
बुटवल -छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार नपाएर मृत्यु भएको छ।
गत मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुषको टाउकोमा लागेको गम्भीर चोटको उपचार हुन नसक्दा मृत्यु भएको हो।
उनको टाउकोमा गम्भीर चोट लागेको देखिएकोले टाउकोको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले आफन्तलाई बताएका थिए। तर उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार नपाएरै मृत्यु भएको छ।
आफन्तले दिएको जानकारी अनुसार गत मंगलबार घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सुरक्षा र सतर्कताका साथ थप उपचार जारी राख्नुपर्नेमा उनलाई मेडिकल कलेजले उपचार गर्न नसक्ने बताउँदै भैरहवाकै भीम अस्पताल पठाएको थियो।
भीम अस्पतालमा उपचारका लागि जनशक्ति नभएकाले उपचार हुन नसक्ने बताएपनि आफन्तले जोडबल गरेर अस्पतालमै उपचार गर्न आग्रह गरेका थिए।
भीम अस्पतालले भर्ना लिएर कोरोना भाइरसका संक्रमितलाई राख्ने कक्षमा राखेको थियो। उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको भीम अस्पतालले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेको बिरामीलाई मेडिकल कलेजको आइसीयुबाट निकालेर उपचारका लागि सोमबार साँझ आफन्तले भीम अस्पताल ल्याएको भीम अस्पतालका कोभिड–१९ फोकल पर्सन सुमित प्रजापतिले जानकारी दिए।
‘हामीसँग आइसीयू भए पनि जनशक्ति छैन भनि परिवारलाई जानकारी गरायौँ, अवस्था गम्भीर छ, हेड इन्जुरीको बिरामी भएकोले हाइ रिक्स हुन्छ भनेरै कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै राती ११ बजे मृत्यु भयो–प्रजापतिले भने।
ती पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए। मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो।
बिहीबार स्वाब संकलन गरिएकोमा उनमा शुक्रबार कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। यसबारे मेडिकल कलेजका अधिकारीसँग प्रतिक्रिया र घटनाक्रमबारे जानकारी लिने प्रयास गरेपनि सम्पर्क हुन सकेन।
शव अहिले भीम अस्पतालमा छ। शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको शाहले बताए।