
बुटवल – लगातारको वर्षाले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेको छ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौँ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
राजमार्गका दर्जनौँ स्थानमा खसेका पहिरो पन्छाउन दिनभर लाग्नसक्ने पाल्पाका प्रहरी उपरीक्षक दीपक खरेलले बताए।
राजमार्गको सिद्धबाबा मन्दिर आसपासमा खहरे खोलाले ल्याएका ढुंगा सडकभर थुप्रिएका छन् । माथिल्लो सिद्धबाबा मन्दिरको तल्लो भागमा रहेको धर्मशाला, मन्दिरको छेउमै खहरे खोलामा आएको बाढीले ढुंगा थुपारेको पुजारी लक्ष्मीपति सापकोटाले जानकारी दिए।
सडकभर ढुंगा थुप्रिएकाले सो ठाउँमा पनि आवतजावतमा कठिनाई छ । यहाँ मानवीय क्षति भने भएको छैन।
यस्तै तानसेनदेखि गुल्मी जाने सडक, तानसेनदेखि स्याङ्जा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेर अवरुद्ध भएका छन्।
तानसेनबाट रानीमहल जाने सडक, रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्गको दोभान बजार नजिकका ६ घर जोखिममा परेका छन्। दोभान प्रहरी चौकीका अनुसार स्थानीय सीता कुंवर, दोभान कृषि सहकारी र तिनाउ सब–डिभिजन कार्यालय, बुद्धबहादुर बस्नेत, राजबहादुर श्रेष्ठलगायतका घर जोखिममा परेका हुन्।
वर्षा रोकिनासाथ राजमार्ग क्षेत्रका पहिरो पन्छाउन शुरु गरिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । सुरक्षाकर्मी, सडक डिभिजनको समन्वयमा राजमार्गमा सवारी साधन सुचारु गर्न काममा खटिइसकेको उनले बताए।
भारी वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेकाले तत्काल सडक सुचारु गर्न कठिन हुने प्रहरीले बताएको छ।
मौसम विभागले प्रदेश ५ मा भारी वर्षा हुने बताएकाले सिद्धार्थ राजमार्गमा कतिबेला कहाँ पहिरो खसेर बन्द हुन्छ भन्ने अनुमान पनि गर्न नसकिने प्रहरीको भनाई छ।
प्रहरीले बुटवलतानसेन सडकमा सकेसम्म यात्रा नगर्न सुझाव दिएको छ।