बालुवाटारमा के भयो करिब दुई घन्टासम्म?

प्रचण्डसहित पाँच नेताको लिखित पत्रः पार्टीमा उत्पन्न सबै समस्याका दोषी ओली

प्रचण्डसहित पाँच नेताको लिखित पत्रः पार्टीमा उत्पन्न सबै समस्याका दोषी ओली
+
-

काठमाडौँ- केन्द्रीय सचिवालय बैठकका लागि सहमत हुन आफूहरुले संयुक्तरुपमा गर्ने अनुरोध नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्छन् कि भन्ने झिनो आस असन्तुष्ट समूहका सदस्यहरुमा पलाएको थियो, शनिबार बिहान। त्यसैले उनीहरु पूर्वनिर्धारित समयमै पार्टी मुख्यालय धुम्बाराही पुगे।

ओलीलाई बैठकका लागि अनुरोध गर्न लिखितपत्र बुझाउने कार्यक्रम महत्वपूर्ण ठानेर समूहका केही सदस्यले आफ्नो जिल्लामा तय भएका महत्वपूर्ण कार्यक्रमसमेत स्थगित गरे।

धुम्बाराहीमा करिव तीन घण्टा छलफल गरेपछि बालुवाटार पुग्दासम्म उनीहरुको त्यो आस मरिसकेको थिएन। बालुवार छिर्दै गर्दा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशसञ्चारलाई भनेका थिए, ‘प्रधानमन्त्री ओलीलाई बैठकका लागि अनुरोध गर्न हामी लिखित पत्र बुझाउँन जाँदैछौँ। आशा छ उहाँले स्वीकार्नुहुन्छ।’

तर करिब सवा ११ बजे अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित बालुवाटार छिरेका श्रेष्ठ करिब पौने दुई घण्टापछि फर्किँदा त्यति उत्साहित देखिएनन्, नत सञ्चारमाध्यलाई ‘ब्रिफिङ’ गर्ने कुरानै पर्याप्त थियो उनीसँग।

प्रचण्डसहित अन्य नेताहरु सञ्चारमाध्यमलाई छलेर घरतर्फ हुँकिसकेका थिए, त्यतिञ्जेल। श्रेष्ठले आफूहरुले एक दुईदिनमै केन्द्रीय सचिवालय बैठक डाक्न अनुरोध गरेपनि प्रधानमन्त्री ओलीले त्यसबारे कुनै निष्कर्ष नसुनाएको बताए।

यसले ओली आफ्नो पक्षमा बहुमत नजुटेसम्म केन्द्रीय सचिवालय बैठक बसाल्न चाहँदैनन् भन्ने यसअघिका सूचनाहरुलाई थप पुष्टि गरेको थियो।

असन्तुष्ट समूहका नेता झलनाथ खनालकाअनुसार नेकपालाई बचाउने अन्तिम विकल्प बैठक मात्रै भएको भन्दै त्यसका लागि प्रधानमन्त्री ओलीलाई लिखितपत्र बुझाएको बताए।

उनले भने, ‘बैठक बोलाउनुको विकल्प छैन। आज चाँडै बैठक डाकौँ, बैठकमा छलफल गरौँ भनिएको छ। जति पनि समस्या छ त्यहीँ छलफल गर्ने हो। बैठकले जे निर्णय गर्छ त्यो स्वीकार्न जो कसैलाई पर्छ।’

उनले बैठक बस्ने, निर्णय गर्ने अनि कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य हुनुपर्ने आफूहरुको अडान शनिबार पनि बालुवाटारमा दोहोर्‍याएको बताए।

लिखित पत्र बुझाउनु अघि प्रचण्डले ओलीलाई नेकपा एकता महत्वपूर्ण भए पनि पार्टी स्थायी कमिटीका निर्णयहरु कार्यान्वयन नगरेको, मन्त्रिपरिषद्को हेरफेर पनि जथाभावी गरेको, राजदूत नियुक्तिमा पनि हालिमुहाली गरेको, बैठक बोलाउँछु भन्दा पार्टी फुटाउन धम्की दिएको र हाल उत्पन्न समस्याबारे गम्भीर नभएको आरोप लगाएका थिए।

बैठकमा प्रचण्डले भनेका थिए, ‘तपाईँले औपचारिक बैठक डाकेमा पार्टी फुटाउँछु भन्दै धम्की दिनुभयो। त्यसैले अनौपचारिक बैठक डाकेर साथीहरुसँगै आएको छु। बैठकको अनुरोध लिखितपत्र बुझाउने हाम्रो योजना थियो।’ त्यतिञ्जेल प्रचण्डसँग मुर्मुरिएका ओलीको हातमा लिखितपत्र थमाइयो।

प्रचण्डले जालझेल गरेर गुटबन्दी गरेको ओलीको आरोप


पत्र पढ्नासाथ ओली एकाएक झोँक्किए। उनको सबैभन्दा धेरै आक्रोश उनै प्रचण्डसँग थियो, जोसँग मत बाझिएपछि अहिले नेकपा विभाजनको संघारमा पुगेको छ।

स्रोतकाअनुसार ओलीले प्रचण्डलाई लक्षित गर्दै प्रश्नहरु तेर्साएका थिए, ‘तपाईँले जालझेल गर्नुभयो, खाली गुटबन्दी गर्ने? गुटबन्दी गरेर सबै कुरा हात लगाउने खोज्ने? मैले किन बैठक डाक्ने?’

