
बुटवल-बुटवल ११ की एक महिला सुत्केरी व्यथा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगिन्। अस्पतालमा चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरे। २८ वर्षीया ती महिलाले यसअघि शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन्। यसपटक पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताए।
शल्यक्रिया गर्नुपर्ने भएपछि उनमा कोरोना भाइरसको संक्रमण भए–नभएको टुंगो लगाउन पीसीआर परीक्षण गरियो। उनको रिपोर्ट पोजेटिभ आयो। लुम्बिनी प्रादेशिक अस्पतालमा नै शल्यक्रिया गर्ने भनिएको थियो। तर रिपोर्ट पोजेटिभ आएपछि ३ जना चिकित्सकले पुनः टाढैबाट स्वास्थ्यअवस्थाबारे जानकारी लिए।
गर्भवती ती महिलाका श्रीमान्मा संक्रमण देखिएर उनी आइसोलेशनमा छन्। आफन्तसँगै अस्पताल गएकी उनलाई भर्ना लिन चिकित्सकहरु अनकनाए। सामान्य ढंगले बच्चा नजन्मिए शल्यक्रिया गर्नुपर्ने र लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्न नसकिने बताइयो। घुमाउरो ढंगले चिकित्सकले उनलाई अस्पतालमा भर्ना लिन नसक्ने बताए।
उनलाई नेपालगञ्ज वा काठमाडौं जान सुझाव दिए। ‘डाक्टरहरुले यहाँ हुँदैन, अन्यत्र लैजानुस् भन्ने जवाफ दिए, ‘गर्भवतीका आफन्तले भने–काठमाडौं या नेपालगञ्ज लैजानुस् भनेपछि एम्बुलेन्स खोज्यौं, एम्बुलेन्स पनि जान तयार भएनन्।’
प्रदेशकै गौरवको योजना भनेर विकास र विस्तार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालको सुविधा विस्तार भइरहेको बताइए पनि व्यवहारमा त्यस्तो देखिएन। गर्भवतीलाई बुटवलबाट करीब २५० किलोमिटर दुरीमा रहेको नेपालगञ्ज लैजान एम्बुलेन्सले नमानेपछि निजी साधनमा लैजानु जोखिम हुनसक्थ्यो।
तरपनि कुनै उपाय नभएपछि गर्भवतीलाई निजी साधनमै नेपालगञ्ज लगिएको गर्भवतीका आफन्त हरि खनालले बताए। ‘प्रदेशकै ठूलो र सुविधा भएको अस्पताल भनेर यहीँ आएका थियौं, तर यहाँ त कसैले पनि जिम्मेवारीबोध गरेनन्, उनले भने–यस्तो संकटको समयमा संक्रमित भएकी गर्भवतीको शल्यक्रिया गर्नुपरेमा के गर्ने भन्ने पूर्वतयारी गर्नुपर्दैन ?’
अस्पताल प्रशासन संक्रमितकै उपचारमा ध्यान दिदा संक्रमित गर्भवतीको शल्यक्रियाका लागि काम गर्न नसकिएको बताउँछ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले छुट्टै कक्ष बनाउने तयारी भइरहेको बताए।