
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्तिको कोरोना संक्रमण परीक्षण र संक्रमितको उपचार यथोचितरुपमा सरकारले गर्ने भएकाले यसलाई लिएर कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सबै प्रयास केन्द्रित गरिरहेका बेला अनावश्यक भ्रमहरु सिर्जना गरिएको तर सबै नागरिकलाई बचाउने दायित्व सरकारले लिएको बताए।
गत चैतमा लकडाउन सुरु हुँदा दुई जना संक्रमित भएको अवस्थामा होस् या हाल दैनिक हजारौँको संख्यामा संक्रमित पुष्टि भएका बेला भ्रमहरु र अफवाह फैलाउने काम उत्तिकै भएको ओलीको भनाइ छ।
उनले भने,‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।’