
झापा- नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीमा धमाधम कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुन थालेपछि सीमामा खटिने प्रहरीले अनुहारमा ‘फेस शिल्ड’ प्रयोग गर्न थालेका छन्।
जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने तथा सीमामा भारतबाट आउने मानिसहरूसँग सम्पर्क रहने भएकाले प्रहरीले फेस शिल्ड प्रयोग गर्न थालेका हुन्।
सोमबारदेखि झापाभरका सबै प्रहरीलाई मास्कसहित फेस शिल्ड वितरण गरिने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनले भने, ‘मैले सबैतिर उपलब्ध गराउन भनेर सातसय पिस खरिद गरेर ल्याएको छु। आजदेखि सबैतिर वितरण गर्ने योजना छ। अरू पनि मगाएको छु।’
पूर्वी सीमा काँकरभिट्टामा खटिएका प्रहरीले आइतबारदेखि नै फेस शिल्ड प्रयोग गर्न थालेका छन्।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको पहलमा फेस शिल्ड उपलब्ध गराइएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
आइतबार मात्र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ र पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
शनिबार इलाममा कार्यरत सशस्त्रका ५ र प्रहरीका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।
प्रहरी प्रधान कार्यालयभित्रकै हवल्दार भन्दामुनीका प्रहरीमा संक्रमण देखिएपछि सवारी महाशाखा र सञ्चार निर्देशनालयलाई सिल गरिएको छ भने त्यहाँ कार्यरतलाई आइसोलेसनमा राखिएको छ।
मास्क नलगाइ हिँड्नेलाई दुई घन्टा उभ्याइने
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको तर मास्क लगाइ हिँड्ने मानिसहरूको जमात बढ्दै गएपछि सोमबारदेखि कडा कदम उठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सोमबारदेखि मास्क नलगाइ हिँड्नेलाई दुई घन्टा उभ्याइने जानकारी दिए।
आइतबार गृह मन्त्रालयले मास्क नलगाइ हिँड्नेलाई कडा कारबाही गर्न निर्देशनसमेत दिइसकेको छ।