएको मेसिनको उपयोगिता पनि त्यत्तिकै रहेको बताए।
‘अहिले मेसिनको खर्चको कुरा नगरौँ, मानव जीवनभन्दा खर्च ठुलो होइन’, उनले भने, ‘सबैको सहयोगमा तुरुन्त ल्याव सञ्चालन गर्नुपर्यो।’