त्यसपछि ओली र प्रचण्डको भनाभन अझै चर्किएको थियो।

प्रचण्डको ओलीलाई जबाफ थियो, ‘तपाईँ नै हो जालझेल गर्ने, तपाईँ नै हो सुरक्षाको घेरामा बसेर गोप्यरुपमा गुटबन्दी गर्ने। बालुवाटारलाई तपाईँले राजनीतिक चलखेलको अखडा बनाउनु भएको छ। मलाई दोष दिने ठाउँ छैन।’

ओलीले बैठक राख्न नमानेपछि आफूले आफ्ना साथीहरुसँग छलफल गर्दा गल्ती नगरेको स्पष्ट पार्ने कोशिसमा प्रचण्ड उत्रिएका थिए। प्रचण्डले ओलीलाई दिएको जबाफको उनका समूहका सबै सदस्यहरुले समर्थनसमेत गरेका थिए।

ओलीलाई बामदेवको ठाडो चुनौती


ओलीको कार्यशैली र व्यवहारबाट आफू अपमानित भएको बताउँदै उनीविरुद्धको समूहमा फेरि मितेरी लगाएका नेता बामदेव गौतम पनि ओलीसँग शनिबार निकै आक्रोशित बनेका थिए।

गौतमले प्रचण्डलाई समर्थन गर्दै ओलीलाई भनेका थिए, ‘पार्टीले कार्यकारी अध्यक्ष भनिसकेको व्यक्तिसँग छलफल गर्दा कसरी गुटबन्दी हुन्छ। तपाईँले अहोरात्र छलफल गर्दा गुटबन्दी नहुने, हामीले आफ्नै पार्टीका कार्यकारी अध्यक्षसँग छलफल गर्दा कसरी गुटबन्दी हुन्छ?’

गौतमले दुई वटा अध्यक्षमध्ये जोसँग छलफल गरेपनि त्यो गुटबन्दी नहुने भन्दै प्रचण्डको समर्थन गरेका थिए। गौतमले ओलीलाई लक्षित गर्दै भनेका थिए, ‘दुई वटा अध्यक्ष हौँ भन्ने, अझ एउटालाई कार्यकारी अधिकार पनि दिने अनि एउटा अध्यक्षसँग बसेर छलफल गर्दा गुटबन्दी गरेको भन्न कसरी सकेको?’

त्यसको प्रतिक्रियामा बल्ल ओलीले आफूले बैठक बसाल्दैन भन्दै नहिँडेको बताएका थिए। ओलीले भनेका थिए, ‘मैले बैठक डाक्दिन भनेर कसलाई भनेको छु? तपाईँहरु मेराविरुद्धमा कुप्रचार गर्दै हुनुहुन्छ। यो सबै बन्द गर्नुहोस्।’

त्यसपछि फेरि प्रचण्ड बोलेका थिए।

प्रचण्डले ओलीलाई भनेका थिए, ‘तपाईँले बैठक बोलाउनुहोस् भनेर मलाई कहिल्यै भन्नु भयो? मलाई बैठक बोलाउन सहमति दिनुभयो? बैठक बोलाउछु भन्दा पार्टी फुटाइदिन्छु भनेको होइन?’

प्रचण्ड र ओलीको भनाभन भइरहेका बेला गौतमले ओलीलाई सहयोग माग्न र गर्न दुबै नसक्ने मानिसका रुपमा चित्रित गर्न भ्याएका थिए।

‘हामी तपाईँका मित्र थियौँ, तर तपाईँले हामीलाई शत्रुको व्यवहार गर्दै हुनुहुन्छ। तपाईँले मित्रको सहयोग लिन पनि नसक्ने, हामीलाई पनि नगर्ने तपाईँमा अनौठो बानीको विकास भएको छ, बालुवाटार छिरेपछि। तपाईँ व्यक्तिवादी हुनुहुन्छ। सामूहिक भावना नहुने कम्युनिष्ट हुन सक्दैन’, गौतमले ओलीलाई ठाडो चुनौती दिएका थिए।

आत्मालोचना गर्न ओलीलाई माधव नेपालको अनुरोध


बोल्ने पालो आयो माधव नेपालको। नेपालले ओलीलाई भनेका थिए, ‘त्यसोभए तपाईँले कहिल्यै पनि गल्ती गर्नुभएन। तपाईँमा कमजोरी नै छैन? तपाईँ सर्वगुणसम्पन्न मानिस हो? तपाईँले कहिल्यै आत्मआलोचना गर्न पर्दैन? यत्रो साथीहरु तपाईँको आलोचना र विरोध गर्ने ठाउँमा किन पुग्यो होलान् भन्ने तपाईँले सोच्न पर्दैन?’

नेपालले ओलीलाई आत्मालोचन गरेर, आफना गल्तीलाई सच्याएर आउन निर्देशन शैलीमा भनेका थिए। नेपालले ‘तत्काल बैठक डाक्नुहोस्’ भन्दै बारम्बार अनुरोधसमेत गरेका थिए। नेता नेपालको अनुरोधलाई समर्थन गरेका थिए अर्का वरिष्ठ नेता झलनाथ खनालले।

नारायणकाजीलाई प्रवक्ताको दायरा मिचेको ओलीको आरोप


अन्त्यतिर बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ओलीले प्रवक्ताको सीमा मिचेको आरोप लगाएका छन्।

प्रवक्ता श्रेष्ठले आफूले कोरोनाका कारण मुलुकमा उत्पन्न गम्भीर स्वास्थ्य समस्या र पार्टीकै पनि विवाद समाधानका लागि बैठक डाक्न पटकपटक लिखित अनुरोध गर्दा पनि त्यसलाई बेवास्ता गरेको बताएका थिए।

तर ओलीले श्रेष्ठसँग पनि आक्रोश पोख्न भ्याएका थिए। श्रेष्ठले भनेका थिए, ‘आलोचना गर्दा बिरोध गरेको ठान्नु कम्युनिष्ट प्रवृति होइन। मुलुक यति गम्भीर अवस्थामा फसेका बेला बैठक डाक्नै नपर्ने, बैठकबारे जबाफ नै दिन नपर्ने तपाईँहरु कस्तो नेतृत्व हो?’ तर ओलीले श्रेष्ठलाई भनेका थिए, ‘तपाईँले पनि प्रवक्ताको दायरा मिच्नु भएको छ।’

तर श्रेष्ठले आफूले त्यसो नगरेको, बरु पार्टीको लाइन बोलेर सहयोग गरेको भन्दै ओलीलाई कडा जबाफ दिएका थिए। त्यसपछि ओली मौन भएका थिए।

ओली र उनीको विरुद्धमा उत्रिएका नेताहरुबीच शनिबारको यो भनाभनले नेकपामा अझै गहिरो संकटमा फसेको स्पष्ट देखाउँछ। असन्तुष्ट समूहका नेताहरुले करिव ४५ मिनेट भोलि बैठक बसाल्नुपर्नेमा ओलीलाई दबाब दिएपनि ओली त्यसमा सहमत हुन सकेनन्।

बरु ओलीले भने झारा टारेको शैलीमा भने, ‘ म फेरि पनि भन्छु, बैठक नडाक्ने मैले भनेको छैन। बैठक जहिले बसेपनि हुन्छ। भोलि बसौँला, पर्सि बसौँला, त्यसको भोलिपल्ट बसौँला। सल्लाह गरेर बसौँला।’

तर चर्को दबाबपछि पनि ओलीले बैठकको मिति तय गर्न नसक्नुको पछाडि उनी बैठक बोलाउन चाहँदैनन् भन्नेमा स्पष्ट भएको नेता खनालले बताए। तर खनालको एउटा मात्रै अडान छ, ‘बैठक डाकेर छलफल गर्नुको विकल्प छैन।’

के छ लिखित पत्रमा, जसले गर्दा ओली सुरुमै झोँक्किए?


वास्तवमा के थियो लिखितपत्रमा जसले गर्दा ओली झोँक्किए? स्रोतका अनुसार ओलीलाई बुझाइएको लिखितपत्रमा मुख्यतयाः कोरोना महामारी र त्यसले उत्पन्न गराएको जटिल स्थिति र समाधानका उपायबारे व्याख्या गरिएको छ।

यस्तै पत्रमा कोसेढुंगा भनिएको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नहुनुमा ओली नै दोषी भएको देखाइएको छ।

पत्रमा पार्टी निर्णयविपरीत ओलीले राजदूत नियुक्त गरेका, कर्णाली विवाद चर्काएको, मन्त्रिपरिषद्‌मा हेरफेर गरेको, पर्सा घटनाका दोषीलाई कारवाही गर्न नखोजेको भनिएको छ।

यस्तै विवादास्पद भारतीय जासुसी संस्था ‘रअ’ प्रमखुको नेपाल भ्रमण र ओलीसँगको भेटलाई लिएर पनि पत्रमा आपत्ति जनाइएको छ।

गोयलसँग भेट किन आवश्यक पर्‍यो? यसबारे पार्टीमा किन परामर्श गरिएन? उपलब्धी के भयो? जस्ता प्रश्नहरु पत्रमा सोधिएको पार्टी स्रोतले बतायो।

यस्तै ओली र उनी निकट नेता ईश्वर पोखरेलले पार्टी एकताका बेला थाँती राखेको जनताको बहुदलीय जनबाद (जबज) पक्षका उभिन आफ्ना नेताहरुलाई गरेको निर्देशनलाई लिएर पनि पत्रमा आपत्ति जनाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष