प्रश्न सोध्न अब, नगरौ विलम्ब!

प्रश्न सोध्न अब, नगरौ विलम्ब!
+
-

बादल जतिसुकै कालो भएपनि किनारामा चाँदीको घेरा अवश्य हुन्छ – अति सामान्य रुपले सुनिइरहने अनि निकै पुरानो लाग्ने यो वाक्य मेरो भने सधैँ नै हृदयको समीप रहिरह्यो । शायद, जीवन र जगतमा आइपर्ने अप्ठ्यारा साथै असहजताको क्षणभंगुरताको आभास गराइदिने भएर पो हो कि ! हुन त पुराना सबै कुरा त्याज्य हुँदैनन् भन्ने सिकाइ हामीमा ताजा अनि अमिट नै हुनुपर्छ । टेकेको माटो र हिँडेको बाटो समेत सबै–सबैमा नुतनता ल्याउँला जसरी एकरटले लगाएको “नयाँ नेपाल” नाराको अभ्यास डेढ दशक नजिक पुग्दैगर्दा व्यवस्था त के राज्य नै असफलताको बाटोमा लागेको बहस जो चल्न थालेको छ । “नयाँ नेपालमा” सर्वसुलभ सहजता र शासनमा न्यायिक प्रत्याभूतिको आकांक्षा त हचुवाकै भरमा पो गरिएछ भनेर झल्याँस्स ब्युँझिनै लाग्दा कोभिड–१९ को विश्वव्यापी महामारीले हाम्रो शासकीय र व्यवस्थापकीय क्षमताको सीमितता अनि निर्लज्जताका साथै खस्किँदो सामाजिक मूल्यमान्यतालाई पनि एकैपटक सर्वाङ्गै नङ्ग्याइदिएको छ ।

यस महामारीले जुनसुकै आर्थिक र राजनीतिक व्यवस्था भएका मूलकलाई आफ्नो चपेटामा पारेको तथ्य निर्विवाद छ । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार २१५ देशमा कोभिडले आफूलाई फैलाइसकेको छ । तर यो भन्दा महत्वपूर्ण सत्य यो छ कि जहाँ राजनीतिमा “नीति” बाँकी छ अनि विचारमा विषयपरक तटस्थता, त्यहाँ नागरिकले धेरै हदसम्म सामान्य र कम्तीमा पनि ‘नयाँ सामान्य’ जीवन व्यतीत गरिरहेका छन् । बरु असामान्यता त नेतृत्व पंक्तिको जीवनमा देखिएको छ चाहे कलाको रुपमा होस् या कारवाहीको रुपमा ।

केही उदाहरण – भावनात्मक नेतृत्वको नमूना पेश गर्दै कोभिडजन्य समस्याले जनतामा पर्नगएको असुविधाको अनुभूति गरेर सार्वजनिक रुपका आँशु खसाल्ने अनि अथक कुशल प्रयाससँगै आएको सरलतामा शुभेक्षा बाँड्दै नाच्ने न्यूजिल्याण्डको नेतृत्व, नागरिकको एक – एक जीवन महत्वपूर्ण रहेको अभिव्यक्ति दिंदै राष्ट्रकै आमाको उपमा पाएको जर्मनीको नेतृत्व या यो कहरमा हामी सबै एकसाथ छौँ भन्दै हप्तौंसम्म पत्रकार सम्मेलन मार्फत नागरिकलाई अभिवावकत्व महसूस गराउने क्यानडाको नेतृत्व । अर्कातिर बन्दाबन्दीको उल्लङ्गन गरेर प्रेमिका भेटेकोमा राजीनामा दिएका वेलायतका वैज्ञानिक हुन् वा रेष्टुरेन्टमा अवेरसम्म बसी बन्दाबन्दीको उल्लंघन गरेकोमा सार्वजनिक माफी माग्ने अष्ट्रियाका राष्ट्रपति ।

