
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आइतबार खुमलटारमा मोर्चाबन्दी बनेलगत्तै महासचिव विष्णु पौडेलको दौडधुप सुरु भएको छ।
बालुवाटार स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको आफ्ना सल्लाहकारको ‘कोर टिम’सँग नअटाएका महासचिव पौडेललाई सल्लाहकारहरुसँग छलफल गरेपछि मात्रै ओलीले अन्य नेताहरुसँगै बोलाएका थिए।
छलफलमा ओलीले प्रचण्डले पार्टी फुटाउन चाहेको ‘ब्रिफिङ’ गरेलगत्तै पौडेलले ट्वीटर र फेसबुकमा पोष्ट गरेको स्टाटसले नेकपामा अझ ठूलो हलचल मच्चाएको थियो।
पौडेलले नेकपामा एक महिना यता पुनः उत्पन्न विवाद स्वीकार गर्दै पार्टी एकता संकटमा परेको र त्यसलाई जोगाउन सबै नेता तथा कार्यकर्ता एक हुन आव्हान गरेका थिए।
उनले ट्वीटरमा भनेका थिए,‘ यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’
स्रोतका अनुसार त्यसपछि उनी साँझपख ओलीविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्। त्यहाँ उनले प्रचण्डसँग लामै छलफल गरेको बुझिएको छ।
पौडेललाई ओलीले पठाएका हुन् या आफै गएका हुन् भन्नेबारे खुलेको छैन। यसो त उनी पाँच दिन अघि पनि प्रचण्डलाई फकाउन ओलीको ‘दूत’ बनेर खुमलटार पुगेका थिए।