
विर्तामोड- नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले विकसित समाज जस्तै अबको समाजवादको लक्ष्य हुनुपर्ने बताएका छन्। झापाको विर्तामोडमा आइतवार आयोजना गरिएको’अबको समाजवाद’ विषयक संवाद कार्यक्रममा बोल्दै एमाले नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाज गतिशील बन्दै जाँदा चुनौतीहरु नयाँनयाँ थपिँदै गएको बताए।
चुनौती थपिँदै गए पनि ती चुनौतीको समाधान पुरानै तरिकाले सोच्ने गरिएकाले सही समाधान हुन नसकेको नेता ज्ञवालीको भनाइ छ। उनले भने, ‘अब हिजोका संरचना बासी हुँदै गए। हिजोका धारणाले अबका प्रश्नहरुका उत्तर पाइँदैन। नयाँ ढंगबाट सोचनुपर्छ।’
नयाँ तरिकाबाट समाजवादको व्याख्या कसरी गर्ने भन्ने विषयमा छलफल गर्न जरुरी रहेको नेता ज्ञवालीले बताए। ‘अबको समाजवाद कुनै एउटा पार्टीको पेवा सिद्धान्त होइन,’ ज्ञवालीले भने, ‘लक्ष्य के हुने भन्ने बारेमा टोल टोलमा छलफल चलाउनुपर्छ।’
अमेरिका र चीनको उदाहरण दिँदै उनले अमेरिका जस्तो पुँजीबादी देश डरलाग्दो संकटबाट गुज्रिरहेको बताए। चीन खुल्ला बजारबाट अगाडि बढिरहेको नेता ज्ञवालीको भनाइ छ। उनले भने, ‘अमेरिका जस्तो देश जस्ले पूँजीवादको नेतृत्व गरिरहेको छ, उ नै बेला बेला हच्किएको समाचार हामी पढन पाइरहेका छौं।’ उनले समाजवाद नै विश्व हाँक्नसक्ने सिद्धान्त रहेछ भन्ने विषयमा विश्वमा बहस भइरहेको बताए। उनले विश्वमा चलनमा आएको ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरन्जन समाजवादकै उपज भएको बताए। उनले नेपालको समाजवादी आन्दोलनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे।
नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले नेपालमा समाजवादको बहस नै जोडदार चलाउनुपर्ने बताए। उनले सबभन्दा पहिला समृद्ध बहसको आवश्यक्ता भएको बताए। नेता श्रेष्ठले बहसले नै नयाँ अवधारणा आउने बताए। उनले भने, ‘समाजवादको बहस घनिभूत नभइ समाजवादतर्फ पुग्ने रणनीतिक लक्ष्य पूरा हुन सक्दैन।’
माओवादी केन्द्रका नेता श्रेष्ठले अब समाजवादतर्फ देशलाई डोर्याउने हो भने विकास नगरी सुख नभएको बताए। उनले भने, ‘म तीन पटक भन्छु विकास, विकास फेरि विकास।’ तर नेताहरुले काम गर्ने क्षमता राखेनन् भने समाजवादको सिद्धान्तले हावा खाने उनले बताए।