
झापा – झापाको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी र नेपाल प्रवेश गर्न चाहने समूहबिच झडपको अवस्था सिर्जना भएको छ ।
४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरु झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका थिए ।
उनीहरुलाई रोक्नेका लागि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी गएपछि तनावको अवस्था आएको थियो । अवैध रुपमा पस्न खोजेका उनीहरु सशस्त्र प्रहरीमाथि जाइलागेका थिए ।
त्यसक्रममा सशस्त्रका केही पोशाक च्यातिएको छ । सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
यसअघि लकडाउनकै अवधिमा कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।