तर, हाम्रो भोगाइ यसको विलकूल विपरीत छ । पूर्वतयारीका लागि प्रशस्त समय पाएको हाम्रो सरकारले कोभिड सृजित समस्याको पहिचान र समाधानका लागि पहलकदमी प्राथमिकतामा राखेको महसूस गर्न पाइएन । बरु, अध्यादेश काण्डको भ्याइनभ्याइदेखि सांसद अपहरणको रुपमा दर्ज काण्डमा सर्वसाधारणहरु घरमा थुनिएको बेला भूपू उच्च पदस्थहरुसहित हालका सांसदसम्मको लामो दूरीको यात्राको रमिता देखियो । प्रधानमन्त्रीको निरन्तरताका खातिर सरकारकै समर्थकले सरकारसंगै माग राखी गरेको सडक आन्दोलनको द्रष्टा र भोग्ता पनि भइयो । अझ, पार्टी जुटाउने र दर्ता गर्ने भन्दै भिड जम्मागर्ने एउटा समूह अनि पार्टी फुट्ने र फुट्न नदिने नाममा अर्को समूहको बालुवाटार, शीतलनिवास, भैँसेपाटी, खुमलटार, कोटेश्वरको अविराम घनचक्करको साक्षी भैरहिएकै छ ।

स्वास्थ्य मन्त्राललयको थुन्ने धम्कीदेखि अर्थको कर बुझाउने घुर्की पनि कोरोना कहरकै खातामा थपिएको छ । असार – साउनको गर्मीमा स्वास्थ्य र अर्थको सरगरर्मीले असिन पसिन बनाईरहँदा शीतलनिवासमा छाएको शीतलताको अभावले आहतै बढायो । हुन त राष्ट्रको अभिभावकले स्थीरताको आशा गरिएको सरकारको पार्टीमा आएको भूईँचालो थाम्ने प्रयास गर्नु अनूचित देख्न नहुने तर्क पनि राजनीतिक बजारमा व्याप्त नभएको होइन । तर राष्ट्रको प्रमुखले कम्तीमा पनि सतरंजको राजा (शव्दमा आपत्ति नजनाउँ है !), मन्त्री त के घोडा सम्मको निश्चित र निर्दिष्ट चालको छनक नदिई प्यूसोले झै पार्टीको गुटभित्र फुत्त फुत्त दाँया– बाँया– तल – माथि जताततै एक दुइ फट्को मारिरहनु कुनै अर्थमा शोभनीय मान्न सकिएन। बरु शीतलनिवास र वालुवाटार त सत्ताधारीको मात्रै पो देखियो !

व्यवस्थापनको सवालमा, समाजवाद उन्मुख संविधान प्रद्धत्त एकतीस मौलिक अधिकारमा स्वास्थ्य पनि समाहित भएको “सुदूर विगतको” स्मरण गराएर किन प्रतिगामी तत्व दरिनु र!! तत्कालको व्यवस्थापन अन्तर्गत तयार गरिएको स्वास्थ्य निर्देशिकाहरुको कथनी र करणी बिचको दलदलका बारेमा तत्–तत् सम्वन्धी विज्ञका गुनासा र खवरदारी प्रतिको रवैया नै काफी छ । स्वास्थ्य सामाग्री खरीद प्रकरणले अझै अखबारका पाना रंगिएकै छन् । अझ पन्ध्रजना भन्दा बढी भेला नहुन निर्देशन दिने निकायहरुमै निर्देशनको उपहास गर्ने भीड जम्मा भयो – जस्तै सवारी पास लिनेको भीड । यो भीड – भीड मात्रैमा सीमित भएन, यो सृजित दृश्य बिडम्वनापूर्ण देखियो – पहुँच पुर्‍याएर खानेहरु सरर पासमा, परिश्रम गरेर खानेहरुको बिजोग बाटो, नाका, ट्रक अनि बसमा । यतिमात्र होइन, अझ कारुणिक दृश्य देखियो; ठूलाबडाको रातारात दोहोर्‍याएर कोरोना जाँच अनि पहुँचहीनहरु अस्पतालको गोलचक्कर लाउँदालाँउदै बाटैमा लाश ।

राष्ट्रको प्रमुखले कम्तीमा पनि सतरंजको राजा (शव्दमा आपत्ति नजनाउँ है !), मन्त्री त के घोडा सम्मको निश्चित र निर्दिष्ट चालको छनक नदिई प्यूसोले झै पार्टीको गुटभित्र फुत्त फुत्त दाँया– बाँया– तल – माथि जताततै एक दुइ फट्को मारिरहनु कुनै अर्थमा शोभनीय मान्न सकिएन। बरु शीतलनिवास र वालुवाटार त सत्ताधारीको मात्रै पो देखियो !

यी रमिताहरुको अति सहन नसकेर कोरोना जाँचको दायरा बढाउने माग राखी “Enough is Enough” भन्दै सामाजिक दूरी कायम गरेर जनताको कोरोना कहर स्मरण गराउँदै मण्डलामा निस्किएका युवाको समूहलाई त्यहीं सम्वोधन नगरेर सरकारले जवरजस्ती बालुवाटार घिसार्‍यो अनि बस् भिजिलान्ते देख्यो र देखिरहयो । सरकारले त्यहाँ आफ्ना युवाको अनुहार भेट्दै भेटेन । बरु, फैलिनसक्ने संक्रमणको सारा अपजस तिनलाई बोकाउन तम्तयार भएर बस्यो अनि समाजमा पनि यही सन्देश प्रवाह गर्ने प्रयत्न गर्यो (थप चर्चा पछाडि) ।

समग्रमा भन्दा नेतृत्व लिनेहरुको पदको छिनाझप्टीमा यो कहरले थोरै पनि लज्जा दान दिन सकेन, दियो त बस् अन्यौल, अभाव अनि अनिश्चितता मिश्रित पिडा जनताहरुलाई: जसले क्वारेन्टाइनमा पिउने पानी सम्म पर्याप्त नभएको गुनासो गरिरहनुपर्‍यो – घरमा थुनिएकाहरुको दैनिकीका अप्ठ्याराहरु त एकादेशको कथा पो भए! परिवार पाल्न परदेशीएकाहरुले ज्यान बचाउने आशमा आफ्नो देश फिर्न महाकालीमा हेलिन पर्‍यो, क्वारेन्टीनमै बलात्कृत हुनुपर्‍यो। आफ्नै देशको शहरदेखि घरसम्मको दुरी झोलीझ्याम्टा र वालवच्चा सहित मध्यरातमा तय गर्नुपर्‍यो। हप्तौँसम्म भोका पेटले नांगा पाउ घिसार्नुपर्‍यो। हुनत जनता पनि छन् पो कति !! अनि कता !! कोही कसैका सल्लाहकार, कोही केहीका सदस्य, कोही कसैका कार्यकर्ता, कोही केहीका प्रत्यासी, कोही हस् र भैहाल्छ नि हजूर बाहेक केही भन्दै नभन्ने रैती । यिनका त घरमा थरीथरीका बाटो गरेर ग्यास, चामल भित्रिहाल्छ । बैङ्क खातामा भए लाभांश नभए अनुदान परिहाल्छ । त्यही भएर त सरकार यो कहरमा खान नपाएका नागरिकसँग नागरिकता ‘बन्धकी’ माग्ने दुस्साहस गर्छ!!

रह्यो खस्कँदो सामाजिक मूल्यमान्यताको कुरो, जसका फेहरिस्त दैनिक पत्रपत्रिकाका हेडलाइनमा दैनन्दिन छरपष्ट छ । केही प्रतिनिधि घटना – सरकारले ६० वर्ष माथि र १२ वर्ष मूनिका नागरिकलाई घरबाट ननिस्कन अनुरोध गरेको भोलिपल्ट उसका ६८ वर्षे नेतृत्वकर्ता वालुवाटारबाट सरर बालकोट पुग्छन् । नागरिकलाई मास्क नलगाए कारवाहीे गर्छु भन्ने स्वास्थ्य मन्त्रालयका नेतृत्वकर्ता सार्वजनिक रुपमा बिरलै मास्कमा देखिन्छन् । सामाजिक दूरी कायम गर्न अर्ती दिने ‘ठूलाबडाहरु’ ५ किलो चामल र १ लिटर तेल बाँडेको भींडको “सेल्फी” सामाजिक सञ्जालमा पोष्ट्याउँछन् । अर्थात– हामीले बनाएको नियम हामी बाहेकलाई मात्र हो है भन्ने सन्देश हाकाहाकी समाजमा प्रवाहित गरिरहेका छन् फलतः समाजमा नियम मान्ने हुत्तिहारा चित्रित हुँदैछ, नियम मिच्ने सम्मानित जो छ ! नियम मिच्ने सम्मानित छ किनभने ऊ पहुँचवाला छ अनि परेको बेला “ज्याक” लाउन काम लाग्छ । यी तमाम बेथितिहरु सहजै पचाएको हाम्रो समाज एउटा सामान्य ‘गीतले’, अनि आफ्नो काममा हिँडिरहदा कसैले लुकिछिपी खिचेर प्रर्दशनीमा राखिदिएको ढाडको केही भागले मूल्यमान्यता बिगार्यो भनेर बुद्धिविलास गर्छ किनकि यसले राजनीतिलाई समाज भन्दा कतै प….र वा धेरै मा….थि कता हो कता राखेको छ ।

अझै पीडादायी दृष्टान्त त कोभिड जितेर घर फर्केको युवा परिवार र समाजको अपहेलना सहन सकिन भन्दै आफ्नो ज्यान लिन्छ । आफ्नै घरभित्र आफ्नो परिवारको साथमा बसिदिनुनै अरुका लागि योगदान हुने यो परिस्थितीमा पनि ‘हुने र सक्नेहरु’ चोक – चोकमा भीड गरिरहेकै छन् मानौं उनीहरु भनिरहेका छन् कोभिड – १९ मलाई कहाँ लाग्छ ! म बाहेक अरुलाई पो लाग्छ ! ! तर निको भएको मानिस चैँ त्यो ‘रमिते’ भीड छिचोलेर घरभित्र छिर्नै सक्दैन अनि आफैँलाई झुन्ड्याउँछ । यस्ता घटनाले पनि हाम्रो मूल्यमान्यतालाई गिज्याउँदैन भने हामी कस्तो समाज निर्माणमा छौं ? हुन त कोभिड विरुद्धका योद्धा चिकित्सा सेवामा कार्यरतहरुलाई घर–कोठामा बस्न समेत नदिएको अनि संघीय राजधानीको नाकैमा एक नर्सको परिवार संक्रमित हुँदा आवश्यक सहायता त कता हो कता उनले भाइरसको खेती गरेझै गरेर बहिस्कार गर्दा अत्यावश्यक खाद्यान्नका लागि समेत सकस परेको थाहा पाउँदा त हामी मौनता साँधेर आत्मरतिमा रमाएकै हौँ नि ।

छिमेकी देशको खाद्यान्नले भान्सा भर्ने र कोभिड शंकास्पद ठाउँको भन्दै अफ्नो देशभित्रको तरकारी बाटोमा खाल्टो खनेर पुर्ने बहादुर हामी हौं। खोल्न नमिल्नेमा परेका सैलुन र पार्लर गएर चिटिक्कै पनि छौं ! त्यसमाथि कोभिडले धनी गरीब भनेको छैन क्यारे, सबैलाई समस्यै–समस्या छ भनेर आफ्नै विवेकको मजाक उडाइरहेका छौँ। फलेको गोलभेँडा बेचेर रोपेको जग्गाको भाडा तिर्नेहरु अनि नाफाका लागि वातावरण सुरक्षित नदेखेर बैङ्कमा पैसा जम्मा गर्नेहरुलाई एउटै तुलोमा तौलिरहेका छौं ।

एकातिर तुरुन्तै कर नउठे अप्ठ्यारो पर्छ र पीसीआर जाँचका लागि स्रोत छैन भन्दै बाइक र गाडीको जोहोमा लागेको सरकार त अर्कातिर तरलताको समस्या देखाउँदै खातावालाहरुलाई न्यूनतम् जानकारी सम्म नदिई बचतखाताको पूर्व निर्धारित ब्याज घटाउने अनि ऋणीलाई भने तारन्तार फोन गरेर शीघ्र तिर्न दवाव दिने बैङ्कहरुको हेपाहा व्यवहार पनि चूपचाप पचाइरहेका छौं । अझ अनौठो त “अब त अति भो” भन्दै दोहोर्‍याएर अनसन बसेका युवा अभियन्ताहरुलाई रोग बढाउने कारण मात्र देख्दै छैनौँ, यल्ले र तेल्ले परिचालित गर्‍यो भनेर चिया गफ अनि सामाजिक सञ्जाल तताउँदै छौं । वास्तवमै विचार स्वस्फूर्त र तटस्थ पनि हुन्छ है भन्ने मान्यता लगभग हराइसकेको छ हाम्रो वर्तमान सामाजिक संरचनामा ।

यी तमाम दृश्य र अवस्थाले यही भनिरहेका छन् कि अब जाग्न ढीलो गर्नुहुदैन । हो, राजनीतिक नेतृत्वले समाजका समस्त अवयवहरुलाई उचित तवरले परिचालित गराउनुपर्छ । तर यो तवसम्म मात्र सम्भव हुँदो रहेछ जवसम्म राजनीतिमा नीतिको समूचित स्थान रहन्छ । हामीले भोगिरहेको राजनीतिले बचेखुचेको नीति पनि शायद “पुरानो नेपालमै” पो छेडिसक्यो कि ! राजनीति रुपी मूल हदैसम्म संक्रमित भैसक्यो । जब समस्या मूलमै हुन्छ त्यसको उपचार गर्न उपभोक्ता नै जुट्नुपर्छ । अहिलेको विकृत राजनीतिको उपभोक्ता हामी नागरिक हौं । हामी समृद्ध, न्यायिक र लोकतान्त्रिक शासन खोज्छौँ भने राजनीतिज्ञलाई गाली मात्र गरेर नहुने रहेछ । यसको मनसाय यो होइन कि राजनीतिक नेतृत्व तालीको लायक छ । बरु सोच्नुपर्ने भएको छ, हाम्रो प्रत्यक्ष चाकडी अप्रत्यक्ष गाली माथि भारी पो पर्नगयो कि ! !

त्यसैले आज हामीले पहिले आफैँलाई प्रश्न गर्नुपरेको छ, के हामी पूर्ण नागरिक नै हौं त ? अनेक शास्त्र र तन्त्रमा नागरिकका अधिकाधिक व्याख्या र परिभाषा होलान् तर सरल र सर्वज्ञ पहिचान भनेको प्रश्न जन्माउने चेतना र प्रश्न गर्ने हिम्मत राख्नु नै हो । यसका लागि न कुनै विशिष्टता चाहिन्छ न कुनै विद्धता; बस् लालच त्यागेर आफू हिडेको बाटो प्रति सचेत अनि टेकेको माटोप्रति अनूग्रहित हुनु नै पर्याप्त छ । प्रश्न गरौँ – आफूले आफैँलाई, आफू वरिपरिको समाजलाई अनि हरक्षेत्रको नेतृत्वलाई । यो आलेखको आरम्भमा यत्रो कहरका बीचपनि चाँदीको घेरा देख्नुको अन्तर्य यही हो कि अब यो कहरले हामीलाई पक्कै चुप बस्न दिनेछैन, विलम्ब नगरी प्रश्न जन्माउन र सोध्न योग्य बनाउनेछ, विचारमा तटस्थता र व्यवहारमा निष्पक्षता समाहित गर्ने साहस दिनेछ ।

(नर्वेस्थित युनिभर्सिटी अफ बर्गेनबाट लैँगिक अध्ययन र विकासमा एमफिल गरेकी घिमिरे हाल बानेश्वर बहुमुखी क्याम्पसमा समाजशास्त्र पढाउँछिन्।) 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?