नेकपा द्वन्द्व

ओलीलाई एक ‘अन्तिम’ मौका दिँदै असन्तुष्ट समूह

ओलीलाई एक ‘अन्तिम’ मौका दिँदै असन्तुष्ट समूह
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न लामो द्वन्द्व समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा केन्द्रीय सचिवालय बैठक डाक्ने अन्तिम प्रयासमा असन्तुष्ट पक्ष जुटेका छन्।

यो अन्तिम मौका ओलीले चुकाएमा या यसप्रति उनी असंवेदनशिल बनेमा असन्तुष्ट पक्षले औपचारिकरुपमै सचिवालय बैठक डाकेर उनीविरुद्ध उपयुक्त निर्णय लिने रणनीति बनाएको छ।

त्यसको थालनी बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक केन्द्रीय सचिवालय बैठकबाट भएको छ।

पार्टीका अर्का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग वामदेव गौतम सामेल अनौपचारिक बैठकले औपचारिक केन्द्रीय कमिटी बैठकका लागि सहमत हुन ओलीलाई शनिबार बिहान ९ बजेपछि संयुक्तरुपमा सम्भवतः लिखित पत्र बुझाउने निर्णय गरेको छ।

त्यसका लागि पहिले यो समूह पार्टी मुख्यालय धुम्बाराहीमा जाने छ र त्यसपछि बालुवाटार पुग्नेछ। तर बिहीबार मात्रै प्रचण्डलाई ओलीले आफ्नो सहमतिविपरीत औपचारिक बैठक बोलाएका दिन अर्को बैठक डाकेर पार्टी फुटको घोषणा गर्ने र आफूले अर्को पार्टीको घोषणा गर्ने चेतावनी दिएको पृष्ठभूमिका असन्तुष्ट पक्षको यो रणनीति सफल होला?

प्रवक्ता श्रेष्ठ भन्छन्, ‘आज प्रधानमन्त्री ओलीकै सहमतिमा सबैलाई बोलाएर अनौपचारिक सचिवालय बैठक बोलाएको हो। भोलि हामी संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई औपचारिक बैठकका लागि सकेसम्म लिखित आग्रह गर्ने छौँ। उहाँले नमानेमा औपचारिकरुपमै सचिवालय बैठक बस्नेछ।’

तर उक्त बैठकले ओलीविरुद्ध कठोर निर्णय लिन सक्ला? पार्टी विभाजन रोक्न सफल होला या प्रधानमन्त्रीलाई कुर्सीबाट हटाउला? यसबारे असन्तुष्ट पक्षका सदस्यहरुले अहिले नै मुख खोल्न चाहेका छैनन्।

ओलीले भने बहुमत पुर्‍याएर आफ्नो राजीनामा माग्न ठिक्क परेको गुट हावी भएको केन्द्रीय सचिवालय, बाहुबली भएको स्थायी कमिटी र सडकछापहरु भएको केन्द्रीय कमिटी बैठकको कुनै औचित्य नभएको दाबी गरेका छन्।

शुक्रबारको धुम्बाराही बैठकमा प्रचण्डले गरेको ‘ब्रिफिङ’ अनुुसार बिहीबार ओलीलाई उनले पार्टी फुटाउन गुटीय भेला गरेको भन्दै आफूहरुलाई बाहिर आरोप लगाउने भित्र पार्टी एकताकै आधार भत्किनेगरी ‘जबज’का पक्षमा प्रदेश १ का नेताहरुलार्ए एक हुन निर्देशन दिन मिल्छ भन्दै प्रश्न गरेका थिए।

तर जबाफमा ओलीले प्रचण्डलाई धम्कीको शैलीमा भनेका थिए, ‘अब गुटीय भेला गरेको भन्दै गुनासो गर्न छोडौँ, पार्टी अलगअलग जस्तै भइसक्यो। तपाईँहरुले सकेको गर्नुहोस्, मैले सकेको गर्छु। जित हेरौँला।’

त्यसपछि प्रचण्ड अलि शान्त हुँदै भनेका थिए, ‘पहिले कमिटी बैठक डाकौँ। तपाईँले आत्मालोचना गर्नुपर्छ। तपाईँको कार्यशैली र व्यवहार सच्चिएन भने समाधानको उपाय छैन।’

प्रचण्डले अझै ओलीसँग स्पष्टीकरण मागेका थिए। तपाईँको राजीनामा कसले मागेको छ र? बाहिर भ्रम सिर्जना गर्नु भयो? प्रचण्डको प्रश्न ओलीतिर तेर्सियो। जबाफमा ओलीले ‘तपाईँहरु कोेटेश्वर र खुमलटार भेला गर्दै हिँडनुको अर्थ मलाई थाहा छैन र? भनेका थिए।

‘पार्टी फोड्ने कुरा, सोच्ने कुरा अपराध हो’


यसबाट आफूविरुद्ध बहुमत सिद्ध भएको बैठक नडाक्ने अर्थात नझुक्ने रणनीतिमा ओली छन्। आफ्नो विरोध यतिमै सिमित भएमा महाधिवेशन भन्दा अगावै पार्टी फुटाउने रणनीतिमा ओली लागेको असन्तुष्ट पक्षको बुझाई छ।

त्यसैले पार्टी जोगाएर ओलीलाई कम्तिमा सत्ताबाट हटाउनुपर्ने निष्कर्षमा असन्तुष्ट पक्ष पुगेको छ। यो पनि उसका लागि कठिन छ। ‘सचिवालयका सदस्यहरुलाई पार्टी पनि जोगाउनु छ। अनि पार्टीमा गरेका सहमति कहिल्यै कार्यान्वयन नगर्ने ओलीको विकल्पको कठोर निर्णय पनि गर्नुछ। वास्तवमा उहाँहरु निकै गम्भीर मोडमा हुनुहुन्छ,’ एक स्थायी कमिटी सदस्य विश्लेषण गर्छन्। यो बीचमा असन्तुष्ट समूहले कानुनव्यवसायीहरुसँग पनि ओलीले आगामी दिनमा चाल्न सक्ने कदम र त्यसका विरुद्धमा आफूहरु कसरी उत्रिने भन्ने सल्लाह पनि मागेको छ।

तर ओलीले आफूविरुद्ध कोटेश्वरतिर अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपनि त्यसलाई परास्त पारेर छोड्ने भन्दै निकै ठूलो आत्मविश्वास प्रदर्शन गरिसकेका छन्, बिहीबारनै।

यस्तो अवस्थामा असन्तुष्ट पक्षले पार्टी कसरी जोगाउला? शुक्रबार धुमबाराही बैठकबाट बाहिरिँदै गर्दा प्रचण्डले संक्षिप्तरुपमा पत्रकाहरुसँग भने,‘पार्टी जोगाउन मैलै ओलीजीलाई पटकपटक आग्रह गरेको छु, फेरि पनि प्रयास गर्छु।’

यसो त प्रचण्डले त्यसो भनेको केहीबेरमै नेता नेपालले पनि पार्टी फुटाउने सपना कसैले नदेखे हुन्छ भन्दै ओलीलाई चेतावनी दिएका छन्। उनले भनेका छन्,‘पार्टी फुटाउने सपना कसैले नदेखेहुन्छ। यसको त्यति कमजोर धरातल छैन।’

उनले भने,‘ यो कमजोर जगमा उभिएको पार्टी होइन, कमजोर जगमा सुरु भएको पार्टी पनि होइन, यो बहुत बलियो जगमा अनेक उत्तारचढावमा गुज्रिदै अगाडि बढेको पार्टी हो। कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन। सबैले अत्यन्तै ठूलो त्याग, तपस्या र बलिदानबाट पार्टी निर्माण भएको छ। पार्टी फोड्ने कुरा, सोच्ने कुरा अपराध हो।’

००

ओलीविरुद्ध नेकपाको समीरणमा निर्णायक मानिएका नेता गौतम पनि उभिएका छन्। ओलीका पक्षमा उभिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आग्रह यसपाली गौतमले अस्वीकार गरेका छन्।

आफूलाई पटकपटक धोखा दिएको र अपमान गरेको भन्दै गौतमले ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिँदै आएका छन्।

९ सदस्यीय सचिवालयमा ओलीविरुद्ध पाँच जना छन्, जसले सचिवालय बैठकबाट गरेको निर्णय कार्यान्वयन गर्ने बाध्यतामा ओली पर्ने छन्। त्यसकारण पनि ओली कमिटी बैठक बस्नुअघि प्रचण्डसँग छलफल गर्न चाहेको बुझिन्छ।

‘पहिले दुई अध्यक्षबीच समझदारी बन्नुपर्छ अनि मात्रै कमिटी बैठक डाकिनु पर्छ। हैन भने बैठक बिग्रहको थलो बन्ने छ,’ओली निकट स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री पोखरेलले भन्दै आएका छन्।

तर पटकपटक दुई अध्यक्षबीच गोप्य समझदारी बन्ने, त्यसबारे आफूहरुलाई जानकारी नहुने र कार्यान्वयनमा विवाद भएपछि आफ्ना पक्षमा उभिन दुई अध्यक्षलेनै आफूहरुसँग हारगुहार गर्ने प्रवृति अब बन्द हुनुपर्ने बताउँछन् स्थायी कमिटी टोपबहादुर रायमाझी।

भदौ २६ मै ओलीको घोषणा –म पनि कार्यकारी नै हुँ!


नेकपामा फेरि विवाद हुने संकेत भदौ २६ मै देखिएको थियो, जब ओलीले स्थायी कमिटीको बैठकको निर्णयअनुसार ‘सर्कुलर’ लागि ठिक्क पारेको अन्तरपार्टी निर्देशन ५ मा ओली र प्रचण्डले हस्ताक्षर गर्ने बेला आयो।

बालुवाटारमा महासचिव विष्णु पौडेलले अन्तरपार्टी निर्देशन ५ मा हस्ताक्षर गर्न आग्रह गरेपछि ओलीले भनेका थिए,‘कार्यकारी अध्यक्ष म पनि हुँ। म यसलाई मान्दिन।’ तर प्रचण्डले पार्टीले निर्णय गरिसकेपछि म मान्दिन भनेर हुन्छ? बेइज्जत कसको हुन्छ अब भन्दै ओलीलाई थमथमाएका थिए।’

त्यसपछि प्रचण्डले ओलीबाट फेरि पनि सहमति उल्लंघन हुने चिन्ता आफ्नो समूहका नेताहरुसमक्ष प्रकट गरेका थिए।

नभन्दै ओलीमाथि प्रचण्डलाई कार्यकारी अधिकार कागजमा मात्रै सुम्पिएको आरोप छ। त्यसलगत्तै प्रचण्डले ओलीको कामकारवाहीबारे नजिकबाट नियाल्न थालेका थिए।

असोज १५ गते ओलीले प्रचण्डलगायत पार्टी सचिवालयका हाल असन्तुष्ट सदस्यहरुलाई जानकारी नदिई आफू निकट युवराज खतिवडालाई अमेरिकास्थित नेपाली राजदूत, मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतस्थित नेपाली राजदूतमा नियुक्त गरेर तर्साएका थिए। त्यसबाट पार्टीका ‘कमाण्ड’ ओलीकै हातमा रहेको सन्देश बाहिर आएको थियो।

त्यसको १० दिनपछि असोज २५ गते नेता यामलाल कँडेललाई प्रचण्ड निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लगाएको आरोप पनि ओलीमाथि लाग्यो।

अर्कोतिर स्थायी कमिटीको निर्णयअनुसार सचिवालयले उपयुक्त मापदण्डका आधारमा सिफारिस गरेका व्यक्तिहरुलाई राखेर मन्त्रिमण्डल पुर्नगठन गर्ने प्रचण्डको अनुरोध अस्वीकार गरी आफू निकट तीन जनालाई मात्रै मन्त्रिमण्डलमा स्थान दिएको आरोप पनि ओलीले खेपेका छन्।

विवादस्पद निर्णयहरु बढाउँदै गएका तर कमिटी बैठकलाई अस्वीकार गर्दै आएका ओलीले भारतीय जासुुसी संस्था ‘रअ’ का प्रमखलाई भेटेर राष्ट्रयतामाथिनै आघात पुर्याएको अर्को ठूलो आरोप झेलेका छन्।

ओलीलाई कसरी तह लगाउने भन्नेमा असन्तुष्ट पक्षको भेला बाख्लिएका बेला उनले एकताका बेला नेकपाले अन्तरवस्तु मात्रै मानेर थाँती राखेको पूर्वएमाले नेता मदनभण्डारीद्धारा प्रतिवादित विचार जनताको बहुदलीय जनबाद(जबज)लाई दह्रोसँग समातेर प्रतिकुल अवस्थाको सामना गर्न भन्दै आफू निकट नेतारुलाई निर्देशन दिए। यसबाट नेकपामा विवादको दायरा अझै फराकिलो भएको छ।

पछिल्लो केन्द्रीय कमिटी बैठकले गुट फैलाउने काम भएको भन्दै तत्काललाई विभिन्न नेताहरुका नाममा खुलेका प्रतिष्ठानका गतिविधि रोक्ने निर्णय गरेपनि ओलीले मदन भण्डारी प्रतिष्ठानलाई जबजका आधारमा सक्रिय बनाउन निर्देशन दिए।

यसबाट असन्तुष्ट पक्षलाई ओलीविरुद्ध जाइलाग्न अझै मद्दत पुगेको छ। यता ओली आफ्नो राजीनामा माग भइरहेको तर आफूले राजीनामा दिए देश बर्बादीतिर धकलिने अभिव्यक्ति दिएर आफ्नो बचाउमा उत्रिएका छन्।

बदलीएका प्रचण्ड र विश्वासमा परेका अन्य सदस्य


आफ्नो समूहलाई छोडी ओलीसँग मिलेर स्वार्थ पूर्ति गर्न खोज्दा प्रचण्डले ओलीबाट पटकपटक धोखा खाइसकेका छन्। पार्टी एकता संकटमा परेका बेला ओलीसँग एक्लै बस्ने र केही गोप्य समझदारी गरिहाल्ने प्रचण्ड यसपटक बदलिएको उनी निकट नेताहरु बताउँछन्।

त्यसकारण नेता नेपाल, खनाल, श्रेष्ठ र गौतमको दरिलो साथ छ उनलाई यसपाली। ‘मैले ओलीबाट धोखा मात्रै पाएको छैन, साथीहरुकोसमेत मन दुखाएको छु। अब तपाईहरुको निर्णय बिना म एक्लैले केही गर्ने छैन,’प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।

आफ्नो समूहमा जनाएको प्रतिवद्धता कार्यान्वयनको संकेत पनि प्रचण्डले देखाइरहेका छन्। प्रचण्डलाई ओलीसँग एक्लै बसेर समझदारी गर्न र त्यसपछि मात्रै कमिटी बैठक बोलाउन ओली पक्षका नेताहरुले पटकपटक आग्रह गरेका छन्।

प्रचण्ड भने त्यसलाई अस्वीकार गर्दै ओलीसँग ‘वान अन वान’ वार्ता नगर्ने बरु सचिवालय बैठकमै छलफल गर्न ओलीलाई दुई बालुवाटार पुगेर दबाब दिइसकेका छन्, यो बीचमा। ‘पार्टी एकता गर्दा जे सहमति भएको थियो त्योे ओलीजीले कहिल्यै कार्यान्वयन गर्नुभएन, नत सरकारलाई लोकप्रिय बनाउनुभयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती सदस्यले भने।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष