
बुटवल – रुपन्देहीमा उपचाररत दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का दुईजनाको मृत्यु भएको अस्पतालले जनाएका छन्।
भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन्। उनीहरु एउटै वडाका भएपनि उनीहरुबीच नातासम्बन्ध छैन।
भीम अस्पतालमा उपचार गराइरहेका पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए। यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार जारी थियो।
दमको समस्या देखिएका उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिए।
भीम अस्पतालमा २० जना आइसोलेशनमा उपचाररत छन् भने तीनजना आइसीयूमा छन्। भीममा आइसीयूमा उपचाररत बुटवल र धकधईका २ जना संक्रमणमुक्त भएर शनिबार घर फर्किएका छन्।
यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा सुदर्शन थापाले जानकारी दिए।
भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत् उनका दुवै मिर्गौलामा समस्या थियो। उनले डायालिसिस् गराउँदै आएकी थिइन्।
उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
बुटवलको कोरोना विशेष अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।