
वीरेन्द्रनगर – चोरी सम्बन्धी मुद्दामा १० हजार धरौटी तिर्न नसक्दा जिल्ला काराकगार सुर्खेतमा थुनामा रहेकी दैलेखकी भगवती (नाम परिवर्तन) कारागारबाट छुटेकी छन्।
देश सञ्चारबाट प्रकाशित भगवतीको स्टोरी पढेर इजरायलमा बस्दै आएकी भक्तपुर बालकोटकी कमला दाहालले सहयोग स्वरुप भगवतीका लागि पठाएको १० हजार रुपैयाँ धरौटी जिल्ला अदालत सुर्खेतमा दाखिला गरेपछि भगवती कारागारबाट छुटेकी हुन्।
भगवती अब यही भदौ ३० गते बकपत्रका लागि अदालत उपस्थित हुनुपर्ने छ। अत्याधिक माधक पदार्थ सेवन गरी श्रीमानले कुटपिट गरेपछि छिमेकीको शरणमा पुगेकी भगवतीलाई छिमेकीले मोबाइल र सुनको सिक्री चोरोको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्।
२५ दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेकी भगवती १० हजार रुपैयाँ धरौटी अदालतमा दाखिला गर्न नसकेपछि १४ दिन अघि थुनामा पर्न बाध्य भएकी थिइन्।
उनले यो बीचमा आफूलाई आफ्ना श्रीमानले अस्वीकार गर्ने सम्भावना प्रवल रहेको र आफ्नो बच्चा पाल्न सक्ने आर्थिक हैसियत नभएको भन्दै आफ्नो २ महिनाको गर्भ फाल्नका लागि जिल्ला अदालत सुर्खेतसँग अनुमति मागेकी थिइन्।
विद्यमान कानुनलाई आधार मानेर अदालतले पनि भगवतीलाई गर्भपतनका लागि अनुमति दिएको थियो।
गर्भपतन गरेको ५ दिनपछि कारागारबाट निस्कने मौका पाएकी भगवतीले भनिन,‘मेरो समाचार बनाउने र त्यो पढेर मलाई आर्थिक सहयोग गर्ने दुबै जना मेरो लागि भगवना हुनुभयो। मैले यो सहयोग कहिल्यै भुल्ने छैन। एक रुपैयाँ पनि म सँग नभएका बेला विदेशबाट मलाई १० हजार रुपैयाँ सहयोग गर्ने दिदी महान हुनुहुन्छ। मलाई झुठो आरोप लगाएर फसाउने कोशिस भएको थियो।’
भगवतीले अब मजदुरी गरेर भए पनि आफूलाई पाल्ने तर कुटपिट गरेर घरबाट निकाल्ने श्रीमानसँग सम्बन्ध विच्छेदका लागि पहल गर्ने बताइन्। भगवतीको घरमा चार वर्षिया छोरी छन्। छोरीको विषयमा पनि भगवतीलाई चिन्ता छ।
भगवतीलाई धरौटीका लागि १० हजार रुपैयाँ सहयोग गर्ने कमल दाहालले यसअघि पनि थुर्पै बेसाहारा र समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएकी छिन्।
दाहालले इजरायलबाट फोनमा भनिन,‘म कसैको पनि दुःख देख्न सक्दिन। भगवतीको नाजुक अवस्थाबारे समाचारबाट थाहाँ पाएँ। मन निकै रोइरह्यो। आफूले जति सकिन्छ त्यति सहयोग गर्नुनै मानव सेवा हो जस्तो लाग्छ। अझै पनि जो कोहीलाई आफूले सक्ने सहयोग गर्न तयार छु।’
देश सञ्चारले १० हजार नहुँदा गर्भवती जेलमा, बाध्यता बन्दै गर्भपतन शीर्षकको समाचार गत भदौ १२ गते प्रकाशित गरेको थियो।