
बुटवल– रुपन्देहीमा थप दुई जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवलका एक जना र अर्का एक जना तिलोत्तमाका पुरुषको मृत्यु भएको हो।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार बुटवल उपमहानगरपालिका ११ का ५२ वर्षका पुरुषको आइतबार दिउसो २ बजेपछि मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए।
कात्तिक ६ गते संक्रमण पुष्टि भएपछि कोरोना अस्पतलमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो।
त्यस्तै तिलोत्तमा नगरपालिका १ का ९५ वर्षीय वृद्धको पनि आइतबार मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई शनिबार लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा लगिएकोमा उनको फिभर क्लिनिकको आइसोलेशनमा उपचारकै क्रममा ती वृद्धको मृत्यु भएको डा गौतमले जानकारी दिए।
यससँगै लुम्बिनी प्रादेशिक अस्पताल र सो अस्पतालद्वारा सञ्चालित बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ६२ पुगेको छ। कोरोना अस्पतालमा २८ जना कोरोना संक्रमित उपचारत छन्।