
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘अनिवार्य’ उपस्थितिको अपेक्षाका साथ मंसिर २० गते बस्ने भएको छ।
आज निर्धारित बैठक प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण केहीबेरमै समाप्त भएपनि बैठक २० गते दिउँसो १ बजे बोलाइएको र ओलीलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरी टुंगिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताए।
उनले भने, ‘पार्टीमा देखापरेको संकट र समस्या समाधानका लागि उहाँको उपस्थितिमा छलफल उपयुक्त हुने मान्यताका साथ आगामी बैठकमा उहाँलाई उपस्थित हुन अनुरोध गरिएको हो।’
मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ गते दिउँसो १ बजे बस्ने भएको पनि उनले बताए।
पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केन्द्रीय सचिवालयको यो बैठक ओलीसँग सम्बन्धित भएकोले उनको उपस्थिति अनिवार्य बन्न पुगेको बताए। उनले भने, ‘यो लचकता या कमजोरी होइन।’
मंसिर २० को बैठकमा ओली नआए के गर्नुहुन्छ? भनि सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी अहिले गम्भीर र संवेदनशील मोड र असामान्य परिस्थितिमा उभिएको सर्वविदितै छ। त्यस सम्बन्धी छलफल र समाधानमा उहाँले योगदान पुर्याउन सक्नुहुन्छ। र हामी अहिल अन्यथा सोच्न चाहदैनौँ। उहाँ बैठकमा आउनु हुनेछ र संकट निवारणमा सार्थक योगदान दिनुहुनेछ।’