
बुटवल – भारतबाट कामदार र व्यापारी आउनेक्रम बढेसँगै जोखिम बढेको भन्दै रुपन्देहीका स्थानीय तहहरुले बजार क्षेत्रमा कडाइ गर्ने निर्णय गरेका छन् ।
भारतबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकाले बजार क्षेत्रमा कडाइ गर्ने निर्णय गरेका हुन् ।
बुटवलमा सोमबारदेखि लागु हुनेगरी विभिन्न व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। उपमहानगरले सूचना जारी गर्दै हाटबजार, सैलुन, ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको हो।
कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सावधानीका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न आग्रह गरेको छ। होटल तथा रेष्टूरेण्टहरुलाई बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ।
बुटवलमा शनिबार दुईजना र आइतबार एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। शनिबार संक्रमण पुष्टि भएकाहरु सम्पर्क बिहीन छन् ।
यसरी दैनिकजसो संक्रमित देखिन थालेपछि बजार क्षेत्रमा कडाई गर्नुपरेको उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए।
उनका अनुसार उपमहानगरपालिका भित्रका व्यवसायिक प्रतिष्ठानहरुमा विदेशी, नगर क्षेत्र बाहिरका स्वदेशी कामदार र कालिगढका रुपमा आउने व्यक्तिहरुको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै वडा कार्यालयबाट प्राप्त अस्थायी परिचयपत्रको आधारमा काममा लगाउन आग्रह गरिएको छ।
विदेशी नागरिक तथा कामदार क्षेत्रभन्दा बाहिरबाट आउँदा अनिवार्य रुपमा होम क्वारेन्टिन, होटेल क्वारेन्टिन वा सामूदायिक क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।
रुपन्देहीकै सैनामैना नगरपालिकाले अन्यत्रबाट आउने जानेहरुको संख्या बढ्दै गएपछि नगरभित्रको चहलपहल कम गर्ने रणनीति अपनाएको छ।
कोरोना विशेष विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकाभित्र राति ८ बजेदेखि बिहान ५ बजेसम्म घर बाहिर निस्कन रोक लगाएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए। नगर क्षेत्रभित्र भेला, तालिम, गोष्ठी, सभा सम्मेलन गर्न र मानिसहरु भेला हुने कुनै कार्यक्रम गर्न नपाइने नियम लागु गरिएको छ। सैनामैनामा पनि ब्युटी पार्लर, जीमहाउसहरु बन्द रहनेछन्। हाटबजार पनि बन्द गर्ने निर्णय सैनामैनाले गरेको छ।
तिलोत्तमा नगरपालिकाले विदेशबाट आउनेहरुलाई अनिवार्य रुपमा नगरपालिकामा सम्पर्क गर्न भनेको छ। प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुनसक्ने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको बताए। उनले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउनका लागि नगरबासीमा आह्वान गरेको जनाएका छन् ।