
काठमाडौँ- विवादका बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्।
केहीबेर अघि उनी अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको पार्टी स्रोतले पुष्टि गरेको छ।
चार बजे पार्टी सचिवालय बैठक आह्वान गरेका प्रचण्ड पहिले बालुवाटार गएका हुन्।
प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएकाले अध्यक्ष प्रचण्ड अहिले बालुवाटार गएको र चार बजे धुम्बाराहीमा हुने भनिएको केन्द्रीय सचिवालय बैठक अनौपचारिकरुपमा बस्ने जानकारी दिए।
उनले देशसञ्चारसँग भने,‘हामीले धुम्बाराहीमा तय गरेको बैठक चार बजे हुन्छ। तर त्यो अनौपचारिक हुनेछ। अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएकाले अहिले उहाँ त्यसतर्फ जानु भएको छ।’
तत्काल केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न प्रधानमन्त्री ओली सहमत हुनेमा आफूले अपेक्षा गरेको उनले बताए।
ओली सहमत नभएको खण्डमा चार बजे धुम्बाराहीमा तय गरिएको बैठकलाई औपचारिक भन्ने र त्यसैबाट आवश्यक निर्णय लिने प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपालको तयारी रहेको भएपनि प्रचण्ड बालुवाटार गएकाले उक्त बैठकलाई अनौपचारिक भनिएको हो।
नेकपामा ओली र प्रचण्डको पछिल्लो पटक फेरि शक्ति संघर्ष चुलिएपछि एकता नै संकटमा परेको छ।