
बुटवल– बुटवलमा एकजना महिलाको मृत्युपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचाररत बुटवल ७ की ४५ वर्षीया महिलाको हिजो बुधबार दिउँसो मृत्यु भएको र बिहीबार कोरोना संक्रमण पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखा अधिकृत गीतादेवी पाण्डेले जानकारी दिइन्।
३–४ दिन अघिदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार दिउँसो सिद्धबाबा अस्पतालमा उपचार गराउन गएकी उनको हिजो दिउँसो नै मृत्यु भएको सिद्धबाबा अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए।
अस्पतालमा उपचार गराउन गएकी उनमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि पीसीआर जाँच भएको थियो। पीसीआर रिपोर्ट बिहीबार पोजेटिभ आएको हो। उनको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचार गरिएको अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गर्ने न्यौपानेले बताए।
उपचारका लागि आएकी महिलाको उपचारमा संलग्न भएका २ जना स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेको उनले बताए। अस्पतालको अन्य सेवा भने सुचारु रहेको छ।
यो सँगै बिहीबार बुटवलमा उपचाररत ३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठान स्वर्गद्वारीका एकजना पुरुषको मृत्यु भएको थियो भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको थियो।