ओलीको जवाफी प्रस्तावको सारसंक्षेप

भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको ओलीको ठहर

भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको ओलीको ठहर
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भावनात्मक रुपमा आफ्नो पार्टी विभाजित भइसकेको निष्कर्षका साथ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अन्य असन्तुष्ट पक्षलाई एकताका लागि एउटा अर्को मौका दिन आग्रह गरेका छन्।

लामो प्रतीक्षा र आँकलनपछि शनिबारको केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावमा लगाइएको आरोपको प्रतिउत्तरमा पेश गरेको प्रस्तावमा नेकपा कानुनी हिसावले मात्र एक रहेको तर भावनात्मक रुपमा विभाजित भइसकेको निष्कर्ष निकालेका हुन्।

कार्यकारी अधिकारमा परस्परविरोधी सन्देश


प्रस्तावमा ओलीका अभिव्यक्तिहरुमा परस्परविरोधी सन्देश पनि आएका छन्। उनले बुँदा नं. १८ मा भदौ २६ गतेको सहमतिप्रति आजपनि आफू उत्तिकै प्रतिवद्ध भएको बताएका छन्। तर त्यसपछि भने उनले म पनि कार्यकारी हुँ भन्ने जवाफ दिएका छन्।

भदौ २६ गतेको स्थायी कमिटी बैठकले ओली र प्रचण्डको कार्यविभाजन र क्षेत्राधिकार स्पष्ट पार्नेक्रममा ओली यो प्रतिनिधिसभा अवधिभर प्रधानमन्त्री रहने र पूर्णरुपमा सरकारको काम कारबाहीमा केन्द्रीत हुने निर्णय गरेको थियो।

यस्तै उक्त बैठकले प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको काम कारबाहीमा केन्द्रीत हुने निर्णय पनि सँगसँगै गरेको थियो। तर आपसमा उनीहरुले काम कारबाहीको समन्वय गर्नुपर्ने शर्त पनि निर्णयमा उल्लेख गरिएको थियो।

प्रचण्डले विप्लवसँग साँठगाँठ राखेकाे आरोप


आफूमाथि लागेका कतिपय आरोपको सिधा र घुमाउरो जवाफ दिनेक्रममा ओलीले प्रचण्डमाथि हिंसा र आतंकको राजनीति गरिरहेका विप्लवसँग साँठगाँठ राखेको आरोप लगाएका छन्।

सशस्त्र विद्रोहमा गम्भीर घाइते भएका आफ्नै कार्यकर्ताहरुको उपेक्षा गरेको, उनीहरुका लागि राहत र पुनर्स्थापनासँगै वृहत शान्ति सम्झौता कार्यान्वयनमा उदासीन रहेको आरोप पनि प्रचण्डमाथि ओलीले लगाएका छन्।

प्रचण्डले पूर्वएमालेप्रति धोकाधडीको ब्यहोरा


प्रचण्ड प्रस्तावका अनुमोदनकर्ता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमको कुनैपनि नकारात्मक टिप्पणी नगरेता पनि ओलीले शान्ति प्रक्रिया र संविधान लेखनका विभिन्न चरणमा प्रचण्डले उनीहरुप्रति गरेका धोकाधडीको ब्यहोरा भने प्रस्तुत गरेका छन्।

प्रचण्डको पाँच हजार हत्याबारेको अभिव्यक्तिमा प्रश्न


शान्ति प्रक्रियाप्रति आफू संवेदनशील नरहेको प्रचण्डको आरोपको प्रतिउत्तरमा ओली कडा रुपमा प्रस्तुत भएका छन्।

‘यसमा मलाई यत्ति भन्नुछ, यो ज्यादै संवेदनशील विषय हो। नेपालको प्रतिवद्धता र विश्वसनीयता जोडिएको, पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको’, ओलीले प्रस्तावमा भनेका छन्।

उनले प्रस्तावमा थप सोधेका छन्, ‘तपाईंले पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु भन्नुको अर्थ के हो? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन् गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस्। खेलबाड गर्ने गल्ती नर्गनुस्,’ चेतावनीको शैलीमा ओलीले प्रस्तावमा भनेका छन्।

बेपत्ता र घाइतेको आत्माले श्राप दिने काम नगर्न पनि ओलीले प्रचण्डलाई चेतावनी दिएका छन्।  समस्या झन् गाँठो पर्नसक्छ भनेर ओलीले प्रचण्डमाथि मानवअधिकार उल्लंघन तथा युद्ध अपराधको मामिलाले मुलुकभित्र या बाहिर अर्को रुप लिन सक्ने घुमाउरो चेतावनी दिएका छन्।

 विलासी जीवनशैलीबारे अनुसन्धानको चेतावनी


त्यस्तै एमसीसी स्वीकार या अस्वीकार के गर्नुपर्ने हो? स्पष्टसँग आफ्नो धारणा राख्न प्रचण्डलाई उनले चुनौती दिएका छन्।

वाइड बडी विमान खरिद, ओम्नी औषधि खरिद प्रकरणलगायतमा आफूमाथि लगाइएको दोषलाई प्रत्यारोपका रुपमा ओलीले जवाफ दिएका छन्।

ओम्नी इन्टरनेशनले कोरोनाको नियन्त्रण र रोकथाम सम्बन्धी खरिद गरेको औषधिबारे हाल अख्तियार र अदालतले हेरिरहेका छन्।

कतिपय मामिलामा पुराना सरकारका पालामा भएको निर्णयको दोष आफूमाथि लागेको भन्दै ओलीले आफ्नो बचाउ गरेका छन्।

तर व्यङ्ग्यात्मक रुपमा ओलीले प्रचण्डलाई सोधेका छन्, ‘तपाईँ निकटका व्यापारिक घरानाको स्वार्थपूर्ति नहुँदाको चिन्ता त हैन?’

आफूले भ्रष्टाचार गरेको प्रचण्डको आरोपको प्रतिउत्तरमा ओलीले प्रचण्डलाई सोधेका छन्, ‘निश्चित वैध आम्दानी स्रोत नभएका कतिपय नेताको जीवनशैली एकदमै विलासी र जनताको वर्गउत्थान स्पष्ट छ। यस विषयमा म अनुसन्धान गर्न तयार छु। तपाईँ यसमा तयार हुनुहुन्छ?’

तर यता यती समूहलाई पूर्वराजपरिवारको सम्पत्ति नाजायज तरिकाले दिइएको भनी प्रचण्डले लगाएको आरोपबारे ओली पूर्णतया मौन छन्।

जासुसी सस्थाका प्रमुखसँगको भेट उचित


केही समयअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीसँग गोप्य भेट गरेर कूटनीतिक मर्यादा नाघेको भन्दै आफूप्रति लागेको आरोपमा ओलीले यस्ता भेटघाटहरु कूटनीतिमा नयाँ नभएको र भारतका प्रधानमन्त्रीले पठाएको ‘दूत’सँगको वार्ता कूटनीतिक हिसाबले अनुचित नभएको दाबी गरेका छन्।

सीमा विवादमा भारतविरुद्ध उग्र रुपमा खनिएका ओलीले अहिले ऊसँगको सहकार्यले उचाइ लिएको दाबी गरेका छन्।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको दाबी स्थापित भएरै छोड्ने विश्वास व्यक्त गर्दै वार्ताबाट समस्या समाधान हुने ओलीले प्रस्तावमा उल्लेख गरेका छन्।

भारतसँग आफ्नो नभई प्रचण्डको समर्पण


तर प्रचण्ड स्वयंले प्रधानमन्त्रीका रुपमा भारतसँग समर्पण गरेको आरोप लगाउन भने ओलीले बिर्सिएनन्।

सन् २००८ मा कोशीमा बाढी आउँदा प्रचण्डको अनुमतिबाट स्थापित सम्पर्क कार्यालय निर्धारित समयमा बन्द गर्न नसकेको प्रस्तावमा उल्लेख छ।

त्यस्तै एकताको केही महिनापछि नै दिल्ली गएर प्रधानमन्त्री पदमा आलोपालो सहमति भएको प्रचण्डको खुलासालाई विदेशी भूमिबाट मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्न खोजेको ओलीले आरोप लगाएका छन्।

प्रचण्डद्वारा लगाइएका आरोपहरुका प्रकृति गम्भीर भएको, आत्मालोचनाबाट पनि आफू सत्तामा रहन नमिल्ने तर पुष्टि गर्नुपर्ने जिम्मेवारी प्रचण्डकै रहेको तर्क ओलीले प्रस्तुत गरेका छन्।

अभियोगको उक्त पुलिन्दामा आक्रोश, घृणा, कुन्ठा रहेको र त्यसमा स्वस्थ बहसको चाहना भन्दा ‘वार कि पार’ युद्धको नियत रहेको ओलीले प्रस्तावमा बताएका छन्।

आफूसँग सल्लाह नगरी ल्याएको प्रस्ताव अवैध


तर पार्टीको विधान र परम्पराअनुसार प्रस्ताव अध्यक्षद्वयले राख्नु पर्नेमा प्रचण्डले एक्लै ल्याएको प्रस्तावको वैधानिकतालाई आफूले अस्वीकार गरेको सन्देश दिएका छन्।

पार्टी एकताको सन्देश जानका लागि प्रचण्डसँग केही सैद्धान्तिक विषयमा स्पष्ट हुन आग्रहसमेत गरेका छन्।

‘हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको हो कि? भिन्न वर्ग र प्रतिद्वन्द्वीको?,’ ओलीले सोधेका छन्।

यो सरकार गठबन्धनको हो कि एउटै पार्टीको? यो प्रश्नसँगै ओलीले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आफ्नो टिम या मन्त्रीहरु छनौट गर्ने अधिकारलाई स्वीकार्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।

दुबै पदबाट राजीनामा नदिने स्पष्टोक्ति


प्रचण्डले राजीनामाप्रति संकेत गर्दै त्याग गर्न गरेको आग्रहलाई जवाफ दिँदै ओलीले यो महाधिवेशनपछि आफू अध्यक्ष र यो अवधिपछि प्रधानमन्त्री नरहने घोषणा नै त्यागको राजनीति भएको दाबी गर्दै आजै नयाँ पुस्तालाई नेतृत्व सुम्पिने घोषणा गर्न प्रचण्डलगायत सबैसँग आग्रह गरेका छन्।

समाजवाद, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजी लगानी, बाह्य निवेश र निजी सम्पत्ति संविधानले स्वीकार गरेका हुन्, परस्परविरोधी कुरा होइनन् भन्दै ओलीले आफ्नो सरकार समाजवादको विरोधमा उभिएको आरोपको पनि खण्डन गरेका छन्।

प्रचण्डले लगाएको गुटबन्दीको आरोपलाई आफ्नो व्यवहारले नै खण्डन गरेको भन्दै ओलीले भनेका छन्, ‘पार्टी र सरकार निर्माणमा कहिल्यै पनि ३२ लाख र १३ लाख मत–एमाले र माओवादीले पाएको मत संख्या।’

योसँग प्रचण्डको विगतको गतिविधिमाथि पनि ओलीले चिरफार गर्ने कोशिस गरेका छन्।

प्रचण्डले शान्ति प्रक्रियामा बदमासी गरेको, संविधान निर्माणका लागि गरेको सहमतिबाट पछि हटेको, यसअघिको आफू नेतृत्वको सरकारलाई असहयोग गरेको, छोरीका लागि मतपत्र च्यातेको, चुनाव चिन्हमा गरेको सहमति २४ घण्टामै तोडेको आरोप ओलीले लगाएका छन्।

यस्तै ओलीले प्रधानमन्त्रीमा प्रचण्डले महान् त्याग नभइ लेनदेनको सहमति गरेको दाबी गरेका छन्।

देशसञ्चारलाई यसअघि प्राप्त सूचना अनुसार ओली र उनी निकट नेताहरुले बुधबार राति ४० पृष्ठ लामो प्रस्ताव तयार पारेका थिए।

तर बिहीबार र शुक्रबार त्यसलाई केही परिमार्जन गरी ३८ पृष्ठमा झारेका हुन्। यो प्रस्तावलाई अंग्रेजीमा पनि प्रकाशन गरी देश तथा विदेशमा वितरण गर्ने योजना ओलीको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?