
झापा- झापा कनकाई नगरपालिका ५ का १७ वर्षीय रोशन सुनार केही दिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भए।
घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उनी झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा उपचारका लागि आए। त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो।
कोरोना भाइरसको सङ्क्रमणको शंका गरेर विर्तासिटी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो।
त्यहाँ उपचार संभव नभएपछि विर्तामोडकै कनकाई अस्पताल उपचारका लागि गए। त्यहाँ पनि पिसिआर रिपोर्ट मागे। त्यहाँ पनि सुनारको उपचार संभव भएन।
मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे। मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो। तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भ्यान्टिलेटरसहितको सघन उपचार चाहियो।
मेची अस्पतालमा उक्त सुविधा नभएपछि भ्यान्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो। त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे। त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए।
मृतक सुनारमा कोरोना भाइरसको सङ्क्रमण छ/छैन भनेर परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको र साँझसम्ममा रिपोर्ट आउने डा. कँडेलले बताए।