बालुवाटारको ओली– नेपाल पक्ष वार्ता

आफ्ना सेता जुँगा पनि अप्रेसनपछि कालो भएको भन्दै आफू नझुक्ने ओलीको धम्की

आफ्ना सेता जुँगा पनि अप्रेसनपछि कालो भएको भन्दै आफू नझुक्ने ओलीको धम्की
+
-

काठमाडौँ- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओेलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो सम्बन्ध झन् तिक्ततापूर्ण बन्न पुगेका बेला उनलाई नै साथ दिइरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताहरुको मन पगाल्ने कोशिस एक पटक फेरि गरेका छन्।

तर नेता नेपाल पक्ष रित्तो हात लिएर फर्कियो बालुवाटारबाट, आइतबार। करिब तीन घण्टा लामो बसाइमा ओलीले नेपाल पक्षलाई पार्टी फुटको संघारमा पुगेको र पहिलेभन्दा गम्भीर स्थितिमा आफूहरु रहेको सुनाए। तर समस्या कसरी समाधान गर्ने भन्नेमा ओली प्रवेश गर्न चाहेनन्।

त्यसैले नेता नेपालले पार्टी गम्भीर स्थितिमा छ भन्ने महसुस भएको हो भने समस्या समाधानका लागि अध्यक्षका नाताले ठोस प्रस्ताव अघि सार्न ओलीलाई चुनौती दिएको बैठकमा सामेल नेपाल निकट नेता सुरेन्द्र पाण्डेले देशसञ्चारलाई बताए।

पाण्डेले भने, ‘प्रधानमन्त्रीले पार्टी फुटको संघारमा छ भन्नुभयो। वरिष्ठ नेता माधव नेपाललगायत हामीले पार्टीलाई जोगाउने कर्तव्य तपाईँको पनि हो, ठोस प्रस्ताव ल्याउनुहोस् भनेर हामीले प्रधानमन्त्रीलाई जवाफ दिएका छौँ।’

नेपाल पक्षको चुनौतीपछि ओलीले पार्टी असहज परिस्थितिमा पुगेका बेला सहयोग गर्नुपर्ने त कता हो कता आफैविरुद्ध गुटबन्दी मात्रै बढाइएको भन्दै प्रतिप्रश्न गरेका थिए। त्यसमा नेता नेपालको जबाफ थियो, ‘पार्टी यो हदसम्म जानुमा सरकार र पार्टी प्रमुख तपाईँको दोष छैन र?’

‘दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक’


नेता पाण्डेका अनुसार नेता नेपालले ओलीलाई पार्टीमा समस्या छन् भन्ने महशुस भएको हो भने तत्काल केन्द्रीय सचिवालय बैठक डाकौँ भन्ने प्रस्ताव गरको थिए।

‘समस्या समधानको विकल्प नै बैठक हो। बैठक डाक्न अब ढिलो गर्नुहुन्न,’ नेपालको भनाइ उद्धृत गर्दै नेता पाण्डेले भने। तर ओलीले नेता नेपालको अनुरोध अस्वीकार गरेका थिए।

ओलीले पहिले दुई अध्यक्षबीच छलफल र समझदारी हुनुपर्ने र त्यसका आधारमा महासचिवले बैठक बोलाउने व्यवस्था विधानमा भएको तर्क गरेका थिए। तर नेपालले नेतृत्वले सँधै जिम्मेवारी लिँदै आएको प्रसंग उल्लेख गर्दै वर्तमान परिस्थितिको जिम्मेवारीबाट भाग्न नमिल्ने आग्रह गरेका थिए।

त्यसको सिधा जबाफ ओलीबाट आएन। नेपालले पार्टी एकता सुनिश्चित गर्न निश्चित मार्गनिर्देशनका लागि केन्द्रीय सचिवालयबाट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन उपयुक्त भएको र त्यसमा अग्रसर हुन ओलीलाई आग्रह गरेका थिए। त्यसलाई नेता पाण्डेसँगै नेपाल निकट नेताहरु रघुजी पन्त र भीम रावलले पनि अनुमोदन गरेका थिए।

तर ओलीले त्यो बीचमा नेपाल पक्षलाई भरपुर ‘इन्टरटेन’ गर्ने कोशिस गरे। नेपाल पक्षको बैठक डाक्नुपर्ने अनुरोधको जबाफ ओलीले आफ्नो शारीरिक अवस्थाको वर्णन गरेर दिए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि आफू पूर्ण स्वस्थ रहेको, हाछ्यूँ पनि नआउने अवस्था मात्रै होइन, अब त सेतो जुँघा पनि आधाआधा कालो आउन थालेको बताएर ओलीले आफ्नो स्वस्थ तनको वर्णन गरे। अर्थात ओली राजनीतिक कुश्तीका लागि तन्दुरुस्त र तयार रहेको सन्देश नेपाल पक्षलाई दिएका थिए।

‘मदन भण्डारी फाउण्डेशन अगाडि बढिसक्यो’


विवाद चुलिएपछि ओली पक्षले जनताको बहुदलीय जनबाद (जबज)का पक्षमा लाग्न आफ्ना नेताहरुलाई निर्देशन दिनेक्रम जारी छ। प्रदेश नम्बर एकका नेताहरुलाई जबजका पक्षमा ‘भर्चुअल’ निर्देशन दिएको ओली पक्षले शनिबार काठमाडौँ जिल्ला भेला आयोजना गरेको छ।

पार्टी एकताका बेला जबजलाई अन्तरवस्तु मानेर जनताको जनवादलाई नेकपाको तात्कालिक कार्यक्रम मान्ने सहमति भएको थियो। यस्तै मदन भण्डारीलगायत विभिन्न नेताका नाममा खुलेका फाउण्डेशनले गुटबन्दी फैलाउन सहयोग गरेको भन्दै यस्ता फाउण्डेशनका गतिविधि रोक्ने निर्णय गत वर्ष माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भएको थियो।

तर ओली पक्षले जबजलाई प्राथमिकताका साथ वकालतको विषय बनाएपछि प्रचण्ड-नेपाल पक्ष आक्रोशित बनेको छ। आइतबार नेता नेपालले ओलीलाई भनेका थिए, ‘पार्टी निर्णयविपरीत मदन भण्डारी फाउण्डेशनका क्रियाकलाप बन्द गर्नुपर्छ। जबजका पक्षमा बढेका भेलाले राम्रो सन्देश दिएको छैन।’

तर ओलीले नेपाललाई अब यो अभियान नरोकिने ठाडो जबाफ दिएर नेपाललाई निराश तुल्याएका थिए। नेता पाण्डेका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘फाउण्डेशनका गतिविधि त अघि बढ्छ। यसलाई अब रोक्न मिल्दैन।’

छलफलमा सामेल नेता रघुजी पन्तका अनुसार प्रधानमन्त्री ओलीले समझदारीका लागि भन्दा पनि आफ्ना गुनासा पोख्न आफूहरुलाई बोलाएको जस्तो अनुभव भएको बताए। उनले भने, ‘पार्टी अहिले गम्भीर मोडमै छ। तर छलफलबाट ठोस निष्कर्ष निस्किएन।’

विद्यमान समस्या हल गर्न बैठक नै विकल्प भएकोमा आफूहरुले जोड दिएको पन्तले बताए। पाण्डेले भने, ‘हामीले बैठकमा साझा कुरा गरेको हो। प्राविधिक कुरामा जान हुन्न भनेको हो। कसले के भन्यो भन्नेतिर जाँदा समस्या समाधान गर्न अझ बिलम्ब हुन्छ भन्नेमा जोड दिएको हो।’

‘मेरो राजीनामा माग्न साथीहरु ठिक्क परेका छन्’


केही दिनयता आफ्नो राजीनामाका लागि ठूलो कसरत भइरहेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई आइतबार पनि त्यसबारे सुनाए। आफूले राम्रो काम गर्दागर्दै पनि आफ्नो राजीनामा मागेर मुलुकमा अस्थीरता मच्चाउने पक्षमा आफ्नै साथीहरु लागेको ओलीले सुनाएका थिए।

तर नेपालले आफूहरु त्यस्तो विषयमा प्रवेश नगरेको दाबी गरेका थिए। ओलीले भदौ २५ गतेको स्थायी कमिटी बैठकका निर्णयहरु उल्लंघन गरेको आरोपबाट सुरु विवादले नेकपालाई फुटको संघारमा पुर्‍याएको छ।

पार्टी फुटाउन तयार भएको आरोपप्रत्यारोले पनि नेकपामा पर्याप्त ठाउँ पायो। हाल आएर ओली र उनीसँग असन्तुष्ट दुबै पक्षले पार्टी फुट्न नदिने दाबी गरेका छन्। तर उनीहरुले सहमतिका लागि ठोस आधार तयार पार्न सकेका छैनन्।

समस्या समाधानको विकल्प बनेको केन्द्रीय सचिवालय बैठक बोलाउन यो समूहले शनिबार मात्रै ओलीलाई लिखितपत्र बुझाएको छ। तर लिखितपत्रमा सबै समस्याका मुख्य दोषी ओली नै भएको निष्कर्ष निकालिएकाले ओली प्रचण्ड-नेपाल समूहप्रति अझै क्षुब्ध बनेका छन्।

बरु प्रचण्डलाई अलग्याएर नेपाल समूहलाई आफ्नो बनाउने रणनीतिका साथ ओलीले आइतबार नेपाल र उनी निकट नेताहरुलाई बालुवाटार बोलाएका हुन्। पछिल्लो पटक विवाद उत्पन्न भएपछि ओलीले नेपाललाई दुई पटकसम्म एक्लै बालुवाटार बोलाएर आफूसँगको सहकार्यका लागि हात अघि बढाएका थिए।

तर नेपालले आफू विधि, पद्धति र प्रक्रियाबाट पार्टी अघि बढोस् भन्ने चाहेको र संस्थागतरुपमा काम गरेर पहिले देखाउन ओलीलाई चुनौती दिएका थिए।

आइतबार पनि ओलीले नेपाल पक्षकलाई बोलाएर सहयोगकै याचना गरेका गरेका हुन्।

प्रथम र दोस्रो अध्यक्षलाई लिएर बहस सुरु


प्रचण्डले पार्टी कमिटी बैठकबाट प्राप्त आफ्नो कार्यकारी अधिकारमाथि ओलीबाट फेरि हस्तक्षप भएको भन्दै त्यो सच्याउनका लागि कसरत गरिरहेका बेला ओलीले शनिबार एपीवान टेलिभिजनको एक कार्यक्रममा आफू पनि पार्टीको प्रथम अध्यक्ष भएको र बैठक बसाल्ने या नबसाल्ने निर्णय आफूले पनि गर्न पाउने प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिसँगै प्रचण्डको कार्यकारी अधिकार खोसिएको प्रचण्ड पक्षीय नेताहरुमा बहस भएको सुरु भएको छ।

अर्कोतिर ओलीले आफूलाई फेरि सार्वजनिकरुपमै पार्टीको प्रथम अध्यक्ष भनेपछि उनले भनेको अब प्रचण्डले मान्नुको विकल्प नभएकोबारे पनि  बहस सुरु भएको छ।

ओली निकट नेता खिमलाल भ्टटराईले प्रधानमन्त्री ओलीले आफू प्रथम अध्यक्ष घोषणा गरिसकेको अवस्थामा अब उहाँका निर्देशनमा अर्का अध्यक्ष प्रचण्ड हिँड्नुको विकल्प नभएको सुनाए।

उनले आइतबार साँझ भने,‘पार्टी एकतालाई बचाउने हो भने अब प्रथम अध्यक्षले भनेको दोस्रो अध्यक्षले मान्नुपर्छ।’

यो पनि पढ्नुहोस्

ओली-पार्टी फुटको संघारमा छ,  नेपाल-ठोस प्रस्ताव ल्याएर रोक्नुहोस्

ओली-पार्टी फुटको संघारमा छ, नेपाल-ठोस प्रस्ताव ल्याएर रोक्नुहोस्

‘जबज’का क्रियाकलाप म रोक्न सक्दिनँ: प्रधानमन्त्री ओली

‘जबज’का क्रियाकलाप म रोक्न सक्दिनँ: प्रधानमन्त्री ओली

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष