लक्षण देखिँदा पनि अस्पतालले जाँच्न मानेन, शुल्क तिरेर जाँच्दा कोरोना ‘पोजिटिभ’

लक्षण देखिँदा पनि अस्पतालले जाँच्न मानेन, शुल्क तिरेर जाँच्दा कोरोना ‘पोजिटिभ’
+
-

बुटवल- फेब्रुअरीमा योग सिक्न भारतको बेंगलोर गएका बुटवलका सागर ढकाल कोभिड १९ को महामारीले लकडाउन भएपछि उतै रोकिएका थिए। साथीसँगै बसिरहेका उनी र उनका साथी नेपाल फर्किन चाहन्थे। उनीहरुसँग रहेको सानो बच्चाका कारण उनीहरु नेपाल आउन हिम्मत गरिरहेका थिएनन्।

सागरका साथी परिवारसहित उतै थिए। साथीलाई एक्कासी ज्वरो आयो। घाँटी दुख्ने, १०३–१०४ डिग्रीसम्म ज्वरो आएपछि उनीहरु कोरोना भाइरसको संक्रमण भयो कि भनेर डराए।

उनीहरु बसिरहेकै घरको नजिकै २ जनाको कोरोना भाइरस संक्रमणले गलाएपछि मृत्यु भएको थियो। यसैले पनि उनीहरु त्रसित थिए। नेपाल आउनका लागि हिँडेकाहरुको मृत्यु भएको खबर पनि उनीहरुले सुनेका थिए। तर, उनीहरुसँग नेपाल आउनुको विकल्प थिएन।

‘हामीलाई भाषाको पनि समस्या भयो,’ सागर ढकाल भन्छन्–त्यसपछि हामीले फर्किने निधो गर्‍यौं।’ सागर, साथी, साथीकी श्रीमती र छोरीसहित ४ जना बेंगलोरबाट दिल्ली, दिल्लीबाट गोरखपुर आए। यतिन्जेल पनि सागरका साथीलाई हनहनी ज्वरो आइरहेको थियो।

असार २६ मा उनीहरु गोरखपुरबाट एम्बुलेन्समा बुटवल आइपुगे। बुटवल आइसकेपछि उनीहरु लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा गए।

‘हामीले हाम्रो सबै विवरण, स्वास्थ्य अवस्था र कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने आधारहरु बतायौं–ढकाल भन्छन्–हामीहरु हाम्रो स्वाब लिइयोस् र परीक्षण गरियोस् भन्ने चाहन्थ्यौं, किनभने हामी संक्रमित भएको भए अरुमा नफैलियोस् भन्ने हाम्रो चाहना थियो, यही सोचेर आफै अस्पताल पुगेका थियौं।’

कोरोना भाइरसको संक्रमण हुनसक्ने शंकाहरु बताएपनि उनीहरुलाई अस्पतालले वास्ता गरेन। फिभर क्लिनिकमा रहेका चिकित्सक उनीहरुको परीक्षण गर्न राजी भएनन्। ‘हामीहरु मास्क, पन्जा लगाएर पूरा सुरक्षित हुने गरी अस्पताल गएका थियौं, उनले भने–तर त्यहाँ जाँच गर्न बस्नुभएका चिकित्सकहरुले पन्जा नलगाई बस्नुभएको थियो, कुनै सुरक्षाको उपाय अपनाउनुभएको थिएन, हामी त्यो अवस्था देखेर पनि अचम्म पर्‍यौं।’

उनीहरुको स्वास्थ्यजाँच भएन। उनीहरु फर्किएर घर गए। नजिकको मेडिकलमा जाँच गराए। मेडिकलका स्वास्थ्यकर्मीले रगत परीक्षण गर्नुपर्ने बताए। रगत परीक्षणमा टाइफाईड भएको खुल्यो। ‘रगत परीक्षणमा टाइफाइड भएको खुलेपछि हामी अब त कोरोना छैन भन्नेमा ढुक्कजस्तै भयौं, ढकाल भन्छन्–त्यसपछि हामी बुटवलका केही ठाउँमा गयौं, सुरक्षितसाथ केही कामहरु गर्‍यौं।’

सागर ढकाल

यत्तिकैमा साथीलाई काठमाडौं जानुपर्ने भयो। त्यसपछि उनीहरु फेरि लुम्बिनी प्रादेशिक अस्पताल पुगे। ‘हामीले शुल्क तिरेरै परीक्षण गर्छौं भनेर गएका थियौं, उनले भने–शुल्क तिरेर साथीको पीसीआर परीक्षण गर्‍यौं, परीक्षणमा रिपोर्ट पोजेटिभ आयो।’

उनीहरु त्रसित भए। यतिन्जेल कोरोना भाइरस संक्रमण छैन भन्दै ढुक्क भएका उनीहरु एकाएक तनाबमा परे। ‘तत्काल हामी जहाँ जहाँ गएका थियौं, सबैलाई आइसोलेशन बस्न भन्यौं, ढकाल भन्छन्–साथीको रिपोर्ट पोजेटिभ आएपछि अब त ट्रेसिङमा आउँछन् होला भनेका थियौं, तर कोही पनि आएनन्।’

उनीहरु आफैँ अस्पताल गए। अस्पताल गएर आफूसँगैका साथीलाई कोरोना संक्रमण भएकाले पीसीआर परीक्षण गराउनुपर्ने कुरा सुनाए। अस्पतालको फिभर क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले घर जान आग्रह गरे।

‘घर गएर बस्नुस्’ भन्नुभयो, हाम्रो परीक्षण गर्न चाहनुभएन, उनी भन्छन्–हाम्रो त कुरा सुन्नै चाहनुभएन, वेवास्ता गर्नुभयो, हामीलाई कोरोना संक्रमण भएको भए अरुलाई पनि फैलिन सक्छ भनेर जानकारी दिएर सुरक्षित उपायको खोजी गर्ने ठाउँमा गएको त गाली पनि गर्नुभयो।’

उनीहरु त्यहीँ करीब १ घण्टा धर्ना दिएर बसे। त्यसपछि ढकालको स्वाब लिइयो। उनको रिपोर्ट नेगेटिभ आएको छ। ढकालसहित उनको परिवार, साथीकी श्रीमती र बच्चासहित उनीहरु सम्पर्कमा गएका सबै सेल्फ आइसोलेशनमा छन्।

‘हामी हाम्रा लागि मात्रै सुरक्षित बनाइदिनुस् भन्न गएका थिएनौं, ढकाल भन्छन्–हामी कोरोना भाइरसको हटस्पटबाट आएका हौं, हाम्रा कारणले अरुलाई समस्या नपरोस्, यहाँ कोरोना नफैलियोस् भनेरै अस्पताल गएका थियौं, तर हामीलाई त हेपेर गाली गर्ने काम भयो।’

सरकारीस्तरबाटै पीसीआर परीक्षणमा आलटाल गरिरहेका घटनाहरु बाहिर आउँदा यो घटनाक्रमबारे लुम्बिनी प्रादेशिक अस्पतालको प्रशासन बेखबर जस्तै छ। फिभर क्लिनिकमा खटिएका स्वास्थ्यकर्मीले पनि यो घटनाको वास्तविक विवरण जानकारी नगराएको लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतम बताउँछन्।

‘शुल्क तिरेर पीसीआर परीक्षण गराउने एकजनाको रिपोर्ट पोजेटिभ आएको भन्ने जानकारी आएको थियो, उनले भने–त्यसभन्दा अरु विवरणहरुबारे जानकारी पाएको छैन।’उनले यसबारे फिभर क्लिनिकमा रहने स्वास्थ्यकर्मीसँग जानकारी लिने र क्लिनिकमा आएका बिरामी र परीक्षण गराउन आउनेहरुको विवरण लिने व्यवस्था मिलाउने र ट्रेसिङबारे पनि चासो दिन लगाउने बताए।

उनले अस्पतालमा आउने बिरामीहरुको चाहनामा मात्रै पीसीआर परीक्षण हुन नसक्ने बताए। ‘बिरामीको अवस्था र विवरण हेरेर चिकित्सकको सिफारिशमा मात्रै परीक्षण हुन्छ, उनले भने–केही सरकारी कार्यालयहरुको अनुरोध र अत्यावश्यक भनेर आएको अवस्थामा मात्रै परीक्षण भइरहेको छ।’

प्रादेशिक अस्पतालले असार १६ मा पीसीआर परीक्षण गर्ने मेशिन राखेदेखि सोमबारसम्ममा करीब १ सय जनाको स्वाब लिएर परीक्षण भएको उनले बताए। त्यसमध्ये शुल्क तिरेर परीक्षण गर्ने एकजनाको मात्रै रिपोर्ट पोजेटिभ आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष