कोरोना भाइरसको महामारीले विश्व प्रभावित भएको एक वर्ष पुग्यो। विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविदहरुले सामाजिक, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हातसहितको सरसफाइमा ध्यान दिन तथा परीक्षण र कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउनु पर्ने बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले महामारीको प्रभावकारी विकल्प खोप नै रहेको बताइरहँदा कम्तिमा चार वटा खोप अन्तिम चरणको परीक्षणमा सुरक्षित तथा प्रभावकारी देखिएका छन्।
कोरोना भाइरस विरुद्धको खोपका लागि स्वास्थ्य मन्त्रालयले द्रूत गति काम अगाडि बढाएको बताएको छ। बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पारित योजना अनुसार खोप ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचान लगायतका काम गर्न ८ वटा समिति गठन गरिएको छ।
कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनको तयारी समितिमा विज्ञहरुलाई राखिएको छ। यसै सन्दर्भमा नेपालमा कोरोना भाइरस विरुद्धको खोप व्यवस्थापन कसरी गर्ने, खोप कसरी ल्याउन के भइरहेको छ भन्ने बारेमा समितिका संयोजक, बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोप विज्ञ डा. श्यामराज उप्रेतीसँग गरिएको कुराकानीः
कोरोना भाइरस विरुद्धका केही खोप तयार भइसकेका छन् र केही बन्ने क्रममा छन्। बेलायतले त खोप लगाउन स्वीकृति प्रदान गरिसक्यो। यस्तोमा नेपालमा खोप ल्याउने तयारी कस्तो छ?
कोरोना भाइरस विरुद्धका सय भन्दा बढी खोप ‘क्लिनिकल ट्रायल’ मा छन्। त्यसको सिलसिलामा करिव करिव १३ वटा खोपहरु परीक्षणको अन्तिम चरण अर्थात तेस्रो चरणका छन्। त्यो चरण मध्ये पनि करिब तीन वटा खोप निर्माता फाइजर, मोदेर्ना, अक्स्फोड–एस्ट्राजेनिका नामका कम्पनीले आफ्नो प्रारम्भिक नतिजा देखाएको छ। त्यो भनेको अहिलेसम्म परीक्षण भएको उत्पादन कर्ताको आफ्नो नतिजा हो। यही सिलसिलामा हेर्दा फाइजर कम्पनीले बनाएको खोपलाई बेलायतले लाइसेन्स दिएको समाचार आइरहेको छ।
यसको मतलब संसारमा पहिलो खोप जसले लाइसेन्स पायो त्यो फाइजर हो जुन अहिले बेलायतमा प्रयोग हुँदै छ।
तपाईँकै नेतृत्वमा समिति गठन गरिएको छ। अब नेपालले खोप ल्याउनका लागि गरेका काम र गर्नुपर्ने प्रयासहरु केके हुन्?
करिव डेढ महिना अगाडि नै नेपालमा कोभिड भ्याक्सिन समिति सल्लाहकार गठन भयो। मलाई संयोजकको जिम्मेवारी दिइएको छ। समिति गठन भएपछि हामीले के गर्यौँ भन्दा खोपको परीक्षण अन्तिम चरणमा भइरहेको छ। यसले गर्दा कुनै पनि बेला विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप जुन देशमा पनि सिफारिस गर्न सक्छ। त्यसकारण कुन खोप आउँछ भन्दा पनि जुन खोप आए पनि आफू तयारी अवस्था बस्नका लागि हामीले काम गरिरहेका छौँ।
हामीले अहिले के गर्यौँ भने नेपालमा कोभिडको भ्याक्सिन उपलब्ध भएमा कसलाई दिने? त्यसको कति खर्च लाग्छ? त्यो खर्च कहाँबाट ल्याउने भनी एउटा योजना बनाएको छ। उक्त योजना मन्त्रिपरिषद्बाट पारित पनि भइसकेको छ।
त्यसका लागि खर्च पनि सु्निश्चित भइसकेको अवस्था छ। त्यस पश्चात खोप आइसकेपछि त्यही किसिमको भण्डारण गर्ने क्षमता के छ? त्यसको हामीले ‘गृहकार्य’ गर्यौँ। अहिले भने खोप आएमा त्यसको संचालन कसरी गर्ने भनेर योजना बनाइरहेका छौँ।
सबै भन्दा पहिला सुरक्षित र प्रभावकारी देखिएका खोपहरु फाइजर, मोर्देना, अक्स्फोड–एस्ट्राजेनिका खोपहरु हुन्। तपाईँ आफैले पनि भन्नु भएको थियो। तपाईँहरुले चाहिँ कुन खोपलाई प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ?
अहिले के छ भने जुन १३ वटा तेस्रो चरणमा थिए, त्यसमध्ये केहीको नतिजा आएको छ र बाँकी अरुको पनि तुरुन्तै आउने वाला छ। धेरै कम्पनीहरुले आ–आफ्नो कम्पनीको खोपको अन्तिम नतिजा देखाउने छन्। हामीले नेपालको पक्षमा भन्नु पर्दा हाम्रो पूर्वाधार सुहाउँदो, प्रभावकारी र हामीले आफ्नो सिस्टमबाट सजिलै सञ्चालन गर्न सक्ने खोप हामी खोज्छौँ।
त्यस हिसाबले मैले भन्नु पर्दा गुणस्तरको कुरा आउँछ। विश्व स्वास्थ्य संगठनबाट सिफारिस भएको खोप नै सबै भन्दा गुणस्तर हुन्छ। हामीले त्यसलाई नै प्राथमिकता दिनु पर्छ। त्यो खोपको प्रभावकारिता हेर्नुपर्ने हुन्छ। अहिलेको खोप ७० देखि ९० प्रतिशत अक्स्फोड–एस्ट्राजेनिका र फाइजर, मोर्देना ९० प्रतिशतभन्दा माथि देखिएको छ।
हामीले यीमध्ये प्रभावकारी छान्नु पर्ने हुन्छ। त्यसमा पनि हामी गरिब देश भएका कारण खरिद गर्ने बेला खर्चको पनि कुरा आउँछ। अझ सबै भन्दा महत्वपूर्ण के छ भने खोप बन्दै छ। संसारमै भनेको जसरी सजिलैसँग यो खोप उपलब्ध हुँदैन। यसले गर्दा हामीले यसको उपलब्धता पनि हेर्छौँ।
तर हामीले के गरेका छौँ भने खोप पाउनु सुरु गरेपछि कसलाई दिने? फेरि अर्को पटक खोप उपलब्ध भएपछि कसलाई दिने भनेर हामीले जोखिमको लिष्ट बनाएका छौँ। तयार पारिएको जोखिमको लिष्ट अनुसार जति खोप उपलब्ध हुदै जान्छ। त्यति नै जनताहरुले खोप पाउँदै जाने छन्।
उसो भए खोप सबै भन्दा पहिला कसले पाउने छन्?
हामीले के गरेका छौँ भने सबै भन्दा जोखिममा भएका व्यक्तिलाई प्राथमिकतामा राखेका छौँ। अहिले सबै भन्न्दा जोखिममा भएका स्वास्थ्यकर्मी हुन् जसले विरामीहरु हेरिरहनु भएको छ। यदि स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भयो भने उहाँहरुले अरुलाई पनि सार्न सक्नु हुन्छ।
यदि स्वास्थ्यकर्मी संक्रमित हुदै गए भने स्वास्थ्य क्षेत्र अस्तव्यस्त हुन्छ। कोभिड नभएका विरामीले पनि उपचार पाउन नसक्ने अवस्था उत्पन्न हुन सक्छ। त्यसैले खोप उपलब्ध हुने बित्तिकै सबै भन्दा पहिलो प्राथामिक्ता स्वास्थ्यकर्मीलाई दिन्छौँ। यसले गर्दा हाम्रो स्वास्थ्य प्रणालीले राम्रोसँग काम गर्न सक्छ।
दोस्रो प्राथमिकता भनेको सहरी क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने जस्तै सार्बजनिक यातायातमा काम गर्ने चालक– सहचालक, बैंकमा काम गर्ने व्यक्तिहरु छन्। उनीहरुको पहिचान गरेर जसले दुरी कायम गरेर काम गर्न सक्दैनन् र उनीहरु ज्यादा जोखिममा छन् त्यही क्षेत्रमा खोप प्रदान गर्ने छौँ।
र जति उमेर बढ्दै गयो उति नै कोरोना भाइरस संक्रमिणको जोखिम उति नै छ। नेपालको अवस्थामा हामीले ५५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिने योजना बनाएका छौँ।
त्यो पछि हामीले ४० देखि ४४ वर्षसम्मका गम्भीर रोग लागेका वा दिघृ रोगी व्यक्ति जसलाई संक्रमण देखियो भने मृत्यु हुने सम्भावना बढी हुन सक्छ उनीहरुलाई दिने योजना बनाएका छौँ।
मैले भनेको अनुसार पहिलो चरणमा खोप दिने भनेको जनसंख्याको करिव २० प्रतिशत छ। त्यही २० प्रतिशतलाई दियौँ भने मृत्युदर घट्छ। स्वास्थ्य संस्थाहरु राम्रो सँग चल्छन्।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको खोप नेपाल सरकार मार्फत गावी (सार्वजनिक निजी साझेदारी अन्र्तगत विश्वका आर्थिक अवस्था कमजोर भएका देशका नागरिकमा खोपको पहुँच पुर्याउनका लागि तय गरिएको विश्वव्यापी अभियान) मा आउने योजना भएको छ। यो २० प्रतिशतलाई दिन भनेको खोप अनुदानमै पाउने व्यवस्था भएको छ।
त्यो पछि भने नेपाल सरकारले आफैले खरिद प्रकृया अगाडि बढाउने छ अथवा यूनिसेफ, यूएन वा अन्य एजेन्सीको सहयोग लिनु पर्ने हुन्छ।
खोप नेपालमा आइसकेपछि वितरण व्यवस्थापन कसरी मिलाउनु हुन्छ?
नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई सरकारले यो खोप दिने योजना बनाएको छ। यही योजना अनुसार सबैले यो खोप पाउने छन्। सबैलाई खोेप निःशुल्क दिइन्छ। यसमा कुनै पनि प्रकारको शुल्क तिर्नु पदैन। २८ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाका लागि भने योजना बनिसकेको छैन।
खोप ल्याउन र भण्डारणका चुनौतीहरु के कस्ता छन्? र तिनीहरुलाई व्यवस्थापन गर्न के कस्ता प्रयास वा काम भइरहेका छन्?
अहिले हामीले खोपहरु भण्डार गर्नु पर्ने जुन अवस्था छ त्यसको मूल्याङ्कन गरेका छौँ। अहिले जुन खोप उपलब्ध छन्, ती खोपलाई तीन प्रकारको भण्डारणमा राख्नु पर्ने छ। एउटा खोप प्लस दुईदेखि ८ डिग्रीमा भण्डारण गर्नु पर्ने छ। अर्को माइनस २० डिग्रीमा भण्डारण गर्नु पर्ने छ भने तेस्रो जुन बेलायतमा प्रयोग हुन लागेको छ त्यो माइनस ७० डिग्रीमा भण्डारण गर्नु पर्ने छ।
हामीले गरेको भण्डारणको मूल्याङ्कन अनुसार यदि हामीले २ देखि ८ डिग्रीमा भण्डारण गर्ने खोप पायौँ भने सामान्य स्थर वृद्धि गरेर त्यो खोप लगाउन सक्छौँ। त्यसमा पनि सुरुमा ३ प्रतिशत आउँछ। त्यसलाई हामी पूरा गर्न सक्छौँ।
नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई सरकारले यो खोप दिने योजना बनाएको छ। यही योजना अनुसार सबैले यो खोप पाउने छन्। सबैलाई खोेप निःशुल्क दिइन्छ। यसमा कुनै पनि प्रकारको शुल्क तिर्नु पदैन। २८ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाका लागि भने योजना बनिसकेको छैन।
त्यसपछि बाँकी जुन ७० प्रतिशत आउँछ, त्यसलाई पनि हामीले एकै पटक नल्याईकन थोरै थोरै ल्याउँछौँ। यसो गर्दा खोप ल्याउन सम्भव देखिन्छ। तर माइनस २० डिग्रीमा भण्डारण गर्नु पर्ने खोप हामीलाई उपलब्ध भयो भने ३ प्रतिशलाई त हामी संचालन गर्न सक्छौँ। बाँकीका लागि थप्नु पर्ने हुन्छ।
त्यसैगरी माइनस ७० डिग्रीमा भण्डारण गर्नु पर्ने खोप जसलाई अल्ट्राकोल्चिन भनिन्छ। त्यस्तो खोप आयो भने त्यसको पूर्वाधार हाम्रो अहिले छैन। त्यो पूर्वाधार तयार गर्नु पर्ने हुन्छ।
७० डिग्रीमा भण्डारण गर्नु पर्ने खोपका लागि पूर्वाधार तयार गरिएको छैन भन्नु भयो। अन्ततः त्यही खोपले मान्यता पायो कसरी व्यवस्थापन गर्नु हुन्छ?
अहिलेसम्म यही खोपले मान्यता प्राप्त गर्छ भन्ने छैन। पछिल्लो समय एकपछि अर्को तेस्रो चरणमा आउदैछन्। अहिले पनि हेर्ने हो भारतमा बनेको एस्ट्रोजेनिका २ देखि ८ डिग्री चाहिन्छ। अमेरिकामा बनेको मोर्देना माइनस २० डिग्रीमा भण्डारण गर्न सकिन्छ।
त्यस्तै अरु खोपहरु पनि आउँदैछन्। यस्तै चाइना, रसियामा बनेका खोपहरु पनि तेस्रो चरणको डाटाहरु आउलान्। अरु खोपहरु पनि आउँछन्। त्यसपछि हामी हाम्रो देशमा सुहाउँदो खोप छान्न सक्छौँ।
खोप व्यस्थापनका लागि फरक–फरक तापक्रम चाहिने रहेछ किन?
यो भनेको खोपको गुण हो। जस्तो माइनस ७० डिग्रीमा राख्नु पर्ने खोपलाई प्लस २० डिग्रीमा राख्नु भयो भने त्यसले जुन रोगसँग प्रतिरोध गर्ने क्षमता बनाउँछ, त्या बनाउँन सक्दैन। त्यसकारण प्रत्येक खोपको आफ्नो गुण हुन्छ।
त्यही गुण अनुसार तोकिएको तापक्रममा भण्डारण गर्ने पर्ने हुन्छ।
नेपालमा ७२ प्रतिशत जनसंख्यालाई खोप दिने योजना रहेको बताउनु भयो। जसमध्ये २० प्रतिशत खोप अनुदानमा पाइने पनि भन्नु भयो। अब बाँकी ५२ प्रतिशत जनसंख्याका लागि खोप ल्याउनका लागि बजेट त ठूलै चाहिन्छ। त्यसका लागि के भइरहेको छ? वा कसरी जुटाउने प्रयासमा हुनु हुन्छ?
अहिले हामी योजना बनाए अनुसार जुन मन्त्रिपरिषद्मा पास भएको छ। त्यसमा नेपालको कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोप दिने योजना बनाएका छौँ। किन ७२ प्रतिशतलाई भन्नुहुन्छ भने १५ वर्ष मुनिका बालबालिका बालिकाका लागि खोपको परीक्षण भइसकेको छैन।
त्यो भनेको नेपालको २८ प्रतिशत जनसंख्या हो। त्यसलाई कटायो भने जम्मा ७२ प्रतिशत जनसंख्यालाई खोप दिने योजना बनेको छ।
त्यसको लागि नेपाल सरकारले २० प्रतिशत जनसंख्याको लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा पाउने छ। त्यसपछि बाँकी रहन्छ ५२ प्रतिशत नेपाल सरकारले किन्नु पर्ने हुन्छ।
हामीले जुन योजना बनाएको छौँ। त्यो याजनका अनुसार विश्व स्वास्थ्य संठगनले मार्फत गावीले दिएको २० प्रतिशतको लागि करिब ६ अर्ब रुपैयाँको बजेट तयार पारेका छौँ। त्यसमा पनि सुरुमा के थियो भने नेपाल सरकारले न्यूनतम रुपैया तिर्नु पर्छ भन्ने थियो। अहिले आएर तिर्नु नपर्ने भएको छ। त्यसैले अब २० प्रतिशतका लागि करिब २ अर्ब रुपैयाँ चाहिने भएको छ।
बाँकी ५२ प्रतिशतको लागि भने करिब ४२ अर्ब रुपैयाँ चाहिन्छ। यसमा पनि हामीलाई अहिलेसम्म खोपको ठ्याक्कै मूल्य कति भनेर थाहा भइसकेको छैन। तर हामीले अनुमानित मुल्य प्रति मात्रा १० डलर राखेका छौँ।
त्यही आधारमा हिसाब गर्दा र ४२ अर्ब निकालेका छौँ। यही ४२ अर्बमा २ अर्ब गर्दा करिब ४४ अर्ब भेट्ने छ।
यसको डोज पनि फरक–फरक दिनु पर्ने देखिएको छ नि?
डोज फरक हुन सक्छ। किन खोप दिदाँ उसलाई चाहिने एन्टिबडी बन्छ। रोगसँग लड्नका लागि प्रतिरोधात्म क्षमताको वृद्धि हुन्छ त्यसको आधारमा खोपको डोज दिनु पर्ने हुन्छ। अहिले विभिन्न चरणमा गरिएको परीक्षण त्यही नै हो। कति मात्रा दिँदा उसलाई चाहिने एन्टिबडी बन्छ र रोग प्रतिरोध हुन्छ। त्यसकारण प्रत्येक खोपको रोगसँग लड्ने क्षमता बढाउनका लागि अलग–अलग मात्रा हुन सक्छ।
कोरोना भाइरस विरुद्धका खोपमा कति डोज दिनु पर्ने हुन्छ?
अहिले बनेका धेरै जसो खोप दुई डोज छन्। तर एउटा खोप भने एक डोज मात्र प्रयोग गर्ने बनाइएको छ। अहिलेसम्मको अवस्था हेर्दा हामीले पनि पहिलो र दोस्रो गरी दुई डोज दिनु पर्ने छ।
नेपालमा कहिलेसम्म खोप आइपुग्ला?
ठ्याक्कै अहिले भन्ने स्थिति छैन। विश्व स्वास्थ्य संगठन लागि गरेको छ। अहिले विश्व स्वास्थ्य संगठनले स्वीकृति दिन्छ। त्यहीले अगाडि बढ्ने हो।
खोपको फाइनल डिसिजन भन्दा पनि अहिले हामीले तयारी गरिरहेका छौँ। जुन बेला नेपालले खोप पाउने हुन्छ, नेपालले त्यही बेला खोप तुरुन्त ल्याएर वितरण गर्ने सक्छ। अहिलेको सबै तायरी भनेको पूर्व तयारी हो।
खोप छिटो आउने वाला छ। तेस्रो परीक्षण भएर पनि अन्तिम नतिजा आइसक्यो। लाइसेन्स पाउने वाला छन्। त्यसैले अहिले हामीले गरेको भनेको जति गर्नु पर्ने हो पूर्व तयारी राम्रोसँग गर्ने र खोप जब हामीलाई छुट्याइन्छ। तब खोप तुरुन्त ल्याएर सञ्चालन गर्ने तयारीमा छौँ। त्यही तयारी द्रुत गतिमा भइरहेको छ। तर पनि अझै हामीले गर्न बाँकी नै छ।
कोरोना भाइरसको खोप चाँडो बनिरहेको छ। खोप विभिन्न तरिकाले बन्छन्। तपाई खोप विज्ञ पनि हुनु हुन्छ। यो भाइरल भेक्टर र आरएनए विधिका हुने रहेछन्। यो भनेको के हो?
भाइरल भेक्टरमा कुनै नयाँ भाइरसमा कोरोना भाइरसको एन्टिबडी राखिएको छ। एउटा भाइरसमा भएर बस्छ। त्यही शरीर भित्र पसेपछि एन्टिबडी निकाल्छ।
आरुएनए खोपको कुरा गर्दा यो खोप विश्वमा आएको पहिलो पटक हो। आरएनए भनेको खोपको सानो जीनलाई काटेर त्यसैलाई प्रयोग गरिएको छ। यो पहिलो अनि नयाँ टेक्नोलोजी हो। योभन्दा पहिला थिएन।
अरु खोप भनेको जस्तै अन्य भ्याक्सिनलाई किल गरेको भ्याक्सिन अथवा भाइरस जीवित भएपनि निष्क्रिय परिएको हुन्छ। अहिले आएका दुई वटा मध्ये आरएनए भ्यास्किन छ, यो विश्वकै लागि नयाँ प्रविधि हो।
सबैभन्दा उपयुक्त कुन हो? अथवा यो उपयुक्त वा त्यो उपयुक्त भन्ने हुन्छ र?
अहिलेको अवस्थामा यही नै ठीक भन्ने अवस्था छैन। किनभने एउटा आरएनए भ्याक्सिनले बेलायतमा मान्यता पाएर सुरु गरेको छ। बाँकी कसैले पनि लाइसेन्स पाएको छैन। अहिले हेर्दा उत्पादनकर्ताको दावी अनुसार प्रभावकारी देखिएको छ।
त्यसकारण हामीले के हेर्नु पर्छ भने जुन देशमा बनेको छ, त्यो देशको निकायले नियमन डाटा हेरेर मूल्याङ्कन गरेपछि मात्रै यो खोप ठिक छ प्रयोग गर्नु भनेर लाइसेन्स दिइन्छ। हामीले विश्व स्वास्थ्य संगठनबाट पाउने खोप अहिले जुन देशमा त्यही देशको नियमन निकायले लाइसेन्स दिन्छ।
त्यसपछि फेरि विश्व स्वास्थ्य संगठनले हेर्छ र ठिक छ भनेपछि मात्रै उसको सहायतामा आउने भनेपछि हामी कहाँ आउँछ।
भिडियो हेर्नुहोस्: