
झापा– कोरोना भाइरसको संक्रमणबाट झापामा थप ४ जनाको मृत्यु भएको छ।
२४ घण्टाभित्र तीन महिला र एक बृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ।
शुक्रबार राति निधन भएका बिर्तामोड ४ का एक बृद्धलाई मृत्युपछि संक्रमण पुष्टि भएको छ। बिर्तामोड ४ निवासी ८५ वर्षका ती बृद्धलाई शुक्रबार राति ११ः४५ बजे आफ्नै घरमा मृत्यु भएको हो। उनको शुक्रबार कनकाईको कोटीहोम ल्यावमा पीसीआर परीक्षण गरिएको थियो। मृत्युपछि उनको शनिबार बिहान आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो।
शुक्रबार राति नै बिर्तामोडकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तामोड वडा नं ६ की ४२ वर्षिया महिलाको उपचारका क्रममा विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको हो।
शिवसताक्षीकी कोरोना संक्रमित एक युवतीको पनि मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नं ६ की २५ वर्षीया युवतीको विराटनगरस्थित नोबेल हस्पिटलमै शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। उनी ल्याब टेक्निसियन थिइन्।
त्यसैगरि दमक नगरपालिका वडा नं ८ की ४२ वर्षिया महिलाको उपचारका क्रममा विराटनगरको नोवेल हस्पिटलमा शनिबार दिउँसो मृत्यु भएको छ।
दमक ८ स्थायी ठेगाना भएपनि ती महिला मोरङको भाउन्नेमा बस्दै आएकी थिइन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झापामा ६२ पुगेको छ।