
बुटवल – बुटवलमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल – ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान ९ बजे मृत्यु भएका ती पुरुष भदौ ४ गते अस्पताल भर्ना भएका थिए।
उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।
मुटु अस्पतालका ११ जनामा संक्रमण
बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप ११ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।
बिहीबार राती थप ११ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएकाहरुलाई आइसोलेशनमा उपचारका लागि राखिएको छ।
संक्रमण पुष्टि नभएकाहरुलाई सुरक्षित राखेर अस्पतालको सेवा शुरु गर्ने अस्पतालले तयारी गरेको छ।
‘हामीले थप परीक्षणका लागि पनि पठाएका छौं’, अध्यक्ष आलमले भने, ‘नेगेटिभ आएकाहरुलाई सुरक्षित राखेर अस्पतालको सेवा शुरु गर्ने तयारी गरेका छौँ।’