
बुटवल-एकैदिन रुपन्देहीमा उपचार गराइरहेका ३ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।
बुधबार दिउसो बुटवल ६ सब्जीमण्डीका ५७ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएसँगै एकैदिन मृत्यु हुनेको संख्या ३ पुगेको हो।उनीहरुमध्ये रुपन्देहीको बुटवल, कपिलवस्तु कृष्णनगर र नवलपरासी पश्चिम रामग्रामका एक-एक जना हुन्।
बुधबार दिउसो भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो। उनी मुटुरोगी थिए।
१० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले जानकारी दिए।
उनका अनुसार बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि उनको भीम अस्पतालमा उपचार भइरहेको थियो। सोही अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ।
यसअघि भीम अस्पतालमै बुधबार बिहान नवलपरासी पश्चिम रामग्राम-५ कि कोरोना संक्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको थियो। बुधबार नै बिहान बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो।