
झापा– देशभर कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा चिउँडोमा मास्क झुण्ड्याएर हिँड्नेहरूको संख्या पनि बढ्दै गइरहेको छ।
चिकित्सकहरूका अनुसार मास्कले नाक र मुख अनिवार्य छोप्नुपर्छ। तर मुख छोपे पनि नाक नछोप्ने मान्छेहरूको जमात निकै ठूलो छ।
बिहीबार झापामा शिक्षक, औषधि विक्रेता, बैंकका कर्मचारीलगायत बुढा बुढी पनि मास्कले नाक नछोपी हिँडिरहेका थिए।
कोही एकलै हिँड्दा मास्क लगाउने तर अर्को व्यक्तिसँग कुरा गर्दा मास्क चिउँडोमा सोरेर गफ गरिरहेका भेटिए।
पछिल्लो केही समयदेखि स्वास्थ्य मन्त्रालयले बारम्बार भन्दै आएको छ, ‘साबुन पानीले राम्रोसँग हात धोऔँ, भीडभाडमा दूरी कायम गरौँ र सही तरिकाले मास्कको प्रयोग गरौँ।’
सर्वसाधारणका लागि मन्त्रालयले दिने गरेको यो सूचना खासै प्रभावकारी देखिएको छैन।